फुजेल घटनाको बास्तविकता एकातिर दुनियाँ अर्कोतिर

काठमाण्डु टुडे २०७० चैत २४ गते १५:१८ मा प्रकाशित

घटना विवरण १
आफनो छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै नन्दप्रसाद अधिकारीका दम्पति लामो समयदेखि अनशनमा छन । उनीहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारका बिषय बनेका छन ।
तर उनीहरुद्धारा पीडितहरु छायाँमा छन । नुरप्रसाद अधिकारी उनीहरुका जेठा छोरा हुन । आमा बाबुलाई अनसनमा राखेर आफू हारगुहार माग्दै हिडिरहेका नुरप्रसाद अधिकारी सहानुभुति बटुलिरहेका छन । तर उनकी श्रीमतीलाई उनले घरबाट निकालेका छन र बच्चालाई जन्मदर्ताको प्रमाणपत्र बनाउन पनि तयार भएका छैनन । नुरप्रसादकी श्रीमती माइतीको सहारामा बाँचेकी छन ।
घटना विवरण २
सीता अधिकारी नन्दप्रसादकी माइली भाइ बुहारी हुन । सीताका श्रीमान रुखबाट लडेर घाइते भए र उपचारको क्रममा उनको निधन भयो । तीन छोरीको पालनपोषण गर्नु पर्ने दायित्व सीताको काँधमा आइलाग्यो । तर नन्दप्रसाद सीतालाई अंश दिन तयार भएनन । सीताले गाउँलेसँग अंश दिलाई दिन गाउँले गुहारिन । नन्दप्रसादले सीताको श्रीमानको उपचार गर्न ६ लाख रुपैया खर्च भएकोले उनको अंश त्यहि रकमबाट कटटा भएको बताए । त्यो कुरा गाउँलेलाई सह्यै भएन । गाउँलेहरुले नन्दप्रसादबाट सीतालाई अंश दिलाए । नन्दप्रसाद गाउँलेसँग रुष्ट भए ।
सीता अधिकारी,नन्दप्रसादका दिदी सुभद्रा तिवारी,गाउँका समाजसेवी ७२ बर्षीय छविलाल पौडेल,सीता अधिकारीका दाजु बिष्णु तिवारी,६७ बर्षीय कालीप्रसाद अधिकारी,उनका छोरा रामप्रसाद अधिकारी, ७१ बर्षीय मेघनाथ पौडेल,अर्का रामप्रसाद अधिकारी,परशुराम पौडेल र भीमसेन पौडेल कृष्णप्रसादको हत्यामा संलग्न भएको आरोपमा नुरप्रसादले किटानी जाहेरी दिएका छन । उनको त्यहि जाहेरीका आधारमा गत चैत ६ गते भीमसेन पौडेललाई र चैत ७ गते छवीलाल पौडेललाई प्रहरीले पक्राउ गरी चितवन प्रहरी हिरासतमा राखेको छ । यसअघि गत भदौ २१ गते पक्राउ परेका रामप्रसाद अधिकारीलाई प्रमाण नपुगेको भन्दै रिहा गरिएको थियो ।
०६१ जेठ २४ गते चितवनमा कृष्णप्रसाद अधिकारी मारिदा किटानी जाहेरीमा उल्लेख गरिएका व्यक्तिहरु आ आफनो पेशा र व्यवसायमा थिए । रामप्रसाद अधिकारी त वीर अस्पतालमा उपचारार्थ रहेका प्रमाण उनले पेश गर्दै आएका छन । कृष्णप्रसादलाई माओवादीका कार्यकर्ताले सुराकीको आरोपमा हत्या गरेका थिए । त्यसको जिम्मेवारी पनि माओवादीले लिइसकेको छ ।
फुजेलका राजनीतिक दल र सामाजिक कार्यकर्ताले किटानी जाहेरीमा उल्लेख गरिएका व्यक्ति कृष्णप्रसाद अधिकारी हत्यामा संलग्न नरहेको प्रष्याएका छन । गोरखा प्रशासनले पनि किटानी जाहेरीमा रहेका व्यक्तिहरु कृष्णप्रसाद अधिकारी हत्यामा संलग्नता नरहेको प्रष्टयाएका छन ।
तर नुरप्रसादले गाउँलेहरुलाई निरन्तर धम्क्याएर मानसिक पीडा दिने गरेका छन । छवीलालका छोरा बद्री र छोरी पम्फाले सोमबार काठमाडौमा पत्रकारहरुसँग किटानी जाहेरीमा उल्लेख गरिएका व्यक्तिहरु निर्दोष रहेको बताए । उनीहरुले आफूहरु माथि सञ्चारमाध्यम,मानवअधिकारकर्मी,राजनीतिक दल र सरकारले अन्याय गरेको आरोप लगाए । एकपक्षीय रुपमा नन्दप्रसाद अधिकारीका पक्षमा वकालत गरेर आफूहरुलाई मानसिक पीडा दिएको पनि उनीहरुले बताए ।
उनीहरुले छवीलाल पौडेल र भीमसेन पौडेललाई तत्काल रिहा गर्न माग गरेका छन । फुजेलमा आतंक बन्द गर्न र आफूहरुको मानवअधिकारको रक्षा गर्न पनि उनीहरुले  अनुरोध गरेका छन । घटनाको तथ्य विवरण सार्वजनिक रुपमा ल्याइदिन उनीहरुले सञ्चारमाध्यमलाई पनि बिशेष आग्रह गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us