अर्पणकी आमा भन्छिन्, ‘खुश्बुले गर्दा सडकमा बास भो’

काठमाण्डु टुडे २०७१ भदौ ४ गते ८:४२ मा प्रकाशित

आज (सोमबार) व्रत लिएकी छु, झुटो बोल्दिनँ । म एउटी स्वास्नीमान्छे, आमा पनि हुँ । अधर्म बोल्दिनँ, भगवान्को कसम खाएर बोल्छु । छोरालाई भन्दा धेरै विश्वास गर्थेँ म खुश्बुलाई । बारम्बार तिमीहरूले हामीलाई बर्बाद गरौला, पैसा जति सबै सकिसक्यो, हामीसँग अब केही छैन भनेर सम्झाउँथेँ । ‘ममी त्यस्तो केही हुँदैन, यी दुइटा घर हामी बचाउँछौँ, पिर नमान्नुहोला’ भनेर खुश्बुले मलाई बारम्बार भनेकी छिन् ।

मैले एमए पास गरेकी छु । मेरो बुबा संस्कृतका विद्वान् न्यायाधीश, ससुरा (धरणीधर कोइराला) त्यत्रा साहित्यकार । मैले राम्रो संस्कार पाएकी छु । उनलाई पनि थाहा छ, दुई वर्षदेखि हामी कुन अवस्थामा छौ । म कहाँको मान्छे कहाँ पुगेँ, यो सबैलाई थाहा छ । म कस्ताकी छोरी, कस्ताकी बुहारी हुँ, आफू स्वयं म कस्ती हुँ । हामी त सहिद परिवारका हौँ । परिवारबाट यत्रो माया पाएका उनीहरू छुट्टिएलान् भनेर कसरी कल्पना गर्न सक्थ्यौँ र ?

ऊ पढेकी छे, ट्यालेन्ट छे भनेर विश्वास गर्थेँ । दुईजना नै आएर पैसा माग्थे, उसले मात्र मसँग मागेकी छैन । उनीहरू भन्थे, ‘हामी लन्डन जाने, आउने, बस्ने ।’ म अर्पणलाई टर्चर होला भनेर केही बोल्दिनथेँ । धेरै मैले सहेर बसेँ । झुन्डिएर मर्न कतिचोटि पासो लिएर हिँडेँ, तर मर्न सकिनँ । आज आफैं सबै भण्डाफोर भयो ।

अरू सबै कुरा त सक्किएकै हो, मात्र सिन्दुरपोते मेरो छोराले हालेन । मैले छोराको बाजा बजाएर बिहे गराउन पाइनँ । अरू कुरा बाँकी रहेन । गहना दिएर बाजा बजाएर मैले भित्र्याउन पाइनँ । मेरो अन्तरआत्माले बुहारी भनेको थियो, समाजमा बुहारी भनेर चाहिँ देखाउन पाएकी थिइनँ । बिहे गर भन्दा अहिले होइन भनेर टार्थे ।
नारायणथानको कोठामा बस्दादेखि फोटो कहाँ राख्नेसम्म दुवैजना मिलेर गरेका छन् । भोलि बिहे गरेर बस्ने हिसाबले कोठा सजाएका थिए उनीहरूले । बीचमा कहाँ आएर उनीहरूको कुरा बिग्रियो, त्यो कुरा हामीलाई थाहा हुँदो रहेनछ ।

अहिले खुश्बुले खर्च गरेको प्रमाण खोजेकी छिन् रे । सम्बन्ध यसरी बिग्रेला भन्ने सोच्दै सोचिनँ । प्रमाण राख्नुपर्ने भए म पैसा दिँदै दिन्नथेँ । म लन्डन नै पठाउँदिनथेँ । यो चार वर्षको बीचमा राष्ट्र बैंकबाट मलाई कति पैसा आए, मेरा कति जग्गा बिक्री भए, ऋण कति छ ? उस्तै मान्छे भएको भए आत्महत्या गरिसक्थे । मैले राष्ट्र बैंकमा पैसा, सुन देखेकी भएर सहन सकेँ आज । मेरो ठाउँमा अर्की आइमाई हुँदी हो त ऊ पहिल्यै मरिसक्थी वा बहुलाएर हिँड्थी । सुनका ढुकुटी मैले कति देखेँ, पैसा मैले कति देखेँ । मैले साँचो कार्य गरेकी छु भनेर धैर्य गर्न सके ।

सम्पत्ति दुईजना भएर सकेका हुन्, एउटालाई मात्र म दोष दिन्नँ । अर्पणलाई मात्र थोपर्नचाहिँ पाइँदैन । यिनीहरूले मलाई सडकसम्म ल्याइदिए । खुश्बुले छोड्छे भन्ने थाहा भएको भए, सबै खर्चको प्रमाण राख्थेँ । लन्डनमा हुँदा मेरा बहिनीका छोराहरू भन्थे, ‘राजाको खान्की गरेर बसेका छन् दिदी ।’ आज अक्सफोर्डमा नाम निस्कियो भनेर उनीहरूको घरमा पार्टी हुन्थ्यो । अक्सफोर्डमा नाम निस्कियो भनेर अर्पणले पहिले मलाई फोन गर्‍यो । पार्टी गरेर कति पैसा सके कति † यसको मैले के प्रमाण दिनु ? अब प्रमाण दिए उनीहरूले मलाई घरै दिन्छन् रे ?

