कुन बाटो हिँड्लान् ओली ?

काठमाण्डु टुडे २०७१ साउन ५ गते १५:३७ मा प्रकाशित

काठमाण्डु–नेकपा एमाले मुख्यालय बल्खुमा १ साउनमा दुई साता लामो महाधिवेशनको समापन हुँदै थियो। अध्यक्षमा पराजित kp oliमाधवकुमार नेपाल, निवर्तमान अध्यक्ष झलनाथ खनाल र नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीसमेत तीनै नेता पार्टी तलैसम्म गुटमा विभाजित भएकामा चिन्तित देखिन्थे। र, अब गुटलाई बढावा नदिने वचनबद्धता प्रकट गररिहेका थिए।

नेताहरूको स्पष्टोक्ति र दिन खोजिएको सन्देश एउटै भए पनि समापन कार्यक्रममै अध्यक्षमा पराजित नेपाल र विजयी ओलीबीच सामान्य नै सही, जुहारी चल्यो। नेपालले आफ्नो समूहले कार्यालय बनाएको बानेश्वरस्थित अर्याल होटलमा ३२ असारको राती ओलीको नाम लिँदै गुन्डाहरूको समूह गएर आक्रमण गरेकाले उनीहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरे। नेपालको भनाइ थियो, “जित्नेले सबैलाई समेटेर लैजाने र हार्नेले सहयोगको हात बढाउनुपर्ने हुन्छ। केपीको परीक्षाको घडी सुरु भएको छ। उहाँले हृदयको विशालता देखाउनुहुन्छ कि हुन्न ?”

खासमा त्यस वाद-प्रतिवादका दौरान नेपाल उत्तेजित भावमा थिए भने ओलीचाहिँ शान्त मुद्रामा। नेपाल हिँडिसकेपछि बोल्ने मौका पाएका ओलीले होटलमा भएको तोडफोड आफूले बल्ल सुनेको बताउँदै विनम्र भावमा उत्तर दिए, ‘मेरो सारा जीवन यस्तै अनुचित बल प्रयोग गर्नेहरूसँग संघर्ष गर्दै बितेको छ। यदि साँच्चिकै त्यस्तो घटना भएको हो भने त्यस्ता व्यक्तिमाथि कारबाही अवश्य हुनेछ।’

२२ माघ ०७० मा भएको एमाले संसदीय दलका नेताको निर्वाचनमा विजयी भएपछि पनि ओलीमा उत्तेजनाभाव कत्ति थिएन। विजयपछि अध्यक्ष झलनाथ खनाललाई संविधानसभामा पार्टी नेता बस्ने लहरको पहिलो वरीयतामा राख्न पनि ओलीले कत्ति कञ्जुस्याइँ गरेनन्। न त आफूविरुद्ध प्रतिस्पर्धाका लागि खनाललाई उत्प्रेरति गर्ने वरिष्ठ नेता नेपालविरुद्ध नै कुनै प्रहार वा छेडखानी गरे।

यी दुई घटनाले देखाउँछन्, संसदीय दलका नेता र पार्टी अध्यक्षमा विजयी भएपछि ओलीको बोली र व्यवहारमा समेत ३ सय ६० डिग्रीको परविर्तन आउन थालेको छ। विपक्षीप्रति उनी अधिक सहिष्णु देखिन थालेका छन्। के त्यसो भए ओली आफ्नो कमजोर स्वास्थ्य वा १ साउनका दिन उनले जारी गरेको वक्तव्यमा उल्लेख गरिएझैँ ‘आफ्नो जीवन अरू कमरेडहरूको जस्तो लामो नरहेकाले’ नरम देखिन थालेका हुन् ?

ओलीले पछिल्लो समय प्राप्त गरेको एकपछि अर्को जिम्मेवारीलाई बोली र व्यवहारमा देखिएको आश्चर्यजनक परविर्तनको मुख्य कारण ठान्छन्, एमाले सचिव पृथ्वीसुब्बा गुरुङ। ओली समूहको उम्मेदवारका रूपमा विजय हासिल गरेका गुरुङ भन्छन्, “पार्टीभित्रै प्रतिपक्षमा हुँदा स्वाभाविक रूपमा उहाँ सबैप्रति कडा हुनुहुन्थ्यो। अब उहाँ आफैँ सत्तापक्ष हुनुभएको छ।”

सिंहदरबारमा नजर

अध्यक्षमा निर्वाचित भएलगत्तै ओलीले आफ्नो विजयले संविधान निर्माणका बेलासम्म वर्तमान सरकारको निरन्तरमा कुनै असर नपर्ने बताएका छन्। संविधानसभामा एमालेको बहुमत छैन। उसको हैसियत पहिलो ठूलो दलका रूपमा पनि छैन। यस्तो स्थितिमा प्रधानमन्त्री बन्नकै लागि ओली उत्ताउलो तरिकाले सरकार गिराउने खेलमा लागे भने त्यो एमाले र ओली दुवैका लागि पनि प्रत्युत्पादक हुन सक्छ।

