जसले राजनीतिलाई नाफाको व्यापार होइन, सेवा ठानिरह्यो………

काठमाण्डु टुडे २०७१ भदौ ३१ गते ४:०१ मा प्रकाशित

गत वैशाखमा विराटनगरमा सम्पन्न एकीकृत माओवादीको राष्ट्रिय सम्मेलनमा पार्टीअध्यक्ष र केन्द्रीय सदस्यबाहेकका अन्य पदको चयन हुन postbahadur1सकेको थिएन । विराटनगरबाट फर्केपछि जेठमा माओवादीले केन्द्रीय सदस्यबीचबाट पार्टी पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो चयनका लागि आन्तरिक चुनाव गर्‍यो पार्टी मुख्यालय पेरिसडाँडामा र उक्त चुनावमा उपाध्यक्षका दाबेदार थिए, पोष्टबहादुर बोगटी । सुरुमा भएको पोलिटब्युरो, त्यसपछि स्थायी र त्यसपछि भएको पदाधिकारी चुनावमा सबैभन्दा धेरै मत पाएर चुनाव जित्ने नेतामा थिए बोगटी । तीनवटै चुनावमा बढी मत पाएर उनले ह्याट्रिक गरेका थिए । त्यसवेलाका पार्टीको आन्तरिक चुनावी परिणामपछि माओवादीका अन्य नेता, कार्यकर्ताहरूको टिप्पणी गरेका थिए, पार्टीभित्र सबैभन्दा बढी रुचाइएका पात्र हुन् बोगटी ।

०००

धेरै मत ल्याएर पार्टीउपाध्यक्षमा चयन हुनु बोगटीका लागि एउटा कुनै संयोगमात्र थिएन, बरु एकीकृत माओवादीको आन्तरिक जीवनका उतार–चढाव र घुम्तीहरूमा सधैँ संयोजनकारी भूमिका खेल्ने उनको भूमिकाको कदर थियो त्यो । त्यतिमात्र होइन पार्टीभित्र देखापरेका आन्तरिक विवादमा पनि उनीमात्र यस्ता पात्र थिए, जसले राखेको कुरा पार्टीका कोही पनि नेता अस्वीकार गर्न सक्दैनथे । पार्टीका आन्तरिक कठिन घुम्तीहरूमा उनले मूल नेतृत्वलाई सही दिशामा ‘ड्राइभ’ गर्न सहयोग गर्थे । उनी माओवादीका यस्ता सम्पत्ति थिए न कुनै दिन विवादमा आए, न कुनै दिन पार्टी र शक्तिको दुरुपयोग नै गरे । केही दिन अगाडिसम्म छोरी प्रभा भन्दै थिइन्, ‘बुबा चुनाव लड्दाको ऋण पनि तिर्न सकेका छैनौँ ।’ पार्टीभित्र उनको छवि एउटा मितव्ययी नेताको रूपमा थियो ।

०००

बोगटी मिडियाले बनाएका नेता थिएनन्, पञ्चायतविरोधी आन्दोलनदेखि जनयुद्धका कठिन मोर्चाहरू पार गरेर उनले आफूलाई स्थापित गरेका थिए । निरन्तरता, इमानदारिता र संघर्ष उनको जीवनका आधारभूत पक्ष थिए र त्यसैका जगमा उनी नेतृत्वमा पुगेका थिए । कहिलेकाहीँ हुने भेटमा वा टेलिफोन संवादमा पनि उनी सरल रूपमा प्रस्तुत हुन्थे । नेतृत्वको घमण्ड थिएन । पार्टीअध्यक्ष प्रचण्डसँग नजिक भएर काम गर्दा पनि उनले निश्वार्थ सहयोग गर्थे । पार्टीको प्रतिकूल वा अनुकूल जुनसुकै वेला पनि प्रचण्ड पहिलो बैठक बोगटीसँगै गर्थे र निर्णयपूर्व राय माग्थे । पारिवारिक सम्बन्धमा फेरबदल हुँदा पनि प्रचण्ड र बोगटबीचको घनिष्ठतामा ह्रास आएन । प्रचण्ड कहिले मोहन वैद्यसँग त कहिले बाबुराम भट्टराईसँगै गम्भीर मतभेदमा उत्रन्थे र त्यसलाई ‘सेटल’ गर्न बोगटीलाई अगाडि सार्थे । बोगटी आफ्नो भूमिका पूरा गर्न दिनरात खट्थे, जुन उनको विशेषता थियो ।

