बढ्दो मानसिक रोग : विशेषज्ञ छैनन्

काठमाण्डु टुडे २०७१ साउन ११ गते ७:०७ मा प्रकाशित

काठमाण्डु  – पहिलो सन्तान जन्माउँदासम्म मनमाया गुरुङलाई कुनै प्रकारको शारीरिक वा मानसिक समस्या थिएन । उनको पहिलो सन्तान जन्मेको २२ दिनमा नै मृत्यु भयो ।

दोस्रो सन्तान गर्भमा आएदेखि नै उनको मनमा कतै दोस्रो बच्चा पनि जन्मने बित्तिकै मर्ने त हैन भन्ने त्रासले स्थान लियो । जसको कारण दोस्रो सन्तान छोरी राम्रै जन्मिए पनि उनमा भने मानसिक समस्या बढ्न थाल्यो ।

भक्तपुर निवासी मनमायाको परिवारको आयस्रोत राम्रो नभएकाले पनि उनको उपचार हुन सकेको थिएन । उनमा मानसिक समस्या देखिए पनि लगातार अन्य दुई छोरालाई जन्म दिइन् । त्यसपछि उनमा थप क्षयरोगको लक्षणसमेत देखियो ।

मानसिक रोगको उपचार हुन नसकेको अवस्थामा क्षयरोगले पनि समातेपछि उनलाई उपचारका लागि अस्पताल पु¥याइयो । मानसिक अवस्थाका कारण उनको क्षयरोगको समेत राम्रोसँग उपचार हुन सकेन ।

छिमेकीको सहयोगमा मानसिक रोगका क्षेत्रमा कार्यरत मेरिनोल नेपाल आशादीप केन्द्रको भक्तपुर शाखामा उनको उपचार सुरु भयो । बस्ने, खाने र उपचारसमेत गर्ने व्यवस्था संस्थाले मिलाएका कारण बिना कुनै बाधा अड्चन उनको मानसिक रोगको उपचार हुन थाल्यो । त्यसपछि भने क्षयरोगको पनि उपचार सुरु भयो ।

हाल उनी क्षयरोगबाट भने मुक्त भइसकेकी छिन् । कडाखालको मानसिक रोगका कारण उनले अहिले पनि मानसिक रोगको औषधि भने नियमित रुपमा लिइरहेकी छिन् । समाजमा लुकेर बसेकी कान्छी तामाङको अवस्था पनि सुध्रँदो छैन ।

गरिबी र चिन्ता आक्रान्त कान्छी उमेरले त ४० वर्ष मात्र टेकिन् तर उनलाई देख्दा उनी कम्तीमा पनि ५०÷५५ वर्ष कटिसकेकी जस्ती देखिन्छिन् । १९ वर्षकै उमेरमा उनले विवाह गरेकी थिइन् । धादिङ घर भएकी कान्छीको आर्थिक अवस्था त्यति सबल नभएकाले उनका श्रीमान् बम्बैमा काम गर्न जाने गर्दथे ।

बम्बैमा जाँदाजाँदै कतिबेला एचआइभी÷एड्स सङ्क्रमित भएछन् मेरा श्रीमान् मलाई पनि थाहा छैन, उनले भनिन्–“अकालमा उनी बित्दा कारण पत्ता लाग्न सकेन । सामान्य रुघा, खोकीजस्तो लागिरहन्थ्यो त्यत्तिकै बिते ।”

केही समयपछि म पनि काठमाण्डु छिरेँ यहाँ एकोहोरो खोकी लागिरहँदा खोकीको औषधि खान्थेँ ठीक भएको जस्तो हुने र पछि फेरि उस्तै भएपछि अस्पतालमै गएँ । त्यसपछि मैले थाहा पाएँ मलाई त एड्स पो लागिसकेको रहेछ–उनले भनिन् ।

एड्सपीडितलाई समाजले हेर्ने दृष्टिकोण नकारात्मक भएपछि उनी लगभग अलपत्र झँै भइन् । कतै काम पनि नपाएको अवस्था र रोगले पनि च्याप्दै लगेपछि उनी असहाय बनिन् । यो अवस्थामा उनी मानसिकरुपमा समेत विक्षिप्त बन्न पुगेकी थिइन् । त्यसमाथि उनलाई दम, निमोनियाजस्ता समस्या पनि थपिएपछि उनी दीर्घरोगी बनिन् ।

असहाय लक्ष्मीलाई कसैले गोदावरीस्थित आशा नेपाल संस्थामा पु¥याएपछि भने उनको अवस्थामा सुधार आउन थाल्यो । संस्थाले उनी जस्ता एचआइभी÷एड्स सङ्क्रमितलाई आश्रय दिने गरेको छ । त्यहाँ उनी अहिले पनि सबैजनासँग घुलमिल हुन सकेकी छैनन् । कम बोल्ने, एक्लै बस्न रुचाउने र कतै टोलाएर बसिरहने कान्छीका बारेमा त्यहीँका अन्यलाई समेत जानकारी छैन । हाल संस्थाकै सहयोगमा उनको स्वास्थ्य उपचार भइरहेको छ ।

