चरी मार्न नहुने भए ‘के डनका नाममा चाहिं मान्छे मार्न पाइन्छ त कमरेड ?’

काठमाण्डु टुडे २०७१ साउन ३१ गते १६:४५ मा प्रकाशित

ramkumari jhakriजताततै डनको साम्राज्य
गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ प्रहरी कारबाहीमा मारिएपछि त्यसबारे धेरैथरि चर्चा, टिकाटिप्पणी, बहस र विवाद भएका छन् ।
यो कुुरा प्रष्ट छ कि चरी अपराधिक पृष्ठभूमिका मानिस थिए । एउटा अपराधीलाई कसरी एमालेमा प्रवेश गराइयो र पार्टीको क्षेत्रीय कमिटी उपाध्यक्षसम्म बनाइयो ? मैले यो प्रश्न उतिबेलै पार्टीमा गरेको थिएँ । अर्का डन रमेश बाहुनलाई पनि रामेछापको जिल्ला कमिटी सदस्य बनाइएको थियो । योपछि मैले अरुण नेपालसहित केही नेपालाई सोधेकी थिएँ कि हामीले एमालेलाई कस्तो बनाउन खोजेका हौं ?
समाजमा तथाकथित डनहरुको साम्राज्य नै चलेको छ । डनका नाममा भइरहेका चन्दा आतंक, अवैध हप्ता असुली, हत्या, तस्करी, लुटपाटजस्ता गतिविधिले समाज आक्रान्त छ । तर मुलुककै लागि राजनीति गर्छु र समाजमा सुधार ल्याउँछु भन्ने राजनीतिक दल र तिनका नेताले डनहरुको राजनीतिक संरक्षण गरेका छन् ।
नेताहरु नै डनका व्यवसायिक साझेदार
नेताहरुले डनका व्यवसायमा लगानी गरिदिने, डनहरुले गरेका लगानीको संरक्षण गरिदिने र कतैकतै त डनहरुसँगको साझेदारीमा व्यापार–व्यवसाय नै सञ्चालन गरेको समेत भेटिएको छ । हाईड्रो पावर, हाउजिङ, रेष्टुरेण्टजस्ता क्षेत्रमा डन र नेताको संयुक्त लगानी छ । नेपालका क्यासिनो अहिले बन्छ छन् । क्यासिनो बन्द हुँदा त्यहाँ कार्यरत ८ हजारभन्दा बढी मजदुरको रोजीरोटी खोसिएको छ । सतहमा हेर्दा सञ्चालकहरुले राज्यलाई कर नतिरेका कारण क्यासिनो बन्द भएजस्तो देखिन्छ ।

व्यवसाय गरेपछि राज्यलाई कर तिर्नैपर्छ, यसमा व्यवसायीले डकैती गरेकै छन् । तर डनका नाममा क्यासिनोबाट डकैती शैलीमा हप्ता असुली गरेका कारण क्यासिनो बन्द भएर मजदुरको पेट भोकै भएको कुरामा कसैको ध्यान गएको छ ? क्यासिनोहरुले मदजुरको पेट मारेर गुण्डा पालेका छन् । हिजो पनि समाजमा त्यस्ता पृष्ठभूमिका मानिस थिए । तर त्यस्ता मान्छे हिजो दरबार र प्रहरी प्रशासनको संरक्षणमा हुन्थे भने अहिले राजनीतिक संरक्षणमा छन् ।
कुन क्षेत्र डनको आतंकबाट मुक्त छ ?
