एमाओवादीले स्वराजलाई भन्यो, ‘कर्मचारीका भरमा भएन, राजनीतिक वार्ता गरौं’

काठमाण्डु टुडे २०७१ साउन १० गते १४:५२ मा प्रकाशित

काठमाण्डु, १० साउन– नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री शुष्मा स्वराजले एकीकृत माओवादी शीर्ष नेतृत्वसँग भेटघाट गरेकी छन् ।

prachanda-swaraj
नयाँबानेश्वरिस्थित संविधानसभा भवनमा भएको भेटमा माओवादी नेताहरुले विगतमा कर्मचारीले कुटनीतिक डिल गर्दा समस्या आएको भन्दै महत्वपूर्ण विषयमा राजनीतिक तहमै छलफल अघि बढाउनुपर्ने बताएका छन् ।

१७ वर्षपछि मात्र भारतीय प्रधानमन्त्री नेपाल आउन लागेको भन्दै नेताहरुले उच्चस्तरीय भेटघाट बाक्लो पार्न सुझाए । ‘हामीले महत्वपूर्ण विषयमा राजनीतिक तहमै छलफल गर्नुपर्ने प्रस्ताव राख्यौं’, भेटमा सहभागी एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले काठमाण्डु टुडेसँग भने, ‘उहाँ (स्वराज) ले त्यसलाई सकारात्मक रुपमा लिनुभयो ।’

श्रेष्ठका अनुसार स्वराजले भारतमा सत्ता परिवर्तन भएको दुई महिना नबित्दै आफू नेपाल आएको र प्रधानमन्त्री नरेन्द्र मोदी अर्को साता आइपुग्ने भन्दै नेपाललाई उच्च महत्व दिएको बताएकी थिइन् ।

‘तपाईंहरुले भनेका कुरामा म गम्भीर छु’, स्वराजको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने, ‘लामो समयसम्म उच्चस्तरीय भ्रमण नभएको सत्य हो, अब त्यसको ब्याजसहित चुक्ता गर्ने पक्षमा हामी छौं, निश्चित रुपमा राजनीतिक तहमै छलफल अघि बढाउछौं ।’
भेटमा एमाओवादी अध्यक्ष प्रचण्डले मोदी भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । कम्तिमा एउटा ठूलो जलविद्युत आयोजना उपहारका रुपमा निर्माण गरिदिन, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग निर्माणमा देखिने गरी ठोस सहयोग पुर्‍याउन आग्रह गरिएको अर्का उपाध्यक्ष पोष्टबहादुर बोगटीले जानकारी दिए ।

बोगटीका अनुसार जवाफमा स्वराजले पारस्पारिक विकास र सहयोगका क्षेत्रमा गुणात्मक आर्थिक सहायता प्रदान गर्ने प्रतिबद्धता जनाइन् । आफूहरु सुरक्षित र स्थिर नेपाल भारतको पनि हितमा छ भन्नेमा सचेत रहेको बताइन् । स्वराजले नेपालको जारी शान्ति प्रक्रिया र संविधान निर्माणमा चासो व्यक्त गरेकी थिइन् ।

एमाओवादी नेताहरुले आफूहरु शान्ति र संविधान निर्माणमा प्रतिबद्ध रहेको र तोकिएकै समयमा ती काम सम्पन्न हुनेमा आशावादी रहन आग्रह गरे । स्वराजले नेपालको शान्ति प्रक्रिया यहाँसम्म ल्याउन एमाओवादीले खेलेको सकारात्मक भूमिकाको सराहना गर्दै तोकिएकै समयमा शान्ति र संविधान निर्माणको काम निष्कर्षमा पुग्नेमा आशावादी रहको विश्वास व्यक्त गरिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us