मृतात्माले शान्ति नपाएपछि ४३ वर्षपछि पुनःकाजक्रिया

काठमाण्डु टुडे २०७१ वैशाख १ गते ९:२२ मा प्रकाशित

काठमाण्डु, १ वैशाख – त्रिचालीस वर्षअघि मृत्यु भई शव बेपत्ता भएका एक व्यक्तिको सोमबार कुश र जौको पिठोबाट शव बनाई अन्त्येष्टि गरिएको छ ।

गोरखा जिल्ला उइचा गाविसस्थित प्रहरी चौकीमा कार्यरत ललितपुर लामाटार–१ निवासी हवल्दार बलराम रिमालको बिदामा घर आउने क्रममा २०२८ असार २९मा बूढीगण्डकी नदीमा रहेको तुइनबाट तर्न लाग्दा खसेर मृत्यु भएको थियो ।

त्यस बखत वर्षात्का समयमा नदीमा खसेको व्यक्तिको उद्धार गर्ने काममा कसैले पनि साहस नदेखाउँदा लास नदीमा बेपत्ता भएको थियो । सञ्चार तथा यातायातको सुविधा नभएको हुँदा ११ दिन पछि मात्र घरपरिवारले मृत्यु भएको खबर पाएको र लास फेला नपरे पनि मृत्यु भएको यकिन भएपछि १७ औँ दिनबाट काजक्रिया सुरु गरिएको मृतककी पत्नी कृष्णकुमारी बताउँछिन् ।

जौ र कुशको शव बनाई दाहसंस्कार

दुई छोरा र एक छोरीकी आमा कृष्णकुमारीले करिब ४३ वर्षका अवधिमा दुःखकष्टले हुर्काएका छोराछोरीको आर्जन रामै भए पनि शारीरिक र मानसिक रूपले कहिल्यै शान्ति पाएनन् र बेलाबखत अनेकौँ बाधाबिघ्न परि नै रहे । डोटी जिल्ला राजपुरनिवासी विश्वकर्मा थरकी एक माता (माता विक)को सुझावमा आफ्ना पतिको मृत्यु भएको स्थानबाट ल्याइएको एक अञ्जुली माटोसहित कुश र जौको पिठोबाट शव बनाएर जलाइएको जानकारी उनले दिए ।

डिभी परेर अमेरिका पुगिसक्नुभएका जेठा छोरा रिँगटा लाग्ने र बारम्बार बिरामी भइरहने समस्याले गर्दा अमेरिकामा टिक्न सकेनन् । फर्केर नेपाल आए पनि समस्याबाट मुक्ति भने पाएनन् । उनका भाइ हरेराम र उनका परिवार भने अमेरिकामा नै छन् ।

कमाइ रामै्र भए पनि घरमा कहिल्यै शान्ति नहुने, पति प्रायः बिरामी भइरहने, आफूले मात्र होइन घरमा भाडामा बस्ने व्यक्तिलाई पनि तर्साउने गरेको गरेकाले दिपायलमा नेपाली सेनामा कार्यरत छिमेकीको सहयोगमा आफ्ना पति रामेश्वरलाई स्थानीय माता विकलाई देखाउन पठाएको मृतककी जेठी बुहारी सरस्वती बताउँछिन् ।

मृतात्मासँग छोराको वातचित

‘गत पुस महिनामा माताकहाँ पुगेपछि उनले चामलले आफैँलाई हिर्काएर बक्न थाल्नुभयो । सुरुमा माताले तुइन चलाएको झैँ हात खुट्टा चलाउनुभयो, नदीमा खसेको झैँ भुइँमा बजारिनुभयो र पानी खाएको झैँ गरी घुलघुल गरेर एक छिनपछि मृत भएको झैँ शान्त हुनुभयो,’ जेठा छोरा रामेश्वरले भने ।

त्यसपछि उहाँको मुखबाट आफ्ना बुबाले बोले झँै ‘तेरो आमाको हात मैले भाँचिदिएको हँु, दुहुनो गाई पनि मैले मारेको हुँ, तेरो टाउको रिँगाउने काम पनि मैले नै गरेको हुँ ।’ किन यसरी दुःख दिएको भनी सोध्दा ‘तिमीहरूले किन मेरो खोजी गरेनौ त’ भनी मातारुपी बलरामले जवाफ दिएको उनी बताउँछन् ।

‘हेराउन आउने व्यक्ति को हो’ भनी सोध्दा ‘तँ मेरो जेठो छोरो होस्, म खसेको ठाउँबाट एक अञ्जुली माटो लिएर जानू, कुश र जौको पिठोमा बनाइने मेरो शवको छातीमा त्यो माटो राखिदिनू, म खसेको ठाउँ नदेखे कुनै न कुनै रूपले सङ्केत गर्नेछु र आउँदो वैशाख १ गतेसम्मका लागि तँलाई छाडिदिएको छु’ भन्ने जवाफ पाएको पनि बलरामका छोरा रामेश्वर बताउँछन् ।

बूढीगण्डकीमा माटो लिन जाँदा एउटा मलेवाले तीन पटकसम्म उड्दै बस्दै गरेर बाटो देखाएको जस्तो गरेको अनुभूति भएको, मानिसको बस्ती आएपछि मलेवा अन्यत्र लागेको र स्थानीय बासिन्दासंँग सोधपुछ गरी सम्बन्धित स्थानबाट माटो झिकेपछि एउटा सानो चराले माटो झिकेकै स्थानको पानीमा डुबुल्की मारेको देखिएको पनि उनको ठम्याईछ ।

पहिला १२ दिन काजकिरिया गरिसकेको हुँदा माताकै सुझावबमोजिम पर्णशरदाह (मृतकको प्रतिरुप बनाएर गरिने दाह), अष्टशक्ति पूजा, सत्येश पूजा, पञ्च श्राद्ध, एकादश श्राद्ध र हवन गर्दै कुश र जौको पिठाको शव बनाएर दाहसंस्कार गरिएको छोरा रामेश्वर जानकारी दिन्छन् ।

रिमाल परिवारको पुरेत्याइँ गर्दै आएका पण्डित बैकुण्ठ गौतम भन्छन्, ‘दाहसंस्कार गरेपछि दशकिरिया गर्नैपर्ने धार्मिक मान्यता भए पनि माताको भनाइ र अन्य पण्डितको सुझावअनुसार पहिला नगरेका कर्म गराउन आफू बाध्य भएको छु । अब रामेश्वर पाँच दिन किरियामा बस्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us