यो अनसन, त्यो अनसन

काठमाण्डु टुडे २०७१ भदौ ११ गते ५:२४ मा प्रकाशित

भद्रकाली मन्दिर र वीर अस्पतालबीचको दूरी जम्माजम्मी एक मिलोमिटर होला । दुवै ठाउँमा आफ्ना सन्तान मारिएको बिरहमा मृतकका nanda prasadबाबुआमा आमरण अनसनमा छन् । दुवैथरिको माग एउटै छ, आफ्ना सन्तानका हत्यारामाथि कारबाही होस् । सन्तान सन्तान नै हो । अरुका लागि जतिसुकै कुलङगार किन नहोस्, बाबुआमाका लागि आफ्नो सन्तान प्यारै हुन्छ । र त सन्तानले संसार छाडे पनि सन्तानको सम्झनामा बाबुआमा तड्पिन्छन् । अझ कालगतिले नभई कसैले हत्या गरेको छ भने त बाबुआमाले त्यो घाउ कहिल्यै बिर्सन सक्दैनन् । पटकपटक घाउ बल्झिन्छ, दुख्छ र चहर्‍याई रहन्छ । कुनै विज्ञ–विशेषज्ञ चिकित्सकको औषधिले त्यस्तो घाउको दुखाई घटाउन सक्दैन । यो भयो बाबुआमाका हकमा आफ्ना सन्तानको मृत्युको कुरा । तर के समाजले सबै मानिसको मृत्युलाई बराबर ठान्छ वा ठान्न सक्छ ? पक्कै त्यस्तो हुन सक्दैन ।
माथि भनिए झैं भद्रकालीमा एउटा अनशन छ र अर्को अनशन छ वीर अस्पतालमा ।
गोरखा फुजेलका नन्दप्रसाद अधिकारी र गंगामाय अधिकारी छोरा कृष्णप्रसादका अत्यारामाथि कारबाहीको माग गर्दै वीर अस्पलातमा महिनौंदेखि अनशनमा छन् । २०६१ जेठ १४ गते चितवनको जयमंगलामा कृष्णको तत्कालिन सशस्त्र विद्रोही माओवादी कार्यकर्ताबाट हत्या भएको थियो । उनीहरुले हत्यामा संलग्नमाथि कारबाहीको माग गरेका छन् ।
कुनै यस्तो दिन नहोस् कि अधिकारी दम्पत्तिको अनशनका बारेमा टिभी, पत्रपत्रिका, रेडियो र अनलाइन माध्यममा समाचार नआएको ।