दुम्जाको जग्गा २०/२५ लाखमा बेचियो । फर्पिङको घर ५०/६० लाखमा धरौटी राखियो । सहकारीलाई अहिले ब्याज तिर्न सकेको छैन । घर लिलाममा गइरहेछ, आज लिलाममा निकाल्छ कि भोलि निकाल्छ । म अहिले बाहिर छु, त्यहाँ सम्पर्क गर्न सकिरहेकी छैन । राष्ट्र बैंकको जागिर छाड्दा आएको ४० लाख सबै सकियो । बीचमा आएको १६/१७ लाख पनि सकियो । मेरा दाजुभाइले मलाई कति ऋण दिए होलान् ? १० वर्षको पेन्सन लिइसकेँ, अहिले मेरो पेन्सन पनि आउँदैन । मेरो एक रूपैयाँ कहीँ छैन, अहिले मेरा दाजुहरूले पालेका छन् ।

यिनीहरूलाई नै विश्वास गरेँ, एउटालाई मात्र भन्दिनँ । हिँड्ने वेला ममी भनेर अँगालो मारेकी थिइन् । मेरा छोरी र दिदीका छोरीहरूले हिँड्ने वेलामा औँठी दिएर मुख हेरेका थिए । बुहारी भन्थे सबैले । तर मैले त्यो शब्द अहिले नभन्नू, बिहे गरौँ अनि मात्रै समाजलाई देखाउँ भन्थेँ ।

पढाइ सकिएको छैन, काम गर्नु छ, समाजसेवा गर्नु छ भन्थे । गाडी चढेर हिँड्थे, महँगा लुगा लगाएर हिँड्थे । मलाई के थाहा, यसो गरिरहेका छन् भन्ने । लन्डनबाट ओहोर–दोहोर गर्थे । अक्सफोर्डमा कति खर्च लाग्छ होला ? त्यो सबै मेरो छोराले खर्च गर्‍यो म भन्दिनँ, खुश्बुका बुबाको पनि खर्च भएको छ । तर, मचाहिँ चुर्लुम्मै डुबेकी छु ।

अहिले सबै अर्पणलाई मात्र दोष दिएकी छिन् खुश्बुले । त्यतिभन्दा पनि हामी चुप लागेर बसेका थियौँ । हुँदाहुँदा अर्पणलाई मान्छे मारेको अभियोगसम्म लगाइन् खुश्बुले । हजारौँ प्रहरीले १० महिनासम्म नभेटेको मान्छेलाई एउटा व्यक्तिले मार्न सक्छ ? त्यही पनि डनजस्तो मान्छेलाई ?

पहिले मेरो छोराविना एक मिनेट पनि बस्न सक्दिनथिन् । अर्पण उसैकहाँ गएर बस्नुपथ्र्यो । आज यतै बस न त भन्दा होइन मम्मी, आज पार्टी छ, फलानो ठाउँ जानु छ भनेर हिँड्थे । जहाँ बसे पनि दुईजना खुसी छन् भने आमालाई त त्यही रमाइलो नि चित्त बुझाउँथेँ ।

पोहोर जेठमा हो, खुश्बुका बुबाको फोननम्बर पत्ता लगाएर छोरा र श्रीमान्लाई थाहै नदिई कन्ट्याक्ट गरेँ । दुईजनाकै प्यारेन्ट्स बसेर कुरा गरौँ, यिनीहरू के गर्दै छन्, सम्पत्ति सबै सकिसक्यो, बिहे गर्नुपर्‍यो भनेँ । उहाँ त छोरीको बुबा, झन् तात्तिनुपर्ने, तर ‘किन हजुर, किन हजुर’ मात्रै भन्नुभयो । मैले ‘हाम्रा छोराछोरीलाई नलिई हामी मात्रै भेटौँ न । गार्जेनले गर्नुपर्ने भूमिकाबारे सल्लाह गरौँ । म पनि मेरा सबै कुरा राख्छु, तपाईंको पनि राख्नुहोस्’ भनेँ ।

यिनीहरू छुट्टिन्छन् कि भन्ने डरले समाधानको बाटो निस्केला भनेर मैले उहाँलाई भेट्न खोजेकी थिएँ । छोराछोरीले काम बिगार्छन् कि, यत्रो वर्ष बितिसक्यो खालि खेलेर हिँडेका छन्, डुलेर हिँडेका छन्, मस्ती गरेका छन्, बिहे त गर्नुपर्‍यो नि, बन्धनमा बाँधिनुपर्‍यो नि भनेर उहाँसँग सल्लाह गर्न खोजेकी थिएँ । उहाँले भन्नुपर्ने कुरा मैले भनेकी थिएँ ।