समाजको कुन क्षेत्र वा मानिस डनको प्रताडनाबाट मुक्त होलान् ? क्यासिनो, डिस्पो, डान्सबार, बालुवा खानी, क्रसर उद्योग जे सुकैमा डनहरुको हालीमुहाली छ । सार्वजनिक ठाउँमा भाडामा लगाउने सटरहरुमा पनि डनहरुको लुटपाट छ । देशको राजधानीमा यी सबै गतिविधि प्रहरी र सरकारको जानकारीबिना हुनै सक्तैन । तर कारबाही किन हुँदैन त ? किनभने त्यस्ता गतिविधि गर्नेहरुलाई नेताको संरक्षण छ । त्यसमा पनि ठूला पार्टीका ठूला नेताको । एकजना दुईजना मात्र होइन, ठूला भनिएका तमाम नेता त्यस्ता छन्, जो आफू शक्तिमा रहन डनको साहरा लिइरहेका छन् ।
आजको २१ औं शताब्दीमा हामी कस्तो राजनीति गरिरका छौं र के का निम्ति राजनीति गरिरहेका छौं, त्यो सोच्नुपर्दैन ? हामीले समाजलाई कता लैजाँदै छौं भन्ने कुराले मुलुकको धेरै वर्षपछिको भविष्य निर्धारण गर्दछ । तर के हामी डनवादलाई संरक्षण गरेर, डनहरुकै बैशाखीको साहरामा राजनीतिमा सफल हुन, समाजलाई सही बाटोमा डोर्‍याउन र मुलुकमा शान्ति, अमनचयन, विकास र समृद्धि ल्याउन सक्छौं ? मलाई यस्ता कुराले आजभोलि धेरै नै गम्भीर बनाउने गरेको छ । राजनीतिमा लागेको युवा पुस्ताबाट समाजले ठूलो अपेक्षा गरेको छ । राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण भइरहेका बेला हामीजस्ता राजनीतिमा भविष्य खोजिरहेका युवाले नबोले कसले बोल्ने ? पूरानो ‘छाला’ जोगाएर बसेर मात्र राजनीति अब चल्दैन । राजाका ज्ञानेन्द्रका अगाडि कति सेना र प्रहरी थिए । तर हामी नारायणहिटी दरबारको नाकैमा रहेको घण्टाघर अगाडि ज्ञानेन्द्र र पारसविरुद्ध नारा लगाएर हिंडेका हौं । त्यसैको बलमा आजको राजनीतिक परिवर्तन सम्भव भएको हो । अब हामी के डनहरुको पछिपछि हिंडेर राजनीतिक परिवर्तन संस्थागत गर्न सकौंला त ?
चुनाव जित्न डन चाहिने, कतै जाँदा अगाडि र पछाडि डनको स्कर्टिङ हुनुपर्ने, सार्वजनिक कार्यक्रमममा वरिपरि डनहरुको बाक्लो उपस्थिति देखाउनुपर्ने यस्तो प्रवृत्तिले हामीलाई कता लैजाला ? हाम्रो राजनीति त्यस्तो डरलाग्दो बाटोमा गएकामा पार्टीभित्र म मात्र होइन धेरै  नेता कार्यकर्ता चिन्तित छौं । अझै पनि माथिल्ला पोष्टमा बसेका नेताले डन प्रवृत्तिको विरोध गरेको सुनिएको छैन । बरु समर्थनमा सडकदेखि, सदन र पार्टी कार्यालयसम्म हंगामा मच्चाएको देखियो ।
राजनीतिलाई अपराधीकरणबाट जोगाउनुपर्छ
राजनीतिलाई अपराधीकरणबाट जोगाउन र अपराधीकरणलाई राजनीतिबाट मुक्त गर्न जरुरी छ । हाम्रो पार्टीमा मात्र होइन । अरु पार्टीमा पनि अपराधीलाई राजनीतिक संरक्षण गर्ने रोग छ । केही समयअघि काँग्रेस सम्वद्ध नेविसंघको नाममा गुण्डागर्दी गर्ने एउटा समूह राजधानीबाटै हतियारसहित समातियो । सडकमा विद्यार्थी संगठनको झण्डा बोकेर जुलुस निकालियो । सभासदसमेत रहेका नेविसंघका अध्यक्ष रञ्जित कर्णले उनीहरुलाई छोड्नुपर्‍यो भनेर संसदमा बबाल गरे । म अक्सर सामाजिक सञ्जालहरु हेर्छु । मानिसहरुमा राजनीतिको खोलमा भइरहका तममा विक्रितिविरुद्ध आक्रोश छ । राजनीतिमा रहेका युवाहरुबाट गरेको आशा पनि पूरा भएन, युवा पनि उस्तै भन्ने भावना पोखिएको देख्छु । फलानो युवाले राजनीतिलाई दूषित बनायो, फलानो