‘डनहरुको संरक्षण गरे ओलीलाई सहयोग हुँदैन’

काठमाण्डु टुडे २०७१ साउन ३ गते ९:२९ मा प्रकाशित

पदाधिकारीमा ५० प्रतिशत जित्न सफल भए पनि अध्यक्षमा माधव नेपाललाई जिताउन सक्नुभएन ?
bhim rawalउहाँले जितेर पनि हार्नुभएको हो । ५० भन्दा बढी प्यालन भोट उहाँलाई आएन । अन्य सबै पदमा प्यानलमा र अध्यक्षमा खाली राखेको पाइयो । त्यसकारण प्राविधिक रुपमा मात्र माधव नेपालले हार्नुभएको हो ।
तपाईंका विचारमा अध्यक्षमा भोट नदिनेहरु को थिए ?
कसरी त्यसो भयो भन्ने सन्दर्भमा समीक्षा र खोजी गर्छौं । हामीले भर्खरै महाधिवेशनको समापन गरेका छौं । यथा समयमा त्यसको खोजी र समीक्षा हुनेछ ।
महाधिवेशनअघि केपी ओलीलाई डनवाद, धनवाद र गनवादका नेता भन्नुहुन्थ्यो, उहाँले नै अध्यक्षमा जितेपछि तपाईंहरुकै शब्द सापटी लिएर डनवादले वैधानिकता पायो भन्दा के फरक पर्ला ?
अहिले त्यतातिर नजाऔं । निवर्तमान अध्यक्ष झलनाथ खनालले महाधिवेशनको समापन समारोहमा पार्टीभित्र कुनै पनि अनुचित काम, अनुचित गतिविधि र गुण्डागर्दीले प्रश्रय पाउनु हुँदैन भन्नुभएको छ । हिजो कसले के गर्‍यो, त्यसमा नजाऔं अब कसैले पनि पार्टीको कभरमा गुण्डागर्दी गर्नेलाई संरक्षण दिने र आफ्नो फाइदाका लागि त्यस्ता प्रवृत्तिका मानिसहरुलाई उकास्ने काम गर्न पाउने छैन । हामी कसैलाई पनि त्यस्तो काम गर्न दिने छैनौं । यदि कसैले त्यस्तो गर्न खोज्यो भने हाम्रो साथ र समर्थन हुने छैन ।
जसको विचार उसको नेतृत्व’ को नारा दिनुभएको थियो, तपाईंहरुको विचार पारित भए पनि मुल नेतृत्व फरक विचारको आएको छ, यस्तोमा महाधिवेशनबाट पारित विचार व्यवहारमा कार्यान्यवन होला त ?
महाधिवेशनमा हामीले पनि प्रतिनिधिको व्यापक समर्थन पाएका छौं । निर्वाचनको प्रक्रियामा सहभागी भएपछि जित/हार तत्कालको प्राविधिक विषय हो । हाम्रो प्यानलले सबै प्यानल जितेर पनि प्राविधिक कारणले हारेको हो । समग्रतामा केन्द्रीय कमिटीले पारित गरेको र महाधिवेशनले पनि अनुमोदन गरेको विचार हो ।

हिजो हामीले अघि सारेको भए पनि त्यो पार्टीको सम्पत्ति भइसक्यो । हिजो जो त्यो विचारको विपक्षमा थियो, आज नेतृत्वमा आएको छ, महाधिवेशनले पारित गरिसकेपछि यो उसको पनि विचार हो । महाधिवेशनले पारित गरेको विचार कार्यान्वयन गर्नु नेतृत्वको कर्तव्य हो । त्यसमा शंका गर्ने बेला भएको छैन ।

माधवकुमार नेपालको भूमिका पार्टीमा अब कस्तो रहला ?
माधव कमरेड सक्रिय र क्रियाशिल नेता हुनुहुन्छ । पृष्ठभूमिका कारणले पन राष्ट्रिय राजनीतिमा उहाँको महत्वपूर्ण स्थान र भूमिका छ । १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता हुँदै संविधान लेखनको अहिलेको चरणसम्म आउँदा शीर्ष तहमा रहेर भूमिका खेल्ने थोरै नेतामध्ये उहाँ पनि एक हो ।