मैले मेरो सम्पत्ति यति सकियो, हजुरको कति ? हजुरको स्थिति के छ, मेरो के छ ? भनेर भेट्न खोज्दा उहाँले मलाई टाइम दिनुभएन । उल्टै अर्पण र खुश्बुलाई भन्नुभएछ । मलाई गाली गरे दुइटैले । मेरो ड्याडीलाई किन भेट्ने ? मैले सबै कुरा भनेकी छैन ड्याडीलाई भनेर खुश्बुले भनिन् । किन ? मैले तिम्रो ड्याडीसँग भेट्न हुँदैन र भनेँ । यो सब भएको हो कि होइन भनेर खुश्बुको बुबालाई सोध्दा पनि हुन्छ ।

अब हाम्रो आर्थिक हैसियत के हो, खातामा कति पैसा छ भनेर कसरी देखाउने ? बैंकमा पैसा राख्न दिएको भए पो रेकर्ड देखाउनु ? कति धेरै बैंकमा मेरा खाता छन् तर अहिले कुनै पनि बैंकमा पैसा छैन । बैंकबाट रिटायर्ड हुँदा आएको पैसामध्ये ३० लाखमा बालकोटमा जग्गा किनेकी थिएँ । १० लाख रूपैयाँ माछापुच्छ्रे बैंकको मुद्दती खातामा राखेकी थिएँ । अहिले त मेरो एउटा पनि गहना छैन । पञ्चरत्नसमेत छैन । छोरीका गहना पनि छैनन् । दुई करोडभन्दा बढी ऋण छ । सबै उनीहरूले नै सके । मैले कसरी काठमाडौं आएर मुख देखाउने ? तर भागेकी चाहिँ होइन है ।

फर्पिङमा लडेकी थिएँ, त्यसैको ट्रिटमेन्ट भइरहेको छ । हस्पिटलमा स्लाइन चढाएर नै बस्नुपर्‍यो, बुबाको पनि कृत्रिम हिप हालेको छ, त्यसको उपचार भइरहेछ । संजोग, हामी यता आउनु, उता चरीको हत्या भएछ । ९६ वर्षकी मेरी आमा हुनुहुन्छ, म कसरी उहाँलाई छाडेर बस्न सक्छु ? मेरा साथीभाइ, इष्टमित्र पनि त सबै त्यतै त छन् ।

गएको असार–साउनतिर खुश्बुले नारायणथानमै हुँदा यो (अर्पण) सँग म बिहे गर्दिनँ भनिन् । त्यसपछि अर्पण दिनभरि, रातभरि नै रुन्थ्यो । सुत्दैनथ्यो रातभरि । के कुराले तिमीहरू यसरी छुट्टियौ भनेर सोध्दा पटक्कै भन्दैनथ्यो । खुश्बुले तेरो छोरो यस्तो–उस्तो भनेर हजार आरोप लाउँछिन् । मेरो छोराले अहिले मिडियामा बोल्यो होला, तर मसँग खुश्बु यस्ती पनि भनेको छैन ।

अर्पणले मलाई सान्दिदी भन्छ । ‘छाडिदिनुस् सान्दिदी, बिहे गरेर पनि मान्छेहरू छुट्टिन्छन्, हामीले त झन् बिहे गरेकै छैन । पछि छुट्टिनुभन्दा अहिले नै छुट्टियौँ, के भो त ?’ भनेर अर्पणले मेरो मन बुझाउन खोज्थ्यो । तर, ऊ यति रुन्थ्यो, रातभरि सुत्दैनथ्यो । खुश्बुले यसो गरी भनेर मलाई आजसम्म भनेको छैन ।

मैले एकपटक रुँदै खुश्बुलाई फोन गरेँ । खुश्बुले बुबालाई सुनाइछ । खुश्बुका बुबाले अर्पणलाई फोन गरेर ‘किन मेरी छोरीको घरिघरि चित्त दुखाइराख्छौ, तिम्रा ममी/ड्याडीलाई मेरी छोरीलाई फोन नगर्नू भनिदिनु’ भनेछन् । त्यसपछि हामीले फोन गर्न बन्द गर्‍यौँ । तर, मलाई खुश्बुको अझै माया लाग्छ । अस्ति भर्खर पनि अर्पण भन्दै थियो, ‘मैले पैसा कमाउन सकेँ भने अंकल/आन्टी (खुश्वुका बाबुआमा) लाई पनि दिन्छु, हामीले मस्ती गर्दा उहाँहरूको पनि नोक्सान भएको छ ।’ आफ्नो चाहिँ तिर र सक्छस् भने उताको पनि तिर भनिदिएँ मैले । अहिले पनि त्यति माया गर्छ, अंकल/आन्टीलाई ।

हाम्रो सम्पत्ति सबै सकिएपछि उनले अर्पणलाई छाडिन् । कागताली परेको हो वा उनले सम्पत्ति सकिएपछि छाडेकी हुन्, त्यो उनैलाई थाहा होला । अहिले पनि खुश्बुको फोटो हेर्नै सक्दिनँ, देख्यो कि रुन मन लाग्छ । सात/आठ वर्षसम्म एउटै परिवार भएर एउटै कोठामा बसेका छोराछोरी छुट्टिँदा बाबुआमालाई दु:ख लाग्छ कि लाग्दैन ?

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us