गरिबीका कारण १७ वर्षीया सीता राई आफ्नो परिवारको जिम्मेवारी केही मात्रामा भए पनि घटाउने उद्देश्यले काठमाडौँमा घरेलु कामदार बन्न आइपुगेकी थिइन् । उनका कुनै सन्तानले पनि विद्यालयको अध्ययन पूरा गर्न पाएका थिएनन् ।

उनले पनि कक्षा ५ भन्दा माथि आफ्नो पढाइलाई लैजान सकिनन् । उनका अरू दिदीबहिनी पनि काठमाडौँ तथा धरानका विभिन्न स्थानमा घरेलु कामदारकै रुपमा कार्यरत रहेकाले उनी पनि घरेलु कामदार बन्न काठमाडौँ आइपुगिन् । करिब एक वर्षसम्म उनी काठमाडौँमा काम गरिसकेपछि धरानमा दिदीसँग काम गर्न थालिन् ।

काम गर्दागर्दै उनमा मानसिक रोग देखा पर्न थाल्यो । चिच्याउने, कराउने, आफ्नो नजिक कोही आउँदा पिट्नेजस्ता व्यवहार देखाउन थालेपछि उनलाई दिदीले सोलुखुम्बु घरमा पु¥याइन् । घरमा पुगेपछि पनि उनको व्यवहारमा परिवर्तन नआएपछि उनलाई घरमा नै डोरीले बाँधेर राख्न थालियो । उनी जो कोही आउँदा पनि पिट्ने गर्थिन् ।

आर्थिक अवस्था अत्यन्त नाजुक रहेकाले पनि उनको उपचार गर्नसक्ने अवस्था थिएन, त्यसैले उनलाई काम गर्न जानुपर्दा आमाबाले घरमा बाँधेर जाने गर्दथे । कसैले काठमाडौँमा रहेको मानसिक रोगीको उपचार गर्ने संस्था आशादीपका बारेमा जानकारी गराएपछि गाउँका सबै मिलेर चन्दा उठाएर उनलाई काठमाडौँ पठाइएको थियो ।

उपचारका क्रममा चिकित्सकले पनि उनलाई बचाउन नसक्ने भने पनि ६ महिनापछि उनको स्वास्थ्य अवस्थामा एक्कासी सुधार आउन थाल्यो । सुध्रँदो अवस्थामा उनले आफूमा मानसिक समस्या आउनुको कारण समेत खोलिन् । घरेलु कामदार रहँदा उनीमाथि यौन हिंसा भएको रहेछ, जसको कारण उनले आफ्नो होस गुुमाउन पुगेकी रहिछिन् । हाल उनी उपचारकै क्रममा छिन् । उनले पहिलाको जस्तो हिंसात्मक व्यवहार भने देखाउन छाडेकी छिन् ।

मानसिक रोगका कारण विशेषगरी महिला घरेलु तथा यौन हिंसामा समेत पर्ने गरेका छन् । आशादीपका कार्यक्रम संयोजक केदार सुवेदीका अनुसार मानसिक रोगी भएकै कारण घरमा राम्रो खान लाउन नदिने, व्यवहार राम्रो नगर्नेजस्ता विभेद हुने गरेका छन् ।

घरेलु हिंसामा पर्ने महिलाको सङ्ख्या करिब पाँच प्रतिशत रहेको छ । मानसिक रोगी छोरी भएको एउटा घटना बताउँदै उनले भने ऊ आफ्नै बाबुबाट यौन हिंसामा परी र बच्चा जन्माउनसमेत बाध्य भइन् ।

उनी भन्छन्–“कडा खालको मानसिक रोगी महिला छ भने घरभित्रकै पुरुष सदस्यबाट यौन हिंसामा पर्ने गरेको पाइएको छ, यो सङ्ख्या पाँच प्रतिशतभन्दा कम छ ।” अहिलेका युवा पुस्तामा यो समस्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

मानसिक रोगसम्बन्धी विज्ञ चिकित्सकको विदेशमा माग धेरै रहेकाले पनि पढिसकेपछि स्वदेशमा भन्दा बढी विदेशमा बसेर सेवा दिने चिकित्सक धेरै रहेकाले पनि मनोचिकित्सकको सङ्ख्या कम रहेको मनोविज्ञ विद्यादेव शर्मा बताउछिन् ।

