ऋषि धमला भन्छन्, ‘मनमोहन सिंहको अन्तर्वार्ता लिएको मान्छेले पारस खड्कालाई प्रश्न सोध्न नमिल्ने ?’

काठमाण्डु टुडे २०७० चैत १९ गते ८:०३ मा प्रकाशित

Rishi Dhamalaपत्रकार ऋषि धमला बारम्बार चर्चामा आइरहन्छन् । उनको चर्चा नेपालका अन्य पत्रकारहरुको तुलनामा बढी नै हुने गर्छ । पछिल्लो समय भने अलिक फरक विषयमा उनको चर्चा र आलोचना भइरहेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले बंगलादेशमा जारी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएर फर्किएपछि नेपाली टिमका कप्तान पारस खड्कासँग उनले गरेको कुराकानीलाई लिएर चर्चा र आलोचना भएको हो ।

यसै विषयमा हामीले पत्रकार धमलासँग कुराकानी गरेका छौं ।

फेसबुक चलाउनु हुन्छ ? 

धेरै व्यस्त छु, भ्याएसम्म चलाउँछु । राष्ट्रिय समस्याबाहेक अन्य विषयमा स्टाटस लेख्दिन ।

विज्ञान र प्रविधिको आजको युगमा फेसबुकको धेरै महत्व छ । तर पछिल्लो समय नेपालमा फेसबुकले विक्रिति ल्याएको छ । यसको प्रयोग रचनात्मक भन्दा पनि अरुलाई गाली, बेइज्यती र अपमान गर्न भइरहेको छ ।

पछिल्लो समय तपाईंको विरुद्ध फेसबुक पेज नै खुलेको छ, थाहा छ ?
थाहा छ ।

किन त्यसो भएको होला ?
नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्कासँग मैले क्रिकेटका बारेमा लिएको अन्तर्वार्तापछि त्यस्तो भएको हो ।

क्रिकेट नै नबुझेको मान्छेले जथाभावी प्रश्न सोध्नु भएछ, अनि आलोचना हुँदैन त ?

म खेल पत्रकार र क्रिकेटको विज्ञ होइन । नेपालले विश्वकप खेल्नुभन्दा पहिला क्रिकेटमा चासो पनि लाग्थेन । क्रिकेट खेल अहिले पनि धेरै बुझ्दिन । नेपालले विश्वकपमा खेलेपछि त्यसप्रति चासो र सम्मान बढेको छ ।

पारसको अन्तर्वार्तामा राजनीतिक कुरा बढी भयो भन्छन् । खेलाडी भएपछि राजनीति पनि त बुझ्नु पर्‍यो नि । भारतमा सचिन तेण्दुलकरलाई पनि राजनीतिक प्रश्न गरिन्छ । तर उसलाई किन राजनीतिक विषयमा सोधेको भनेर कसैले प्रश्न गरेको सुन्नुभएको छ ? पारस खड्का नेपाली राष्ट्रिय टिमको कप्तान हो ।

उनलाई नेपालले अब विश्वकपमा ट्रफी कहिले जित्ला भनेर सोध्दा के बिग्रियो ? मैले भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग पनि अन्वतर्वार्ता लिएको छु । उनले मलाई किन यस्तो प्रश्न गरेको भनेर सोधेनन् ।

मजस्तो पत्रकारले त क्रिकेट बुझेको छैन भने सर्वसाधारणले बुझ्ने कुरै भएन । सबैलाई के थाहा बलिङ भनेको के हो ? ब्याटिङ भनेको के हो ? क्याच आउट भनेको के हो ? रन भनेको के हो ? सबैले जानुन् भनेर मैले त सरल प्रश्नहरु गरेको थिएँ ।

पत्रकारले राष्ट्रपति, प्रधानमन्त्रीदेखि सबै दलका नेतालाई प्रश्न सोध्न सक्छ । क्रिकेटरलाई प्रश्न गर्‍यो भनेर फेसबुक फोहोर पार्ने ? त्यसको कुनै तुक छैन ।

Rishi-Paras

तपाईंको प्रश्न नमिलेकामा पत्रकारितामै सक्रिय रहेकाहरुले पनि त फेसबुमा लेखेका छन् नि ?
सबैले सबैका बारेमा टिप्पणी गर्दा सोचेर गर्नुपर्छ । सबै मान्छे सबैका लागि दुनियाँमा कोही पनि प्रिय हुन सक्दैन । बिपी कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी, मदन भण्डारी, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला सबैका लागि प्रिय हुन सकेनन् ।

अहिले पनि प्रचण्ड, सुशील कोइराला, झलनाथ खनाल, बाबुराम भट्टराई, माधव नेपाल के सबैका लागि प्रिय हुन सकेका छन् त ? मलाई र मेरो अन्वर्तार्वालाई पनि सबैले मन पराउनुपर्छ भन्ने केही छैन ।

