फोरम नेपाल र संघीय गणतान्त्रिकद्वारा चुनाव बहिष्कार

काठमाण्डु टुडे २०७० मंसिर ७ गते १४:२८ मा प्रकाशित

forum nepal and sanghiya ganatantrik samajbadiकाठमाण्डु, ७ मंसिर– मंसिर ४ गतेको संविधानसभाको निर्वाचन विदेशी चलखेलमा र धाँधली र षडयन्त्रपूर्वक रुपमा भएको भन्दै मघेसी जनअघिकार फोरम, नेपाल र संघीय गणतान्त्रिक समाजवादी पार्टीले चुनावको सबै प्रक्रियाबाट अलग भएको छ ।

शुक्रबार काठमाण्डुको मिडिया इन्टरनेशनलमा मधेसी जनअघिकार फोरम, नेपाल र संघीय गणतान्त्रिक समाजवादी पार्टी, नेपालले सामूहिक रुपमा पत्रकार सम्मेलन गरि निर्वाचनमा खटिएका कर्मचारीहरुको मिलोमतोमा बुथलाई कब्जागरी मत खसाल्ने काम भएको फोरम नेपालका प्रवक्ता रत्थनेश्वरलाल कायस्थले बताएका छन् ।

मतदान केन्द्रबाट मतपेटिका सदरमुकामसम्म ल्याउँदा पार्टी प्रतिनिधिविना ल्याएको, मतपेटिकालाई संकलन गर्ने दिन अन्यन्त्र राखिएको, मतगणना हुने ठाँउमा मतपत्र खसेको मुचुल्का भन्दा घटिबढि मतपत्र प्राप्त भएपनि मतगणना जारी राखेको, अधिकृतको सही नभएको मतपत्र पनि गणना गर्ने गरिएको बताउँदै कायस्थले अब चुनावको सम्पूर्ण प्रक्रियाबाट बाहिरिएर चुनावको दैरान भएका धाँधलीपूर्ण धटनाको भण्डाफोर गर्नुका साथै शान्तिपूर्ण आन्दोलनबाट अगि बढ्ने उनले बताएका छन् ।

त्यस्तै संघीय गणतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष परशुराम तामाङले पार्टीका प्रतिनिधिविना नै गाँउको दुरदराजबाट मतपेटिका जिल्ला सदरमुकाम लैजानु, २४ घण्टा मत भरिएको मतपेटिका पार्टी प्रतिनिधिबाट अलग राखिनु र मतपेटिका सेनाको नियन्त्रणमा राखिनु, शिलबन्दि तोडिएको मतपेटिका समेत आयोगले मान्नु आदि षडयन्त्र पूर्वक घटनाले यस निर्वाचन विदेशी चलखेलमा भएको बताए ।

उनले निर्वाचन आयोगले निर्वाचन स्वच्छ गर्न नसकेको भन्दै आफूहरु निर्वाचन बहिस्कार गरि शान्तिपूर्ण आन्दोलन गर्ने बताउँदै अध्यक्ष तामाङले कांगे्रस र एमाले तर्फमात्र मत खस्नुले पनि शंकाको बिउ उत्पन्न गरेको उल्लेख गरे । अब चाँडै केन्द्रीय स्तरको बैठक बसि कस्तो आन्दोलनको प्रक्रियामा जाने भन्ने विषयमा कुरा हुने दुबै पार्टिका शीर्ष नेताहरुले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us