नेपालमा मनोचिकित्सकको सङ्ख्या ७० रहेको भए पनि ३० जना हाल विदेशमा रहेका छन् । बाँकी रहेका ४० जना मनोचिकित्सकमध्ये पनि पाँच÷छजना सेवानिवृत्त भइसकेका छन् । २०÷२१ जना चिकित्सक काठमाडौँ उपत्यकामा नै रहेर काम गर्ने र १०÷१२ जनाले मात्र बाहिरी जिल्लामा गएर सेवा दिइरहेको अवस्था छ । मानसिक रोगीको सङ्ख्या हेर्ने हो भने कम्तीमा पनि २०० मनोचिकित्सकको आवश्यकता रहेको बताइन्छ । हाल नेपालका अञ्चल अस्पतालमा समेत मनोरोग विशेषज्ञ नरहेको अवस्था छ ।

मनको रोग जसलाई मनोरोग, स्नायुरोग, नसारोग, दिमागको रोग, मस्तिस्क रोग, चिन्ताको रोग भावनात्मक रोग भनी समाजले विभिन्न उपनाम दिएर उपचारमा जटिलता थप्ने गरेको छ । जसलाई यी रोग लाग्दछन् उ, पागल, बौलाहा, सन्काहा हो, यो रोग लागेपछि उपचार नै हुँदैन, पूर्वजन्मको पापको फल हो जस्ता लाञ्छना लाग्ने गरेका कारण सामान्य मनोरोगी पनि उपचारमा जान हिच्किचाउने गरेको कार्यक्रम संयोजक सुवेदी बताउँछन् ।

कडा खालको मानसिक रोग (साइकोसिस) मा विरामीले अनौठो व्यवहार, समाजले पचाउन, स्वीकार्न नसक्ने व्यवहार देखाउँछ । नरम खालको मानसिक रोग (न्युरोसिस ) मा हाम्रो आँखाले देखेर पनि चिन्न नसकिने खालको हुन्छ ।

यस्तो खालको रोग नेपालको कुल जनसङ्ख्याको झन्डै २० प्रतिशतमा रहेको पाइन्छ । डिप्रेसन, टाउको दुख्ने, एन्जाइटी, फोबियालगायत समस्या यसमा देखिन्छन् । त्यस्तै अर्कोखालको मानसिक रोगीमा लागुपदार्थ दुव्र्यसन र जाँडरक्सीको समस्याका कारण विक्षिप्त हुने, छारेरोग, सुस्तमनस्थिति आदि पर्दछन् ।

वंशानुगत, न्युरो ट्रान्समिटरको गडबडी, डोपामिन, सेरोटोरीनजस्ता तत्वको कमी अथवा बढी भएमा, बाल्यकालमा आमाबुबाबाट टाढा रहेका वा आमा बाबुबीचको नियमित झगडाले आक्रान्त परिवारमा हुर्केका बालबालिकामा मनोरोग हुनसक्ने गत वर्ष मानसिक अस्पताल तथा मेरिनोल संस्थाले गरेको अध्ययनबाट देखिन्छ ।

पहिलाभन्दा फरक व्यवहार सुरु गरेमा, असामान्यरुपमा एक्लै बोल्ने, हाँस्ने, टोलाउने, आत्तिने, डराउने, घरबाट भाग्ने, मर्छुभन्ने, चिन्ता गर्ने गरेमा मनोरोग भएको शङ्का गर्नुपर्ने हुन्छ ।

उपचारका लागि स्वास्थ्य संस्थामा जानेमध्ये करिब ३० प्रतिशत बिरामी मानसिक रोगी हुने गरेको चिकित्सकहरुको दाबी छ । नेपालमा हरेक चारमध्ये एकजना कुनै न कुनै मानसिक रोगले ग्रस्त छन् ।

जनसङ्ख्याको २५ प्रतिशत अर्थात् झन्डै ८० लाख नेपाली यसबाट प्रभावित भएको आशादीप संस्थाले जनाएको छ । यसरी मनोरोगबाट पीडित हुनेमा ६६ प्रतिशतभन्दा बढी अति गरिब परिवारका छन् । गरिबीका कारण सामाजिक, आर्थिक तथा आपसीसम्बन्धमा फाटो आउँदा मानसिक रोगबाट पीडित हुने गरेको पाइएको छ ।

अधिकांश मानसिक रोगीलाई आफू मानसिक रोगबाट पीडित छु भन्ने कुराको जानकारी नै नहुने हुँदा अर्कै खालका शारीरिक समस्या देखाउँछन् ।

समयमा नै उपचार पाउने र नियमित औषधिको प्रयोग गर्ने हो भने मानसिक रोग निको हुन्छ । सामान्य खालका मानसिक रोग कतिपय अवस्थामा उचित परामर्श मात्रले पनि निको हुने गरेका कारण यसबारेमा विभिन्न जनचेतनात्मक कार्यक्रम सञ्चालन गरी जनमानसमा जानकारी दिनुपर्ने आजको आवश्यकता हो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us