युवा त्यसबाट चाखो छ र उसले सुधार्ने कोसिस गरिरहेको छ भन्ने त्यहाँ देखिंदैन । ‘थुइक्क’ युवा भन्ने मात्र देखिन्छ । व्यक्तिगत रुपमा म त्यसबाट धेरै दु:खी छु । युवापुस्ता जो हिजोका दिनमा परिवर्तनको आन्दोलनमा सहभागी भए । उनीहरुले रानजीतिमा ठाउँ पाउुनपर्ने आवाज उठिरहेको छ । हामीले पनि त्यस्तै गलत बाटो समातेर राजनीतिमा ‘स्पेश’ बनाउन खोज्ने हो भने मानिसहरुले राजनीतिप्रति कस्तो धारणा बनाउने ? अपराध हपराधै हो र राजनीति राजनीति नै हो । सिद्धान्तको कुरा गर्ने हो भने राजनीति र अपराधबीच कुनै साइनो हुँदैन । तर यहाँ त राजनीति र अपराधलाई नङ र मासुजस्तै बनाउन खोजिंदैछ ।  अपराधमा संलग्नलाई कुनै पनि पार्टीले भित्र्याउनु हुँदैन । यो मेरो सबै पार्टीलाई सुझाव छ ।
डनको आडमा राजनीति गर्ने सपना नदेख
सम्पत्ति शुद्धीकरणको मुद्धा खेपिरहेका, गुण्डागर्दी र हप्ता असुलीबाट अकुत सम्पत्ति कमाएका मानिसहरु हाम्रो महाधिवेशनमा प्रतिनिधि भएर आए । त्यस्ता मानिसहरुले हामीलाई राजनीतिको कखरा सिकाउँदै हिंडेको कसरी देख्न सकिन्छ ? यसको विकल्प भनेको कि हामी राजनीति छाडेर  दुला पस्नुपर्‍यो, कि त त्यस्तो प्रवृत्तिविरुद्ध उभिन सक्नुपर्‍यो । हामी समाज सुधारमा थोरै भए पनि भूमिका खेलौं भनेर राजनीतिक आन्दोलनबाट आएकाहरु यस्ता मुद्धामा कमजोर भएर पछि हट्नेवाला छैनौं । जसले डन पालेर राजनीति गरिरहेको छ, ती दलका मान्छेका आँखा खुल्न जरुरी छ । अब त्यस्ता डन भित्र्याएर उसैको आडमा राजनीति गर्छु भन्ने सपना नदेखे हुन्छ । त्यस्ता नेताको यहाँ भविष्य छैन । राजनीतिक संक्रमण भएका बेलामा समाजमा त्यस्ता अपराधले मौलाउने मौका पाएका हुन् । अब अपराधिक गतिविधिलाई सबैले प्रश्न गर्छ । मानिसहरु धेरै सचेत भइसेकका छन् । बाहुबलका अगाडि डराउने जमाना अब छैन । चरी प्रहरी कारबाहीमा मारिएको सुरुका केही दिन नेताहरुको व्यवहारले डनहरुको मनोबल बढेको जस्तो लागेको थियो । सबैलाई यस्तै लागेको थियो होला । तर जनस्तरमा व्यापक विरोध देखिएपछि विस्तारै त्यो कम हुँदै गएको छ । एमालेमा सबै डनका संरक्षक मात्र छैनन् । हामी पनि छौं । म पनि महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएर आएकी हुँ । यस्ता गलत कुराको विरुद्ध पहिेल पनि जुधेकै हो, र अब पनि जुध्ने छु ।

संसदीय छानबिन हुन सक्दैन
चरी मर्‍यो वा मारियो यो विवादको विषय हुन सक्ला । तर सत्य कुरा के हो भने अपराधिक पृष्ठभूमिको मानिस भएकाले उसको पक्षमा भन्दा विपक्षमै जनमत छ । मारिएको विषयमा छानबिन होस् भन्ने चाहना राख्ने पक्षलाई सरकारले जवाफ दिनुपर्छ । तर एउटा समाजको काँडाको रुपमा रहेको गुण्डा नाइके मारिएको विषयमा न्यायिक छानबिन वा संसदीय छानबिन समिति बनाउन पाइँदैन । यो बकवास कुरा हो । सरकारले छानबिन गर्नुपर्छ । संसदको बैठकमै कतिपय सभासदले संसदीय छानबिनको माग गरेको देखियो । जनतालाई सुशासनसहितको संविधान दिन्छु भनेर बाचा गरेर आएको सभासदले गुण्डा नाइकेको पाक्षमा संसदमा हंगामा गर्न सुहाउँछ ? नेकपा एमालेको कार्यकर्ता हुनुको नाताले यो देखेर मलाई लज्जाबोध भयो ।
के डनले मान्छे मार्न पाउँछ ?