०००

प्रचण्डसँग निकट भएर काम गर्ने धेरै नेताका आआफ्ना चासोहरू सतहमा देखिँदा पनि बोगटी त्यस्ता नेता थिए, जसले प्रचण्डलाई कठिन दिनदेखि शान्तिपूर्ण राजनीतिक यात्राका सबै मोडमा सहयोग पुर्‍याइरहेका थिए । माओवादी आन्दोलन र आफ्नो राजनीति ‘करियर’का लागि नेता बोगटीको कति आवश्यकता थियो भन्ने कुरा प्रचण्डको अनुहारबाट सजिलै पढ्न सकिन्थ्यो । बाँसबारीस्थित सहिद गंगालाल हृदयरोग अस्पतालदेखि नर्भिक इन्टरनेसनल हस्पिटलसम्म निरन्तर गएका प्रचण्ड निकै भावुक देखिन्थे ।

हुन त बोगटीको निधनले एकीकृत माओवादीका सबै नेता–कार्यकर्तालाई स्तब्ध तुल्याएको छ, तर तुलनात्मक हिसाबले प्रचण्डका लागि धेरै नै गम्भीर भयो । एकीकृत पार्टीमै बोगटीको संयोजनकारी भूमिका थियो भन्ने उदाहरण अस्पताल भर्ना गरिएदेखि अस्पताल, पार्टी मुख्यालय पेरिसडाँडा, खुलामञ्च र आर्यघाटमा नेकपा–माओवादीका नेता–कार्यकर्ताको उपस्थितिले पनि पुष्टि गथ्र्याे ।

प्रचण्ड, डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, वर्षमानदेखि अन्य नेताहरूको तीव्र आलोचना गर्ने नेकपा–माओवादीका नेता–कार्यकर्ताले नेता बोगटीको आलोचना गरेको सुन्न पाइँदैनथ्यो । ‘उहाँ सबैको नेता हुनुहुन्थ्यो’ पेरिसडाँडामा श्रद्धाञ्जलीसभामा भेटिएका स्थायी समिति सदस्य गोपाल किराती भन्दै थिए, ‘उहाँले गुटको राजनीति गर्नुभएन नि ।’

०००

बोगटीको जीवनमा ०३५ मा दुईवटा कुरा एकैसाथ थपिए । एउटा थियो, वैवाहिक जीवनको सुरुवात र अर्को थियो, कम्युनिस्ट पार्टीका सदस्यता प्राप्ति । ०३५ मा नुवाकोट जिल्लाको आगापुटारनिवासी राममायासँग उनको विवाह भयो भने त्यही वर्ष उनले आफ्नो औपचारिक राजनीतिक यात्रा सुरु गरे । बुबाआमा र पत्नीका अपेक्षाहरू पूरा गर्ने अल्पकालीन बाटो होइन, सिंगो समाज र देशकै अपेक्षा पूरा गर्ने दीर्घकालीन यात्रामा लाग्ने निर्णय गरेका थिए बोगटीले ।