त्यसैले अध्यक्षमा हार्दैमा उहाँको पार्टीभित्र र बाहिर भूमिका कम हुने भन्ने कुरा भएन । महाधिवेशन समापन समारोहमा उहाँले प्रष्ट रुपमा भन्नुभएको छ कि म पार्टीमा सक्रियतापूर्वक क्रियाशिल भूमिका खेल्छु भनेर ।
पदाधिकारीमा बराबरीकाे हाराहारीमा रहेको तपाईंको प्यानलले अध्यक्षलाई कामकारबाहीमा सघाउने कि, उहाँले विगतमा संस्थापनको विपक्षमा उभिएर स्थायी प्रतिपक्षको भूमिका खेलेर पैंचौ तिर्ने ?
इतिहासको कुन कालखण्डमा कसले के–कस्ता गतिविधि गरेको थियो भनेर पैंचो तिर्ने पक्षमा हामी छैनौं । पार्टीलाई महाधिवेशनले निर्दिष्ट गरेको विचार र राजनीतिका आधारमा अघि बढाउने कुरामा असहयोग होइन सहयोग नै गर्छौं । पार्टीलाई विचार/राजनीतिका आधारमा एकताबद्ध बनाएर लाने कुरामा हाम्रो तर्फबाट सकारात्मक भूमिका हुन्छ । महाधिवेशनको निर्णय हाम्रो भविष्यको मागदर्शक हो ।

त्यसैका आधारमा पार्टी अघि बढ्ने हो । कुनै अमुक नेताले आफ्नो सोचमा मात्र पार्टी हाँक्न सक्दैन । महाधिवेशनको निर्णयअनुसार पार्टी, देश, जनता, राष्ट्रिय हित, राष्ट्रिय अखण्डता र सार्वभौमिकता प्रतिकुलबाहेक सबै राम्रा काममा रचनात्मक सहयोग र समर्थन हुन्छ । यसमा ओली कमरेड ढुक्क हुनुभए हुन्छ । पूराना कुराको हिसाब गरेर निहुँ खोज्ने काम हामीबाट हुँदैन ।

महाधिवेशनअघि एक अर्काविरुद्ध लक्षित आरोप/प्रत्यारोप हेर्दा एमाले अब एउटै पार्टी रहला र भन्ने आशंका गर्नेहरु धेरै थिए । अब कसरी अघि बढ्नुहुन्छ ?
नेकपा एमालेमा यस्तो प्रतस्पर्धा भएको यो पहिलोपटक होइन ।  आठौं महाधिवशेनमा पनि धेरै ठूलो प्रतिस्पर्धा भएको थियो । त्यतिबेला पनि अहिलेजस्तै प्रतिनिधिहरु जिल्ला/जिल्लाबाट प्यालनकै आधारमा छानिएर आएका थिए । त्यतिबेला पनि कतिपय मानिसहरुलाई शंका थियो । पार्टीको भविष्य के होला भनेर । महाधिवशेनपछि हामी मिलेरै आयौं । पार्टी संविधानसभाको दोस्रो शक्ति हुन सफल भयो ।

अहिले पनि हामीले भाँचिएका मन र खिचिएका रेखा मेट्न नेतृत्वतहबाटै प्रयास गर्नुपर्छ । कतिपय नेताहरुबाट त्यो अवस्थामा तीता अभिव्यक्ति पनि आए । मुलत: पार्टीले अब दिने जिम्मेवारीले नै सबै कुराको निधो गर्छ । पार्टीका नेता/कार्यकर्तालाई अवसर र जिम्मेवारी दिने तथा काममा खटाउने कुरामा व्यक्तिको योग्यता, क्षमता, नैतिकता र इमान्दारिताका आधारमा जिम्मेवारी दिने बित्तिकै गुटबन्दीको तुस मेटिंदै जान्छ ।

