लोप हुने अवस्थामा ‘रोइला अर्थात् खेली’ गीत

काठमाण्डु टुडे २०७१ साउन २ गते ७:३८ मा प्रकाशित

काठमाण्डु, २ साउन – ‘पोखरीको पानी, कल्ले लयो खोलेर, के काम लायो बोलेर’ ।

नेपालको पुरानो संस्कृति झल्काउने यो ‘खेली’ गीतको टुक्का आजकाल कमै मात्रामा सुन्न पाइन्छ । खासगरी गण्डकी, धौलागिरि, लुम्बिनी अञ्चलका पाल्पा, पर्वत, बागलुङ, कास्की र स्याङ्जालगायतका जिल्लामा गाइने यो गीत नेपाली गीत–सङ्गीतको खस्कँदो बजारसँगै अहिले सङ्कटमा परेको छ ।

पश्चिमाञ्चलका बूढापाकाले गाउने रोइला अर्थात् खेली गीतलाई नयाँ पुस्ताले निरन्तरता दिँदै आए पनि गीत–सङ्गीतको घट्दो बजारले लोप हुने अवस्थामा पुगेको गीत सङ्कलक तथा रङ्ग पत्रकार सूर्यकुमार क्षेत्रीले बताए ।

सुन्दा भजनजस्तै लाग्ने तर दोहोरीजस्तै सवाल जवाफ गरिने रोइलाको वास्तविक नाम खेली हो । यो गीत विशेष गरी पहिला पहिला ब्राह्मण र क्षेत्री जातिले धार्मिक पर्व, पूजापाठ, वर्तबन्ध, वनपाखामा घाँसदाउरा गर्दा र रोधी बस्दासमेत गाउने प्रचलन थियो ।

गीत–सङ्गीतमा विद्यावारिधि गरेका कुशकुमार न्यौपानेका अनुसार ‘खेली’ गीत रोइला, चुट्का, ठुवा, ख्याली, आँधीखोले भाका र लोइरोजस्ता नामले पनि चिनिन्छ ।

यी गीतमा खासगरी बाजाका रुपमा खैँजडी, मुजुरालगायत बजाउने गरिन्छ । राप्ती अञ्चलको सेरोफेरोमा पनि विभिन्न धार्मिक पर्वमा ‘खेली’ गीत गाउने गरिएको सङ्कलक क्षेत्रीको भनाइ छ ।

भावपूर्ण लोकगीतका रुपमा हेरिने खेली गीतलाई पहिलेपहिलेका बूढापाकाले जसरी गाउँदै आए त्यो नै यसको मूल भाव हो । यसमा प्रेम, करुणा, भक्ति आदि पाइन्छ । न्यौपानेले भने, “खेली गीतलाई जसरी गाए पनि लय, छन्द, बिम्ब र अलङ्कार आदिमा काव्यात्मक गुणहरु भित्रिएको हुन्छ ।”

प्रजापति पराजुली, लक्ष्मी न्यौपाने हुँदै पछिल्लो पुस्तामा खेली अर्थात रोइला गायक भनेर शिरिष देवकोटालाई चिन्ने गरिन्छ । खेली गीतलाई पछिल्लो नयाँ पुस्तामध्ये कसैले रोइला भन्ने गर्छन् भने कसैले खेली नै भन्ने गर्दछन् ।

‘खेली गीतको रस’ शीर्षकमा विद्यावारिधि गर्ने तयारीमा रहेका अनुसन्धानकर्ता तुल्सी प्रभाषले अनुसन्धानका क्रममा पाल्पा, स्याङ्जा र कास्की जिल्लाका करिब ६० वर्षभन्दा माथिका बूढापाकाले रोइला नभएर खेली नै भन्ने गरेको बताए । उनका अनुसार ख्यालख्यालमा गाइने खेली र रोएको शैलीमा गाइने रोइला गीत हो । प्रभाषका अनुसार खेली मूल शब्द ‘ई’ प्रत्येय लागेर ‘खेली’ शब्द बनेको हुन्छ । रोइलामा ‘ला’ प्रत्येय लागेर ‘रोइला’ बनेको हुन्छ । रोइला गीत पहिलेदेखि नै गाइँदै आएको तर अहिलेसम्म रेकर्डिङ भएर बजारमा नआएको उनको भनाइ छ । उनले भने, “अहिलेसम्म जति पनि बजारमा रोइला गीत आएका छन्, ती सबै गीत खेली नै हुन् ।”

पुराना खेली गीतलाई राज्य र सरकारले रेकर्डिङ गरी सङ्गीत सङ्ग्रहालय बनाएर संरक्षण गर्नुपर्नेमा उनको जोड छ ।

पछिल्लो पुस्ताका चर्चित खेली गायक शिरिष देवकोटाले आफूले पहिलो एल्बम बजारमा ल्याएको साल २०६१ मा गीत–सङ्गीतसम्बन्धी पुस्तकमा खेलीलाई रोइला भनेर उल्लेख गरिएको हुँदा आफूले पनि रोइला नै भन्ने गरेको बताए ।

करिब दुई दर्जन खेली गीत गाइसकेका गायक देवकोटाले आफूले बजारमा ल्याएका सबै खेली गीत राम्रै चलेको दाबी गरे ।

पछिल्लोपटक ओरालो लागेको नेपाली गीत–सङ्गीतलाई जीवन्त बनाइराख्न खेली गीतमात्र होइन, अन्य लोक दोहोरी गीतलाई समेत संरक्षण गर्न गायक÷गायिका तथा सरोकारवाला निकाय सक्रियताका साथ लाग्नुपर्ने देखिन्छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us