०००

भर्खर विवाह गरेको छोराले सुख–दु:खमा साथ देला भन्ने उनका बुबा भैरवबहादुर र आमा लेखकुमारीको चाहना थियो । तर, २५ वर्षको उमेरमा बोगटीले कठोर राजनीतिक रंगमञ्चमा आफूलाई हिँडाउने संकल्प गरे । त्यतिवेला पत्नी राममायालाई पनि लागेको थिएन, पति राजनीतिमा होमिएलान् । तर, पति बोगटीको निर्णयमा उनले कहिल्यै प्रश्न उठाइनन्, बरु निरन्तर राजनीतिमा सहयोग गरिरहिन् ।

औपचारिक रूपमा उनले धेरै पढ्न पाएनन् । नुवाकोट तुप्चे–२ भित्रिनिटारमा ०१० साउन ३ मा जन्मेका बोगटी निम्न–मध्यम परिवारका सदस्य थिए । यसले पनि उनीप्रति परिवारले धेरै आशा गरेको थियो । आर्थिक समस्याले गर्दा औपचारिक अध्ययनलाई निरन्तरता दिन नसकेको बताउँथे बोगटी । त्रिभुवन त्रिशूली उच्च माध्यमिक विद्यालयमा केही समय पढए पनि उनले । राजनीतिबाट उनले समाज बुझ्ने मौका पाएका थिए । आठ कक्षाको अर्धवार्षिक परीक्षामा शुल्क तिर्न नसकेपछि उनी त्रिशूली उच्च माध्यमिक विद्यालयबाट बाहिरिएका थिए । त्यसपछि उनी फौजी हुन भारत पसे । तर, त्यहाँ उनी सफल भएनन् । चार वर्ष भारतका विभिन्न सहरमा मजदुर गरेर फर्के ।

०००
०२५ देखि नै वाम राजनीति आन्दोलनमा लागेका उनी ०३४ मा पुष्पलाल समूहको जिल्ला सम्पर्क समितिको सचिव बनेका थिए । उच्च औपचारिक शिक्षा नपाए पनि उनले आध्यात्मिक, द्वन्द्वात्मक भौतिकवाद, दर्शन, राजनीति, जीवनी, साहित्य, इतिहासलगायतमा भने उनी अरू नेताभन्दा पछाडि थिएनन् । पुर्बीय दर्शन, पुराण, महाभारत, कृष्णचरित्र, भागवतगीता, रजनीकान्त, शास्त्रीको हिन्दुधर्मको उत्थान र पतनजस्ता किताबहरू पढेका थिए ।

कसरी जोडिएका थिए उनी राजनीतिमा ? ‘भौतिक परिस्थिति, पारिवारिक, सामाजिक सबै पृष्ठभूमिले कम्युनिस्टप्रति लाग्ने प्रेरणा मिलेको थियो,’ उनले अनौपचारिक कुराकानीमा सुनाउँथे । त्यसो त चीनमा सर्वहारा सांस्कृतिक क्रान्तिका वेला ०२५ आसपास आफूमा कम्युनिस्टप्रतिको आस्था बढेको उनमा सम्झना थियो । त्यतिवेला उनलाई मित्रप्रसाद घिमिरेले माओत्सेतुङका रेडबुक र राहुल सांकृत्यायनको ‘भोल्गा से गंगा तक’ किताब पढेर माक्र्सवादी दर्शनमा आकर्षित भएका थिए ।

०००

राजनीतिमा आउने वेला गाउँमा समाजसेवीको छवि पनि बनाइसकेका थिए बोगटीले । ०३४ मा पुष्पलाल समूहमा संगठित भएपछि उनी ०३७ मा संयुक्त चौममा आबद्ध भएका थिए । पुष्पलाल समूहले ०३५/०३६ को आन्दोलनमा धोका दिएपछि पुष्पलाल समूह छाडेर संयुक्त चौममा जोडिएको उनले बताएका थिए । त्यतिवेला पार्टीको राजनीति एकातिर भने अर्कोतिर घरमा ऋणको बोझ थियो ।

