संविधान मस्यौदा समितिका सदस्यको सपथ

काठमाण्डु टुडे २०७० चैत २४ गते १२:२३ मा प्रकाशित

Biccकाठमाण्डु, २४ चैत – संविधान निर्माणका लागि महत्वपूर्ण मानिएको संविधान मस्यौदा समितिमा रहनुभएका सभासद्हरुलाई सोमबार संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।

सिंहदरबारमा आयोजित एक समारोहमा सभाध्यक्ष नेम्वाङले संविधान निर्माणको प्रक्रियालाई सहज रुपमा अगाडि बढाउन आग्रह गर्दै सपथ गराएका हुन् ।

अघिल्लो संविधानसभामा पनि संविधान मस्यौदा समितिका रुपमा रहेका संवैधानिक समितिका सदस्यलाई सपथ ग्रहण गराइएको थियो ।

संवैधानिक समितिकै हैसियतमा रहेका संविधान मस्यौदा समिति सदस्यहरुलाई सोमबार सपथ ग्रहण गराइएको हो ।

सपथ ग्रहण समारोहपछि बसेको समितिको बैठकमा धारणा राख्दै सभासद्हरुले संविधान निर्माणका लागि आधारभूत विषयमै पहिला सहमति गर्नुपर्ने, कार्ययोजना बनाउनुपर्ने, कार्यक्षेत्रको विषयमा प्रष्ट धारणा रहनुपर्नेमा ध्यानाकर्षण गराए ।

सभासद्हरुले तत्काल समितिको सभापतिको चयन गर्नुपर्ने, अघिल्लो संविधानसभामा भए÷गरेका सहमतिलाई लिपिबद्ध गर्नुपर्ने, सचिवालयको उचित प्रबन्ध गर्नुपर्ने, पुस्तकालयको व्यवस्था गर्नुपर्ने, एक वर्षभित्र संविधान लेखनको कामलाई टुङ्गोमा पु¥याउन हरेक दिन समितिको काम कारबाहीलाई अगाडि बढाउनुपर्ने र कुनै पनि बहानामा बैठक राख्न ढिलाइ गर्न नहुनेमा समेत जोड दिएका थिए ।

सभासद्हरुले मस्यौदा लेखनको आधारभूत सिद्धान्त, अन्तर्राष्ट्रिय मूल्य तथा मान्यताबारेमा समेत सहज रुपमा जानकारी गराउन सचिवालयले उचित व्यवस्था गर्नुपर्ने धारणा राखे ।

यस्तै संविधान लेखनको क्रममा कुनै पनि गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय सङ्घ तथा संस्थाबाट अपारदर्शी तवरले आर्थिक तथा भौतिक सहयोग लिन नहुने र सबै व्यवस्था सरकारले सचिवालयमार्फत गराउनुपर्नेमा समेत सभासद्हरुले दिए ।

अघिल्लो संविधानसभामा भएका गल्ती तथा कमजोरी नदोहो¥याउन, सभासद्हरु हरेक दिन सक्रिय रहन तथा राजनीतिक दलको तहमा गर्नुपर्ने सहमतिलाई समेत तत्काल लागू गर्न तथा गराउन सभामुखमार्फत पहल गर्न आग्रह गरेका थिए ।

अघिल्लो संविधानसभामा भएका सहमतिलाई तत्काल लिपिबद्ध गर्न सुरु गर्दै संविधानको संरचना तय गर्नुपर्ने र राजनीतिक संवाद समिति र संविधान अभिलेख तथा निक्र्याैल समितिलाई समेत सक्रिय गराउनुपर्नेमा सभासद्हरुले ध्यान आकृष्ट गरेका थिए ।

यसरी आग्रह गर्ने सभासद्मा रामचन्द्र पौडेल, रामकृष्ण यादव, गिरिराजमणि पोखरेल, प्रकाश ज्वाला, गगन थापा, रामनारायण बिडारी, हितराज पाण्डे, गणेशमान पुन, शेरधन राई, अष्टलक्ष्मी शाक्य, शेरबहादुर तामाङ, रञ्जुकुमारी झा, कमला पन्त, हरिप्रसाद नेपाल, गोपालमान श्रेष्ठलगायत थिए ।

ज्येष्ठ सदस्य भरतमोहन अधिकारीको सभापतित्वमा बसेको बैठकले यही चैत ३० गते बस्ने अर्को बैठकमा आज सपथ ग्रहण छुटेका सभासद्लाई पुनः सपथ ग्रहण गराउने र समितिको कार्यविधि तयार पार्ने निर्णय गरेको जानकारी गराए ।

संविधान मस्यौदा समितिमा ७३ जना सदस्य रहने व्यवस्था भएपनि हाल सो समितिमा ६७ जना मात्रै सदस्य रहेका छन् । सो समितिको संविधानसभाबाट पारित गरेका प्रस्तावबमोजिम संविधानको मस्यौदा तयार पार्ने कार्यादेश रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us