तपाईंले उपाध्यक्षमा सबैभन्दा लोकप्रिय मत ल्याएर जित्नुभयो, मतका आधारमा तपाईं वरिष्ठ कि बामदेव गौतम ?
त्यसबारे हामीले केही भनेका छैनौं । केन्द्रीय कमिटीको पहिलो बैठकले वरियता सम्बन्धी विषय आगामी बैठकबाट टुंगो लगाउने निर्णय गरेको छ । त्यसैले त्यसबारे अहिले केही नभनौं । बोल्नै परे समय आएपछि बोलौंला ।
एमालेमा नेतृत्व परिवर्तनसँगै राजनीतिक बजारमा सत्ता समीकरणमा फेरबदल आउने चर्चा चलेको छ नि ?
हाम्रो नवौं महाधिवेशनले वृहत्तर राष्ट्रिय हितका लागि सबै राजनीतिक शक्तिसँग सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको छ । राजनीतिक संक्रमणलाई कसरी टुंगोमा पुर्‍याउने भन्ने विषयलाई केन्द्रमा राखेर अघि बढ्नु छ । एक वर्षभित्र मुलुकलाई नयाँ संविधान दिनुछ । यस्तो अवस्थामा सरकार बनाउने र गिराउने खेलमा लाग्नु हुँदैन । पार्टीमा यस विषयमा कुनै छलफल भएको छैन । यो मेरो व्यक्तिगत धारणा हो । मलाई लाग्छ पार्टी पनि यसबाट दायाँबायाँ हुँदैन ।
संविधानसभाको दोश्रो ठूलो शक्तिका नाताले बीचमा बसेर पहिलो र  त्यसभन्दा तलका दलहरुबीच समन्यव कायम गर्नमा एमालेले कस्तो भूमिका खेल्छ ?
विगतका आन्दोलनहरुबाट प्राप्त राजनीतिक उपलब्धी संस्थागत गर्न दलहरुबीच एकता र सहकार्य जरुरी छ । अबको ८/१० महिनामा मुलुकलाई नयाँ संविधान दिने बाचा हामी सबैले गरेका छौं ।

बहुपहिचानमा आधारित संघीयतासहितको संविधान जारी गर्नु अहिलेको प्रमुख राष्ट्रिय कार्यभार हो । राष्ट्रियता र राष्ट्रिय अखण्डतामा खलल नपर्ने गरी संविधान जारी गर्न हाम्रो तर्फबाट अधिकतम प्रयत्न हुनेछ । यस सन्दर्भमा संविधानसभाबाहिर रहेको नेकपा–माओवादीसहितका दलहरुलाई सहमतिमा ल्याउन हामी सक्रिय हुनेछौं ।
एकीकृत माओवादीसहित माओवादीधारका दल र पहिचानवादीहरुले संविधानसभाभित्र र बाहिर मोर्चाबन्दी गरेका छन्, यसलाई कसरी हेर्नुभएको छ ?
अघिल्लो संविधानसभामा दबाब समूह ‘ककस’ भन्ने थियो । संविधानसभाबाट संविधान जारी हुन नसक्नुको एउटा कारण ‘ककस’ पनि हो । फेरि त्यस्तो गल्ती कोही कतैबाट दोहोरिनु हुँदैन । फेरि त्यही प्रकृतिको दबाब समूह बनाउनु गलत हो ।

प्रमुख राजनीतिक दलको उच्चतहको वार्ताबाट विगतमा त्यस्तो दबाब समूह नबनाउने सहमति भइसकेको छ । त्यो काम सहमतिविपरीत हो । त्यसले अनावश्यक ध्रुवीकरण निम्त्याउँछ । संविधान लेखनको कामलाई जटिल बनाउँछ । असहमतिका विषयमा बसेर छलफल गरी निष्कर्षमा पुग्न सकिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us