पारसलाई प्रमिकाले नै फसाएको खुलासा

काठमाण्डु टुडे २०७१ असोज २७ गते २:२३ मा प्रकाशित

काठमाण्डु, २७ असोज– पूर्वयुवराज पारस शाह पक्राउको घटनामा उनकी थाई प्रेमिका कनिका चान्साईको भूमिका शंकास्पद देखिएको छ ।
paras-at-Thailand1आर्थिक लाभ लिने उद्देश्यले उनले पारसलाई योजनावद्ध रुपमा फसाएको अनुमान गरिएको छ ।
थाइल्यान्डमा रहेका पारसका नेपाली साथीहरुका अनुसार पारसलाई पक्राउ गर्ने प्रहरी र कनिकाबीच चिनजान रहेको खुलेको छ । नोङ खाई पई प्रान्तस्थित कनिकाको घरनजिकैको गाउँबाट पारस बुधबार पक्राउ परेका थिए ।

‘होटलबाट पारस घुम्न निस्किएपछि कनिकाकै सूचनाको आधारमा प्रहरीले पक्राउ गरेकोमा दुईमत छैन,’ पारसलाई सहयोग गर्दै आएका बैंककस्थित एक नेपाली भन्छन्,‘ अरुबाट प्रहरीले सुराकी पाउने कुनै सम्भावना नै छैन ।’
चेकिङका क्रममा नभई सुराकीका आधारमा पछ्याएर पारसलाई स्थानीय प्रहरीले पक्राउ गरेको उनको दाबी छ । पक्राउ परेपछि छुटाउनका लागि मोटो रकम खर्च गराउने रणनीतिका साथ कनिकाले घरनजिकैको प्रहरीलाई खबर गरेको उनीहरुको दाबी छ ।
कनिकाको पछिल्लो गतिविधिले पनि उनीहरुको दाबीलाई पुष्टि गर्छ । स्रोतका अनुसार अहिले कनिकाले नै प्रहरी र पारसबीच मध्यस्थता गरिरहेकी छन् । धरौटीमा छुटाउनका लागि प्रहरीले करिब सात लाख भाट (नेपाली २० लाख रुपैयाँ) घुस मागेको उनले पारसका साथीहरुलाई बताएकी छन् । थाई प्रहरी विश्वमै भ्रष्ट प्रहरीको सूचीमा पर्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us