म एउटा व्यवसायिक पत्रकार हुँ । जनता र देशलाई केन्द्रमा राखेर पत्रकारिता गरिरहेको छु । राजाको प्रत्यक्ष शासनकालविरुद्ध सडकमा साक्षात्कार गराउने ऋषि धमला होइन ?
आफ्नै बारेमा सामाजिक सञ्चालमा भइरहेका टिप्पणीहरुका बारेमा किन केही नबोल्नुभएको त ?
आजको नेपाली समाजमा कसका बारेमा प्रश्न उठेको छैन ? म एउटा सार्वजनिक व्यक्तित्व हुँ ।

कसैले प्रश्न उठाउँदैमा त्यसको बारेमा बोल्दै हिंड्ने मान्छे म होइन । ऋषि धमला कागले कान लग्यो भन्दैमा कागको पछि दगुर्दैन । त्यस्ता टिप्पणीले मलाई केही घाटा गरेको छैन ।
नेपालका कतिवटा मिडियामा काम गर्नुहुन्छ ?
चार वटा टेलिभिजनमा काम गर्छु । नेपाल टेलिभिजनमा आर्थिक बहस चलाउँछु । हिमालय टिभीमा ‘आरडी’ शो भन्ने कार्यक्रम छ । न्यूज २४ टेलिभिजनमा कार्यक्रम उज्यालो चलाउँछु ।

धादिङमा दिव्य दृष्टि भन्ने टेलिभिजन छ त्यसमा एउटा कार्यक्रम गर्छु । रेडियोमा नेपाल बाणी नेटवर्क छ । त्यहाँ बिहानमा बाणी बहस भन्ने कार्यक्रम चलाउँदै आएको छु । पत्रिकाहरुमा विमर्श, घटना र विचार, सत्याग्रह र जनधारणा साप्ताहिकमा गर्छु । रिपोर्टर्स नेपाल डटकम भन्ने मेरो आफ्नै अनलाइन छ ।
व्यवसायिक पत्रकारले कतिवटा मिडियामा काम गर्न मिल्छ तपाईंलाई थाहा छ ?
सकेसम्म एउटाभन्दा बढीमा काम नगर्नु भन्छन् । तर नियमकै रुपमा यो लागू हुँदैन । धेरैमा काम नगरौं कि भनेर मैले पनि समीक्षा गरिरहेको छु । तर म जहाँजहाँ काम गर्छु, एउटै विधामा कहीं पनि गर्दिन ।

हिमालय टिभिमा विशुद्ध राजनीतिक, नेपाल टेलिभिजनमा आर्थिक, न्यूज २४ मा विभिन्न व्यक्तित्वहरुको शैक्षिक इतिहास र दिव्यदृष्टिमा विशुद्ध मनोरञ्जनात्मक कार्यक्रम चलाउँछु ।
तपाईंको प्रश्न सुन्ने बित्तिकै रेडियो टिभिका दर्शक र श्रोताहरु ‘इरिटेड’ हुन्छन्, यो कुरा तपाईंलाई थाहा छ ?
आजको पत्रकारितामा सीधा जवाफका लागि सीधा प्रश्न गरिन्छ ।

म सधैं जनताको मनमा रहेको प्रश्न सोध्ने गर्छु । किनकी मैले कुनै नेताका लागि होइन, जनताका लागि पत्रकारिता गरेको हो । म पत्रकारितामा खरो स्वभावको मान्छे हुँ ।

खरो कुरा गर्छु, कसैलाई मन पर्दैन भने त्यो मेरो समस्या होइन ।
ऋषि धमलाको काम नै रिपोर्टर्स क्लबमा बोलाएर नेताहरुलाई विवादमा पारिरहने हो भन्ने बुझाइ धेरैको छ, त्यसो गरेर तपाईंलाई के फाइदा हुन्छ ?
यो सरासर गलत आरोप हो । मैले जवर्जस्ती बोल्न लगाउने होइन । पत्रकारले प्रश्न सोध्छन्, नेताले जवाफ दिन्छन् । नेताहरु पहिल्यै सोचेर आउँछन् रिपोर्टर्स क्लबमा गएर कस्तो बोल्नुपर्छ भनेर । शरतसिंह भण्डारी आफैंले विवादास्पद कुरा बोलेका हुन् ।

पछि त्यही कुराले मन्त्री पदबाट राजीनामा दिनुपर्‍यो । नेताहरु बोल्दा सोच्दैनन्, अनि पछि अप्ठेरो पर्‍यो भने मैले बोल्दै नबोलेको कुरा दिएछ भनेर ढाँट्छन् ।

टिभिमा नेताका पछाडि खुबै देखिनुहुन्छ, त्यसो चाहिँ किन गरेको नि ?

म सक्रिय पत्रकार हुँ, समाचारका लागि भ्याएसम्म सबै कार्यक्रममा जान्छु ।

नेताको सामुन्नेमा उभिएर प्रश्न सोध्छु, अनि मेरो फोटो नआएर कसको आउँछ त ? ४ वटा टिभिमा काम गर्ने ऋषि धमलालाई टिभिमा अनुहार देखाउन कुनै रहर छैन ।

जो फिल्डमा गएर रिपोर्टिङ गर्छ नि उसैलाई थाहा हुन्छ किन फोटो आउँछ भनेर ।

अरु पत्रकार पनि फिल्डमा गएका हुन्छन्, उनीहरुको त त्यसरी आउँदैन नि त ?
त्यो विषयमा अरुलाई नै सोध्नुस् । फिल्डमा जाँदैनन्, अफिसमा बसेर समाचार लेख्छन् अनि फोटो आउँछ त ?