 ansanत्यस्तै माग राखेर अनशनमा बसेका नुवाकोट बेलकोटमा पञ्वीर तामाङ र उनकी श्रीमती साईंली मायाका बारेमा कसैले सुनेका छैनन् । कुनै सञ्चार माध्यमको आँखामा उनीहरुको अनशन परेको पनि छैन । मानौ कि उनीहरुलाई कुनै पीडा होइन, फगत वर्षातको समयमा मन्दिरमा पाल टाँगेर ओभानो ठाउँमा बसेका छन् । किनकी अधिकारी दम्पत्तिको पछाडिजस्तो तामाङ दम्पत्तिका पछाडि कुनै डलरवादी एनजिओ छैनन, मिडिया छैनन् र पावर छैन ।
तामाङ दम्पत्तिले छोरी सुशीलाको बलात्कारपछि हत्या भएकाले हत्यारमाथि कारबाही हुनुपर्ने माग राखेर गत जेठ ३१ गतेबाट अनशन थालेका हुन् । काठमाण्डु कोटेश्वरका विजयमान श्रेष्ठको घरमा घरेलु कामदारका रुपमा बसेकी सुशीलाको २०७० साल माघ २६ गते हत्या रहस्यमय मृत्यु भएको थियो, श्रेष्ठकै घरमा । तामाङ परिवारले सुशीलाको मृत्यु नियोजित भएकाले छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाहीको माग गरेको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा श्रेष्ठसहित केहीलाई पक्राउ गर्‍यो । तर आवश्यक प्रमाण नपुगेको भन्दै छाडिदियो । श्रेष्ठ पहुँचका आधारमा कानुनी कारबाहीबाट बच्दै आएको पीडितको गुनासो छ । बलात्कारपछि हत्या गरेर कोठाको झ्लायमा झुण्डाएको आरोप उनीहरुको छ । श्रीमती सुत्केरी भएका बेला श्रेष्ठले आफ्नी छोरीको बलात्कार गरेको आमा साईंलीले बताइन् ।
घटनाबारे के भन्छिन् मृतककी आमा
sushila tamangछोरीले गाउँकै स्कुलबाट चार वर्ष अगाडि एसएलसी पास गरेकी हो । गाउँमा प्लस टु थिएन । मेरी दिदीकी छोरी तारा कोटेश्वरको विजयमान श्रेष्ठको घरमा डेरामा बस्थिन् । उनलाई घरभेटीकी श्रीमती स्मृति श्रेष्ठले आफूलाई घरमा काम गर्ने ‘केटी’ चाहिएको बताइछन् । ताराले हाम्री छोरीका बारेमा भनेपछि स्मृति आफैंले फोन गरेर तपाईंकी छोरीलाई काठमाण्डु पठाइदिनुस् । हाम्रोमा काम गर्छिन, हामी प्लस टु पढाइदिन्छौं भनिन् । हामीले खुसी भएर पठाइदियौं । गाउँमा नजिकै प्लस टु थिएन । उसलाई पढाउने आर्थिक आधार पनि हामीसँग थिएन । त्यसैले छोरी श्रेष्ठ परिवारको जिम्मा लगायौं ।
छोरीले प्लस टु पास गरी । बीए दोश्रो वर्षमा पढ्दै थिई । हामी खुसी नै थियौं । चार वर्षमा एकपटक पनि घर आउन दिएनन् । कहिलेकाहीं फोनमा कुरा हुन्थ्यो । घर नआए पनि छोरीले पढेकी छ भनेर चित्त बुझाएर बस्यौं । माघको २२ गते छोरीले फोन गरेर मलाई काठमाण्डु बोलाएकी थिई । म स्वास्थ्य स्वयम्सेविकाको काम गर्छु । त्यतिबेला गाउँमा हात्तीपाइलो रोगविरुद्धको औषधि वितरण गर्ने कार्यक्रम थियो । त्यो सकेर केही दिनपछि आउँछु भनें । हुन्छ भनेकी थिई । माघ २६ गते विजयलालले टेलिफोन गरेर तपाईंकी छोरीको दुर्घटनामा मृत्यु भयो, तत्काल काठमाण्डु आउनुपर्‍यो भने । हामी दुवैजना (श्रीमान–श्रीमती) हतारहतार काठमाण्डु आयौं । हामी आउँदा शव प्रहरीले पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिसकेको रहेछ । हामीलाई दुर्घटना भनियो, तर छोरीको मृत्यु घरमै भएको रहेछ । हत्या गरेर उसलाई झ्यालमा झुण्डाएर राखेको तारा (दिदीकी छोरी) ले देखेकी रहिछन् ।
तारालाई छोरीले बारम्बार भनेकी रहिछ, बलात्कारमा परेकोबारे । तर हामीलाई भनिन । उसले भन्न सकिन होला । घटनाको केही दिनपछि हामीलाई शव जिम्मा लगाइयो । त्यतिबेलासम्म घटनाको सबै प्रमाण नष्ट गरिसकिएको थियो । हाम्री छोरी दुर्घटनामा मरेको भन्नेले हतारहतार किन प्रहरी बोलाएर शव अस्पताल पठाए ? हामीलाई घटना भएको भनिएको ठाउँमा किन शव देखाइएन ?
हामी गएको जेठ ३१ गतेबाट छोरीका हत्यारालाई कारबाहीको माग गरेर अनशन बस्दै आएका छौं । तर कसैले हाम्रो आवाज सुनेका छैनन् । जबसम्म छोरीका हत्यारामाथि कारबाही हुँदैन तबसम्म हामी अनशन बसिरहन्छौं ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us