हामी समाज बदल्ने, समाज सुधार्ने, समाजमा सुशासन कायम गर्ने भनेर राजनीतिमा लागेका हौं । म लागेको पार्टी र मेरो नेताले खुलेआम डन प्रवृत्तिको संरक्षण गर्दा के मेरो सपना मर्दैन ? मजस्ता धेरै नेकपा एमालेका कार्यकर्ताको यसरी सपना मार्ने काम नहोस् । तपाईंलाई जिताउन अपराधीले पनि भोट हालेको कुरा स्वीकार गर्न सकिएला । आफूले जित्दैमा डनको पक्षमा उभिनेले कहिल्यै सोच्नु भएको छ, कि डनबाट समाजले कति प्रताडना पाएका छन् ? त्यसको जवाफदेही को हुने ? तपाईं संसदमा भन्नुहुन्छ, के प्रहरीले बर्दी लगाएर मान्छे मार्न पाइन्छ ? त्यसो भए म तपाईंलाई सोध्छु के एउटा नागरिकले हतियार बोकेर समाजमा आतंक मच्चाउन पाउँछ ? प्रहरीले मार्न नपाउने भए के डनले चाहिं मान्छे मार्न पाउँछ ?  नेपालको कानुनले कुनै नागरिकलाई हतियार बोकेर लुटपाट गर्न, हत्या, डकैती, हप्ता असुली र अवैध चन्दा उठाउने छुट दिएको छ ? आफूले दु:ख गरेर सर्वसाधारणले घर बनाउँदा, बालुवा खानी सञ्चालन गर्दा, व्यापार–व्यवसाय गर्दा डनको पूर्वस्वीकृति लिनुपर्ने अधिकारी उसलाई कसले दियो ?
डनका सम्पत्ति राष्ट्रिकरण गरिनुपर्छ
मुलुकमा हिजो राणाहरुको रामराज्य चलेको थियो । उनीहरुलाई जनताले आन्दोलको बलमा घुँडा टेकाए । राणाहरुले त्यतिबेला बनाएका घरम आज सिंहदरबारसहित मुख्यमुख्य सरकारी कार्यालय छन् । राजतन्त्र गयो, वीरेन्द्र र उनका परिवारका नाममा रहेको सम्पत्ति ट्रष्टमा बदलिएको छ । डनहरुले पनि अवैधानिक रुपमा अकुत सम्पत्ति थुपारेका छन् । चरीसहित जिउँदा रहेका जति पनि डनहरु छन्, ती सबैको  सम्पत्ति सरकारले जफत गरेर राष्ट्रियकरण गरिनुपर्छ । आज देशका विकट गाउँहरुमा जीवनजल खान नपाएर मानिसहरुको ज्यान गइरहेको छ । यस्ता ठाउँहरु छन्, जहाँका बालबालिकाले स्कुलको मुख देख्ना पाएका छैनन् । ती ठाउँहरुमा विद्यालय खोल्नुपर्छ । नेपालको अन्तरिम संविधानले हरेक नागरिकको सम्पत्तिको अधिकार सुरक्षित गरेको छ । तर श्रोत नखुलेको अवैध सम्पत्ति व्यक्तिले राख्न पाउँदैन ।

बाँकी डनहरुलाई सुझाव
म सुन्छु चरी प्रकरणपछि अहिले बाँकी डनहरुको भागाभाग चलेको छ रे । राज्यले आफ्नो उपस्थिति जनाउन थाल्यो भने एउटा व्यक्तिले राज्यउसँग लड्नै सक्दैन । मेरो सुझाव के छ भने अरु त्यस्ता प्रवृत्तिमा लागेका मान्छेहरु विगतप्रति पश्चाताप गरेर, अगाडिका धन्धाहरु छाडेर सुर्धनुपर्छ । पष्ठभूमि राम्रो नभएकाहरु हाम्रै पार्टीमा पनि छन् । उनीहरुलाई म भन्छु कि सार्वनकि जीवनमा नयाँ छवि बनाउनुस् । यो धन्दाको अब कसैले संरक्षण गर्ला र म बाँचुला भन्ने नसोचे हुन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us