तपाईंका बारेमा किन नराम्रो टिप्पणी धेरै भएको होला त ?
ऋषि धमला नेपालको सक्रिय पत्रकार हो । उसको आलोचना र प्रशंसा दुबै हुन्छ । गाउँमा गएर बुझ्नुस् न जनताले कति माया गर्छन् भनेर । गाउँका मान्छेले ऋषिलाई बढी चिन्छन् कि अरुलाई गएर हेर्नुस् न ।

फेसबुकमा आलोचना गरेर मात्र हुन्छ, गाउँमा जानुपर्‍यो नि । गाउँमा जाने सबै पत्रकारलाई जनताले सोध्ने गरेका छन्, ऋषि धमलालाई चिन्छौ भनेर । चिन्छु भन्नेलाई जनताले माया गर्छन्, यो किन ? ऋषिलाई मन पराएर होइन ?

कति पढ्नु भएको छ ?
आइए पास गरेको छु ।

तपाईंलाई अन्डर एसएलसी हो भन्छन् सबैले ?
मेरो रेकर्ड हेरे हुन्छ । जनप्रभात मावि कालिमाटीबाट २०४८ सालमा एसएलसी पास गरेको हुँ । २०५१ मा पिपल्स कलेज पकनाजोलबाट आई पास गरें ।

त्यहाँ गएर मेरो हाजिरी रेकर्ड हेरे हुन्छ । पिपल्स कलेजमा म पढ्दा सञ्जिव अधिकारी नेपाल विद्यार्थी संघको इकाई अध्यक्ष हुनुहुन्थ्यो, म सदस्य थिएँ । अहिले उहाँ अमेरिका हुनुहुन्छ ।

नपत्याए उहाँलाई सोधे हुन्छ यो कुरा । व्यवस्तताले गर्दा आईएभन्दा माथि पढ्न सकिन । अब ‘पोलिटिकल साइन्स’मा डिग्री गर्ने विचारमा छु ।

ऋषि धमला कस्तो मान्छे हो ?
म धादिङको गाउँमा जन्मिएको सामान्य किसानको छोरा हुँ । आफूलाई एउटा प्रतिबद्ध, लगनशील, इमान्दार र व्यवसायिक पत्रकारिता गर्ने कलमजिवी भन्न रुचाउँछु ।

राजनीति गर्नुहुन्छ कि गर्नुहुन्न नि ?
म एउटा व्यवसायिक पत्रकार हुँ । राजनीति गर्दिन । एउटा खुट्टा दुईटा डुंगामा राख्ने काम गर्दिन ।

धादिङबाट काँग्रेस महाधिवेशन प्रतिनिधमा चुनाव हारेको चाहिा के नि ?
हो त्यतिबेला म खुला राजनीतिमा आउने चाहना राखेर गएको थिएँ । तर पछि सोचें पत्रकारिता र राजनीतिक सँगै जान सक्दैन भनेर पछि हटें । पत्रकारिता पेशाको मान, मर्यादा र निष्ठाविपरीत काम गर्दिन ।

जुन दिन राजनीतिमा आउँछु त्यो दिन पत्रकारिता छाडेको घोषणा गर्छु ।

वैवाहिक जीवन कसरी अगाडि बढेको छ ?

एकदमै राम्रो छ ।

Rishi

दुई जनाबीचमा खटपट छ रे नि त ?
म ठोकुवाका साथ भन्छु, मेरो जत्तिको समझदारीपूर्ण वैवाहिक जीवन अरु कसैको छैन । मेरी श्रीमती मेरो पेशाबारे पूरै जानकार छिन् । हाम्रो राम्रो र सुमधुर सम्बन्ध छ । बाहिर आएको हल्ला झुठ हो ।

ससुराली जानुहुन्छ ?
ससुराली धापासी हो । जान्छु कहिलेकाहीँ ।

अन्तिममा केही भन्नु छ ?
म काठमाण्डु टुडे डटकम रेगुलर हेर्छु । पछिल्लो समय खुलेका अनलाइनहरुमध्ये व्यवसायिक छ । मेरो कुरा राख्न मौका दिनु भो त्यसको लागि धन्यवाद दिन चाहान्छु । अन्तिममा के भन्छु भने देशमा १२ हजार पत्रकार छन् ।

उनीहरुका धेरै पीडा छन् । पत्रकारहरुले काम गरेर पनि पारिश्रमिक पाइरहेका छैनन् । उनीहरुको चर्को श्रम शोषण भइरहेको छ । उनीहरुलाई यो पीडाबाट मुक्त गर्ने अभियानमा म छु ।

श्रमजिवी पत्रकारको दक्षता, क्षमता, प्रतिष्ठा र व्यक्तित्व विकासका लागि काम गर्छु ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us