कृपया मिसकल नगर्नुहोला !

काठमाण्डु टुडे २०७१ भदौ १२ गते १४:२७ मा प्रकाशित

गोरखा- फोन गरेपछि पैसा तिर्ने गरेकै हो । तर, अर्काले आफूलाई गरेको फोनको पनि पैसा तिनुपर्ने अनौठो नियम साम्दोमा छ ।

‘कृपया मिसकल नगर्नुहोला’ टेलिफोन सेट नजिकै टाँसिएको सूचनामा भनिएको छ – ‘गर्नुभयो र उताबाट फोन आयो भने मिनेटअनुसार पैसा बुझाउनु पर्नेछ ।’

मिसकल हानेर फोन सेट नै बिग्रन थालेपछि इनकमिङ कलको पनि पैसा लिन थालेको स्थानीय व्यापारी धावा लामाको भनाइ छ ।

साम्दोमा एनटी स्याट नामक टेलिफोनको पहुँच छ । प्रायःगरी होटलले पाहुनालाई लक्ष्यित गरी टेलिफोन राखेका छन् । “देशभित्रकै नम्बरमा फोन गर्ने हो भने मिनेटकै १० रुपैयाँ लाग्छ”–साम्दोका एक होटल सञ्चालक कासाङ ढिकीलभने – “विदेश नै बोल्ने हो भने एक मिनेटको ५० रुपैयाँ काट्छ ।”

तिब्बतसँग सीमा जोडिएको साम्दोबाट गोरखा सदरमुकाम आउन करिब छ दिन पैदल हिँड्नुपर्छ । पदयात्रीले एक दिन साम्दोमा बिताउँछन् । “धेरैजसो विदेशी पर्यटक र पर्यटकको भारी बोक्ने भरियाले फोनको प्रयोग गर्छन्”– होटल सञ्चालक कासाङले भने ।

उँले आफूले रु ३० हजार खर्च गरेर फोन जोडेको जानकारी दिनुभयो । नेपाल टेलिकमको केन्द्रीय कार्यालय काठमाडौँबाट साम्दोका व्यापारीले फोन लगेका हुन् ।

साम्दोभन्दामाथि टेलिफोन सुविधा छैन । पदयात्रीले लार्केपास गर्नुअघि यहीँबाट फोन गर्छन् । धर्मशाला, लार्केपास हुँदै मनाङको भीमथान पुगेपछि मात्रै फोन गर्न पाइन्छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us