यसको अर्थ यो होइन कि, ओली कांग्रेस नेतृत्वको यो सरकारलाई लामो समय निरन्तरता दिने पक्षमा छन्। सरकारको आयु जति लम्बिँदै जान्छ, प्रधानमन्त्रीका प्रबल आकांक्षी ओली प्रधानमन्त्री बन्ने सम्भावना छोट्टिँदै जान्छ। कारण हो, उनको कमजोर स्वास्थ्य, जुन उनी आफैँले स्वीकारसिकेका छन्।

पदीय आकांक्षा र त्यो प्राप्तिका लागि प्रतिकूल स्वास्थ्यका बाबजुद पनि एकपछि अर्को प्रतिस्पर्धामा उत्रेको घटनाले ओली एमाले अध्यक्षमा मात्र चित्त बुझाएर बस्लान् भन्न सकिन्न। जस्तो कि, स्वास्थ्य प्रतिकूल हुँदाहुँदै उनी संसदीय दलका नेताका लागि अध्यक्ष खनालसँग प्रतिस्पर्धा गर्न अघि सरे। खनाललाई पराजित त गरे तर उनको स्वास्थ्य यति बिग्रियो कि उपचारका लागि सुरुमा भारत र त्यसपछि थाइल्यान्ड जानुपर्‍यो। झन्डै चार महिना विदेशमा बिताए ओलीले। यसका बाबजुद पार्टी अध्यक्षका लागि फेरि वरिष्ठ नेता नेपालसँग प्रतिस्पर्धा गर्न अघि सरे र जिते पनि।

ओली आखिर किन स्वास्थ्यको समेत पर्वाह नगरी एकपछि अर्को प्रतिस्पर्धा गररिहेका छन् त ? निःसन्देह प्रधानमन्त्री बन्ने मार्ग सहज बनाउनका लागि। र, यो नयाँ जिम्मेवारीका लागि पनि उनी ढिलाइ गर्ने पक्षमा छैनन् भन्ने कुरा उनको त्यही वक्तव्यमा उल्लेखित अर्को अंशले गर्छ। ओलीले त्यसमा ‘आफ्नो जीवन पार्टीका अन्य कमरेडहरूको जति लामो नभएको’ मात्र बताएका छैनन्, यही कारण ‘आफ्ना लागि कुनै पनि काम बिस्तारै गर्दै जाऔँला नि त भन्ने सुविधा नरहेको तथ्यप्रति आफू सजग रहेको’ स्मरण पनि गराएका छन्।

एमालेका पूर्वनेता राधाकृष्ण मैनाली, जसले लामो समय ओलीसँग सहकार्य गरे, ‘आफ्ना लागि कुनै पनि काम बिस्तारै गर्दै जाऔँला नि त भन्ने सुविधा नरहेको’ भन्ने ओलीको भनाइले उनी अब ढिलो नगरी प्रधानमन्त्रीका लागि अघि बढ्छन् भन्ने संकेत दिएको बताउँछन्। भन्छन्, “ओली संविधानसभामा दोस्रो ठूलो दलको संसदीय दलका नेता बनिसके, पार्टी अध्यक्ष पनि भइसके। अब बन्न बाँकी भनेको प्रधानमन्त्री वा राष्ट्रपति हो। उनको भनाइको संकेत पनि त्यही दुईमध्ये एक हो।”

तर, ओली राष्ट्रपति बन्नका लागि कत्ति इच्छुक नरहेको उनी निकटस्थ नेताहरू बताउँछन्। पार्टीभित्र उनका प्रतिद्वन्द्वीहरू खनाल र नेपालले यसअघि कार्यकारी अधिकारसहितका प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेकाले ओली पनि प्रधानमन्त्री नै बन्न चाहन्छन्। संसदीय दलको निर्वाचनका क्रममा आफू प्रधानमन्त्री बनेपछि गौतमलाई अध्यक्षको जिम्मेवारी सुम्पने भनी गरेको भद्र सहमतिले पनि उनको आकांक्षा प्रधानमन्त्री नै हो भन्ने देखाउँछ।