राजनीतिक यात्राले गति समातिसकेको थियो उनको । संयुक्त चौथो महाधिवेशनसम्ममा उनी जिल्ला समिति सदस्य भइसकेका थिए र खोजिरहेका थिए, अगाडिको यात्रा । राजनीतिमा भूमिका फेरिने नै भए । अनि ०४४ तिर अखिल नेपाल किसान संघको अध्यक्ष भएर देशमा किसान आन्दोलनको नेतृत्व गर्ने अवसर पाए उनले । त्यतिवेला बोगटीकै निर्देशनमा बारा, पर्सा, रौतहटलगायत तराईका जिल्ला र पहाडमा समेत किसानहरूको आन्दोलन अघि बढेको थियो । उनी ती आन्दोलनमा सके आफँै सहभागी भए, नभए पनि केन्द्रमा बसेर निर्देशन दिइरहे ।

आन्दोलन, त्याग, निरन्तरता र इमानदारिताले कम्युनिस्ट राजनीतिमा बढुवाको बाटो खोल्छ । उनमा पनि यही लागू भयो र ०४० मा मशालको जिल्ला सेक्रेटरी भए उनी । त्यसवेला नुवाकोटमा मशालको संगठन त्यति बलियो थिएन र काम गर्न कठिन थियो । धेरै कार्यक्रममा आफैँ सहभागी हुनुपर्ने अवस्था थियो ।

त्यसवेलाको एउटा घटना उनी सम्झन्थे, किनभने बोगटीको राजनीतिक जीवनमा जेलजीवन जोडिएको थियो । नुवाकोट जिल्लाका नेता प्रकाशचन्द्र लोहनीसँग राजनीतिक टकराब बढेपछि राजनीतिक पूर्वाग्रह राखी ०४१ मा ज्यान मार्ने उद्योग मुद्दा दर्ता भयो । यसै आरोपमा करिब एक महिना जेलजीवन बिताए उनले । ‘दसैँको नवमीका दिन पक्रेर लगे, मुद्दा सही नठहरिएपछि तिहारको भाइटीकाका दिन रिहाइ गरियो,’ उनले सुनाएका थिए ।

०००

उनी मशालको जिल्ला सेक्रेटरी भएकै वेला अर्को घटना पनि भयो । ०४२ मा काठमाडौंमा भएको बमकाण्डमा उनी घरबाट पक्राउ परे । त्यसवेला उनी पार्टीको जिल्ला समिति सेक्रेटरी थिए । बमकाण्डमा उनको गाउँबाट ११ जना र नुवाकोटबाट गणेश पण्डितसहित २७ जना पक्राउ परे । सो बमकाण्डमा पक्राउ परेका दिलीप चौधरीलाई तत्कालीन राज्यले बेपत्ता बनाई हत्या गरेको उनी बताउँथे । बमकाण्डमा उनी एक वर्ष जेल बसे । ०४५/०४६ को आन्दोलनमा पनि उनी एक महिना नुवाकोट जेलमा बसे ।

उनको राजनीति यात्राले विश्राम लिने कुरै थिएन । ०४३ मंसिरमा क्षेत्रीय ब्युरो सदस्य भएपछि ०४४ मा केन्द्रीय सदस्य भए तत्कालीन मशालको । ०४५ मा जनयुद्धका लागि गोरखामा उनले फौजी तालिम लिएका थिए अन्य नेताहरूसँगै । ०४८ मा कर्णाली इन्चार्ज, यसपछि भेरी–कर्णाली उपब्युरोको इन्चार्ज, ०५३ सालमा पश्चिम ब्युरो संगठनको इन्चार्ज हुँदै पार्टी स्थायी समिति सदस्यका रूपमा जिम्मेवारी सम्हाले उनले । पश्चिम ब्युरो माओवादी जनयुद्धको मुख्य आधार क्षेत्र थियो ।

डा. बाबुराम भट्टराई कारबाहीमा परेपछि उनले पश्चिम कमान्डको इन्चार्ज भएर जनयुद्धलाई अगाडि बढाए । रामेछापको बेथानमा तीर्थ गौतम र गोरखामा सुरेश वाग्लेको सहादतले उनलाई सधैँ भावुक बनाउँथ्यो ।

