एमाओवादीले प्रधानमन्त्रीविरुद्ध विमान अपहरण आरोपमा मुद्धा हाल्ने

काठमाण्डु टुडे २०७१ वैशाख २ गते १३:५८ मा प्रकाशित

काठमाण्डु, २ वैशाख– एकीकृत माओवादी नेता टोपबहादुर रायमाझीले प्रधानमन्त्री सुशील कोइरालाविरुद्ध विमान अपहरणमा संलग्न रहेको आरोपमा top bahadurअन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्ने चेतावनी दिएका छन् ।

रिपोर्टर्स क्लबमा मंगलबार भएको कार्यक्रममा उनले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या आरोपमा आफ्ना कार्यकर्तामाथि लगाइएको मुद्दा तत्काल फिर्ता लिएर उनीहरुलाई रिहा नगरे कोइरालाविरुद्ध मुद्धा हाल्ने बताएका हुन् ।

‘२०३० सालमा भएको विमान अपहरण काण्डमा प्रधानमन्त्री सुशील कोइराला, झापा आन्दोलनका बेला एमालेका नेताहरुले गरेको हत्या तथा राजा र राजका मतियारविरुद्ध मुद्दा हाल्छौं’ रायमाझीले भने ‘उनीहरुवीरुद्धको मुद्दा तत्काल फिर्ता लिएर नछाडे सरकारमा रहेका कुनै पनि दललाई हामी बाँकी राख्दैनाै ।’

उनले विमान अपहरण र झापा आन्दोलनको बेला भएको हत्या अन्तर्राष्ट्रिय फौजदारी अपराध भएकाले त्यसमा संलग्न सबैलाई अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने उल्लेख गरे । रायमाझीले आफ्ना कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता नलिए द्धन्दकालमा मारिएका १५ हजार र बेपत्ता तीन हजारका परिवारलाई मुद्दा दायर गर्न लगाउने चेतावनी दिए ।

‘नन्दप्रसाद अधिकारी अनसन बस्दा यत्रो हंगामा हुने हामीले १८ हजारलाई अनसनमा बसाए भने सरकार के गर्छ ?’ उनले प्रश्न गरे ।
वैद्य माओवादीसँग मिलेर आन्दोलन
रायमाझीले मुद्दा फिर्ता नहुँदासम्म आफूहरुले सरकारसँग वार्ता नगर्ने, कुनै पनि बैठकमा सहभामी नहुने र संसदसमेत अवरुद्ध पार्ने चेतावनी दिए । नेकपा–माओवादीसँग मिलेर सडक आन्दोलन समेत गर्ने उनले स्पष्ट पारे । रायमाझीले काग्रेस र एमालेले संविधान नबनाउने रणनीति अनुसार पुराना मुद्दा ब्यूझाएको आरोप लगाउँदै मुद्दा फिर्ता नलिए सरकारलाई समेत सडकबाट ढाल्ने उद्घोष गरे ।
कुनै हालतमा मुद्धा फिर्ता हुँदैनः काँग्रेस–एमाले
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले एमामोवादीको धम्कीबाट डराएर सरकारले कुनै पनि हालतमा मुद्दा फिर्ता लिन नहुने बताए । काँग्रेसले खुट्टा कमाए लोकतन्त्र र विधिको शासनको मूल्यमान्यताबाट च्युत हुने उनको भनाइ थियो ।

‘काँग्रेस माओवादीको धम्कीबाट डराउनु हुँदैन’, उनले भने, ‘अपराधीलाई कानूनअनुसार कारबाही गरेरै छाड्नु पर्छ ।’ केसीले सत्य निरुपण तथा मेलमिलाप आयोग नबन्दासम्म अदालतबाट यस्ता मुद्दामा कारबाही गर्नुपर्ने भन्दै फुजेल हत्याकाण्डका आरोपीहरुलाई उनीहरुको कसुर अनुसारको सजाँय दिनै पर्ने बताए ।
एमाले नेता भीम रावलले माओवादीमा अझै पनि द्वन्द्वको धङधङी कायम रहेको भन्दै उनीहरुको धम्कीको सरकारले कडा प्रतिवाद गर्नुपर्ने बताए । ‘समस्या आएपछि समाधानको लागि वार्तामा पनि नबस्ने, अनि ठूलाठूला धम्की दिने यस्तो चरित्र चल्दैन’ रावलले भने ।
उनले आन्दोलनको धम्कीले कुनै पनि हालतमा मुद्दा फिर्ता हुन नहुने तर्क गरे । मुद्दा फिर्ता लिए अदालतको अपमान हुने तर्क उनको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us