भारतीय विदेशमन्त्रीबाट बामदेव अपमानित

काठमाण्डु टुडे २०७१ साउन १० गते १४:५४ मा प्रकाशित

काठमाण्डु, १० साउन– नेपाल भ्रमणमा रहेकी भरतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालका उपप्रधानमन्त्री बामदेव गौतमको अपमान गरेकी छन् ।

bamdev
विदेशमन्त्री स्वराजले उपप्रधानमन्त्री गौतमलाई भेट्न बोलाएर पनि नभेटेर अपमानित गरेकी हुन् । सूत्रका अनुसार उपप्रधानमन्त्री गौतम र विदेशमन्त्री स्वराजवीच शनिबार अपरान्ह ३ बजे राजधानीको होटल मल्लमा भेटघाटको कार्यक्रम तय गरिएको थियो ।

स्वराजलाई भेट्न गौतम आधा घन्टाअघि नै दौरा सुरुवाल लगाएर होटल मल्ल पुगेका थिए । उनले त्यहाँ करिब एक घन्टासम्म स्वराजको व्यग्र प्रतिक्षा गरे । तर, स्वराज आइनन् । पछि खबर आयो, भेटघाटको कार्यक्रम रद्द भएको ।

स्वराजका तर्फबाट फुर्सद नभएकाले पछि भेट्ने सूचना पाएपछि मुर्मुरिएका उपप्रधानमन्त्री गौतम ‘हामीलाई भेट्न बोलाएर हेप्ने’ भन्दै फर्किएको त्यहाँ पुगेका एक सञ्चारकर्मीले काठमाण्डु टुडेलाई बताए । उपप्रधानमन्त्रीका प्रेस सहयोगी विश्वमणि सुवेदीले ३ बजे भेटघाटको कार्यक्रम रहे पनि विदेशीमन्त्री स्वराजको कार्यव्यस्तताका कारण भेटघाट हुन नसकेको बताए ।

‘उहाँहरुबाट खबर आएपछि भेट्ने कार्यक्रम छ’, उनले भने । महाकाली सन्धिलाई राष्ट्रघाती भन्दै माधव नेपाल र केपी ओलीविरुद्ध आवाज उठाएका र पार्टी नै फुटाएका गौतमले कालान्तरमा भारतसँग सम्बन्ध बढाउने कोसिस गर्दै आएका छन् । भारतसँग नजिकिन उनले हालै सम्पन्न एमालेको नवौं महाधिवेशनमा केपी ओली क्याम्पसँग गठबन्धन गरेका थिए ।

हालै भारतका तर्फबाट प्रस्तावित विद्युत विकास सम्झौताको चौतर्फी विरोध भइरहेका बेला गौतमले सम्झौता नेपालको हितमा भएको बताउँदै भारतको ‘ताबेदारी’ गरेका थिए । शनिबार भारतीय विदेशमन्त्रीको हेपाहा व्यवहार खेपेपछि भने उनी भारतसँग आक्रोशित भएको बताइएको छ ।

एमालेका तर्फबाट सरकारको नेतृत्व गरेका गौतम वरियतामा प्रधानमन्त्री सुशील कोइरालापछि दोश्रो नम्बरमा छन् । त्यति मात्र होइन अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका सिलसिलामा बैंकक गएपछि एमाले कार्यबाहक अध्यक्षको जिम्मेवारीसमेत उनैले सम्हाल्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us