०००

बोगटीका एक छोरा र दुई छोरीमध्ये छोरा रवि बोगटी विद्यार्थी राजनीतिमा सक्रिय थिए । ०५९ असार ७ मा धादिङको सत्यदेवीमा तत्कालीन शाही नेपाली सेनाबाट उनी मारिए । नेताका छोराछोरी जनयुद्धमा लाग्दैनन् भन्ने कुरा उनको छोराको मृत्युसँग मेल खाँदैन । जेठी छोरी प्रतिभा र कान्छी छोरी प्रभा स्कुल पढ्दापढ्दै बुबासँग भूमिगत भएर हिँड्नुपर्‍यो । निरन्तर राज्य संयन्त्रको निगरानीले घरमा बस्ने वातावरण नै थिएन । फौजी मोर्चामा सहभागी कान्छी छोरी प्रभा स्वैच्छिक अवकाश लिएर पत्रकारितामा क्रियाशील छिन् । जेठी प्रतिभा एमाओवादीको दाङ जिल्ला सदस्य भएर राजनीतिमा सक्रिय छिन् । पत्नी राममाया पनि सक्रिय राजनीतिमै छिन् ।

माओवादी शान्तिप्रक्रियामा आउँदा बोगटी पश्चिम कमान्डको इन्चार्ज थिए । माओवादी बहुपदमा गएपछि ०६७ मा उनले पार्टीको सचिवको भूमिका निर्वाह गरे । ०६९ मा हेटाँैडामा सम्पन्न माओवादीको सातौँ राष्ट्रिय महाधिवेशनमा पार्टीको महासचिवमा सर्वसम्मत चयन भएका थिए । ०७१ जेठमा उनी पार्टीउपाध्यक्ष भए ।

०००

०६२/०६३ को आन्दोलनको सफलतासँगै ०६४ मा भएको संविधानसभाको निर्वाचनमा नुवाकोट–३ बाट विजयी भए । माओवादीको तर्फबाट संविधानसभामा प्रमुख सचेतक भए । झलनाथ खनाल नेतृत्वको सरकार हुँदा सञ्चार मन्त्रालय सम्हाले । डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा ऊर्जा मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको पनि जिम्मेवारी सम्हाले । आफ्नो कारणले कसैको चित्त नदुखोस् भन्नेमा उनी खुबै सचेत रहेछन् । वर्गसंघर्ष र आन्दोलनलाई केन्द्रबिन्दुमा राख्न सके जतिसुकै समस्या आए पनि हल गर्न कठिन नहुने अनुभव उनले बटुलेका रहेछन् ।

पश्चिम नेपालमा आफ्नै सेनाका सेल्टरबीच उचित सञ्चार सम्पर्क नहुँदा भिडन्त भएको र त्यसमा आफूहरू बल्लबल्ल बाँचेको पनि बोगटी सुनाउँथे । नरम, मृदुभाषी, मिलनसार, विद्रोही र द्वन्द्ववादी हेराइ, सामूहिकतामा जोड, मितव्ययीता उनीबाट सिक्ने पक्ष थिए । मासुका पारखी थिए । विद्यार्थीकालमा फुटबल पनि उनको रुचिमा पथ्र्यो । आफ्नो सम्पत्ति उनले पार्टीकरण गरेका थिए जनयुद्धकालमै ।