 विनम्रताको कार्यनीति

संविधानसभाभित्रको अंकगणित यस्तो छैन, जहाँ पार्टीभित्रजस्तो प्रतिद्वन्द्वीलाई हराएर ओली सहजै र छिट्टै प्रधानमन्त्री बन्न सकून्। संविधानसभामा दोस्रो ठूलो दल हो एमाले। तेस्रो ठूलो दल एमाओवादीलाई साथ लिँदा पनि प्रधानमन्त्री बन्न ओलीका पक्षमा सुविधाजनक बहुमत जुट्दैन। प्रधानमन्त्री बन्ने नै हो भने उनले कांग्रेससँगको सम्बन्ध थप सुमधुर बनाउनु जरुरी छ। अनि मात्र उनी कांग्रेसको सहयोगमा प्रधानमन्त्री बन्न सक्नेछन्।

तर, २६ माघमा कांग्रेस-एमालेबीच सम्पन्न सातबुँदे सहमतिले संविधान नबन्दासम्मका लागि यही सरकार कायम रहने व्यवस्था गरेको छ। प्रधानमन्त्री बन्ने उद्देश्यले ओलीले सरकार ढाल्ने खेल सुरु गरे भने कांग्रेसले एमाओवादीलगायत दलको समर्थन लिएर नयाँ सरकार बनाउने खेल सुरु गरिदिन सक्छ। यस्तोमा प्रधानमन्त्री बन्ने ओलीको इच्छा सपनामै सीमित रहनेछ। त्यसैले छिट्टै प्रधानमन्त्री बन्न पनि चाँडोभन्दा चाँडो संविधान बनाउने परिस्थिति सिर्जना गर्नु जरुरी छ, उनका लागि।

त्यही भएर हुन सक्छ, १ साउनमा अध्यक्षको पदभार ग्रहण गर्दा ओलीले चाँडोभन्दा चाँडो संविधान निर्माणमा केन्दि्रत हुनुपर्नेमा जोड दिए। नेपाली कांग्रेस र एमाओवादीलगायत संविधानसभाबाहिर रहेका दलहरूलाई सहमतिमा ल्याएर संविधान जारी गर्न ओलीको भूमिका निर्णायक हुन सक्यो भने उनका लागि प्रधानमन्त्री बन्ने बाटो सजिलोसँग खुल्नेछ। ओलीनिकट एमाले केन्द्रीय सदस्य भानुभक्त ढकाल भन्छन्, “सल्लाह गरेर ओलीले बोली र व्यवहारमा परविर्तन गर्नुभएको होइन। मुलुकको अवस्था ख्याल गर्दै उहाँ संयमित देखिनुभएको हो। उहाँको सम्पूर्ण ध्यान कसरी चाँडोभन्दा चाँडो संविधान निर्माण गर्न सकिन्छ भन्नेमै छ।”

प्रधानमन्त्री बन्न मात्र होइन, पार्टी सञ्चालनकै लागि पनि बोली र व्यवहारमा संयमता प्रदर्शन गर्नु जरुरी छ, उनका लागि। किनभने, संसदीय दलमा जस्तो अध्यक्षमा विजय हासिल गर्न ओलीलाई त्यति सहज भएन। वरिष्ठ नेता नेपाल ५६ मतले मात्र पराजित भएका हुन्। अपर्झट निर्णय गर्नुपर्ने वरिष्ठ नेतासहितको स्थायी कमिटीको १५ सदस्यीय पदाधिकारीमा ओली बहुमतमा छैनन् । त्यहाँ उनी पक्षीय सात जना छन् भने नेपाल समूहका पनि सात जना नै छन्। यस्तोमा वरिष्ठ नेताका हैसियतमा पदाधिकारी सदस्य बन्ने अवसर पाएका निवर्तमान अध्यक्ष खनाल निर्णायक हुनेछन्। त्यसैले नेपाल पक्षीय सचिव योगेश भट्टराई पाइला पाइलामा विचार पुर्‍याएर अघि बढे मात्र ओली सफल हुने बताउँछन्। ओली पक्षीय एक नेता भन्छन्, “यही अप्ठ्यारोका कारण प्रतिस्पर्धीलाई चिढ्याएर सफलता हासिल गर्न सकिन्न भन्नेमा ओली सचेत हुनुहुन्छ।”

प्रतिद्वन्द्वीलाई पराजित गर्न भौतिक विज्ञानले टाढा-टाढासम्म मार हान्न सक्ने क्षेप्यास्त्र र अणुबमहरूको निर्माण गरेको छ। आध्यात्मिक विज्ञानले चाहिँ विनम्रतालाई संसार जित्ने हतियार मानेको छ। सम्भवतः कम्युनिस्ट भएकाले ओली अध्यात्ममा होइन, भौतिक विज्ञानमा विश्वास गर्छन्। तर, प्रधानमन्त्री बन्न ओली अध्यात्म विज्ञानले आविष्कार गरेको विनम्रताको हतियार नै प्रयोग गर्दै छन्।

नेपाल साप्ताहिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us