०००

उनको जीवनमा समस्याहरू आइरहे । राजनीतिक जीवनका जतिसुकै कठोर संघर्षहरूमा उनले सधैँ जित पाए । तर, अचानक आइलागेको गम्भीर बिरामलाई उनले जित्न सकेनन् । माओवादी नेता–कार्यकर्ता र शुभचिन्तकको प्रार्थना र विशेषज्ञ चिकित्सकहरूको मिहिनेतले पनि उनलाई बचाउन सम्भव भएन । अन्तत: सोमबार बिहान ७ बजेर २५ मिनेट जाँदा उनको निधन भयो । योसँगै माओवादी आन्दोलनमा एकता निर्माणदेखि नेतृत्वहरूबीचको टकराब कम गराउने सूत्रधार नेताको पनि कमी भएको छ । बोगटी यस्ता नेता थिए, जसले पार्टीलाई एकताबद्ध बनाउन ‘रसायन’ को भूमिका खेलेका थिए । उनको स्वच्छ छवि माओवादीवृत्तमा उदाहरणीय मानिन्छ ।

०००

पोष्टबहादुर बोगटी ०३७ मा नेकपा चौमको जिल्ला सेक्रेटरी थिए । उनको उपनाम थियो, शैलेष । नाम फेर्दै उनी ०४१ मा रवि बने । ‘नाम आफैँले राखेको हुँ,’ केही समयअगाडि माओवादी मुख्यालयमा उनले आफ्नो उपनामबारे बताएका थिए । उनको त्यो नाम पनि एक्सपोज भयो । युद्ध सुरु हुनुअगाडि ०५१ तिर उनी रविबाट दिवाकर बनेका थिए । ‘जनयुद्ध सुरु गर्नुभन्दा अगाडि हो । ०५१ तिर जस्तो लाग्छ दिवाकर राखेको,’ उनले नयाँ पत्रिकासँगको कुराकानीमा भनेका थिए, ‘रवि नाम एक्सपोज भएपछि दिवाकर राखेको हुँ ।’

०००

पछिल्लो समय पार्टीको आन्तरिक जीवन र राष्ट्रिय राजनीतिमा उत्पन्न विवादहरू समाधानका लागि उनी सक्रिय थिए । उनी जहिले पनि बैठकहरूमा शालीन भएर प्रस्तुत हुन्थे र प्रस्टसँग एजेन्डा राख्थे । पछिल्लोपटक उनी २६ भदौमा  बालुवाटारमा भएको चार दलीय बैठकमा सहभागी भएर निवासमा पुगेका थिए । बिहान बालुवाटारमा सामान्य खाजा खाएका उनले दिउँसो ३ बजे निवासमा गएर खाना खाएका थिए । बेलुकी खाना खाएर गफिँदै गरेका उनी एक्कासि ‘हर्टएट्याक भएजस्तो छ’ भनेर ढलेका थिए । त्यसपछि उनलाई उपचारका लागि जनमैत्री हुँदै गंगालाल अस्पताल पुर्‍याइएको थियो । उनका ड्राइभरका अनुसार गंगालाल पुर्‍याउँदासम्म ‘किन उफारिरहेको छ गाडीले’ भन्दै उनले अर्धचेतमा बोलेका थिए । अन्तत: उनको त्यो नै अन्तिम बोली भयो । थप उपचारका लागि २७ भदौमा थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना गरिएका बोगटीले सोमबार बिहान ७:२५ बजे संसार छाडे ।

प्रचण्डले शोक वक्तव्यमा भनेका छन्, ‘पार्टीका उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधनले अतुलनीय क्षतिको महसुस भएको छ । बोगटी हजारौं नेता–कार्यकर्ता, लाखौं जनसमुदायमा क्रान्ति र परिवर्तनका निम्ति प्रेरणाको स्रोत बन्नुभएको थियो । जीवनको अन्तिम क्षणसम्म पनि उहाँ पार्टी, क्रान्ति र राष्ट्रका निम्ति सक्रिय रहँदै हामी सबैलाई आश्चर्यचकित बनाउँदै हामीबाट बिदा हुनुभयो । अन्त्यमा यो शोकलाई शक्तिमा बदल्दै हाम्रो पार्टी उहाँले देखाएको बाटोमा अविचलित रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछ ।’

 नेत्र पन्थी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us