तिलकको सटर सँधैलार्इ बन्द, साँचो खोल्न नआउने गरी गए

काठमाण्डु टुडे २०७१ असोज ३१ गते ४:२३ मा प्रकाशित

काठमाण्डु, ३१ असोज– वीर अस्पतालभन्दा करिब सय मिटरभित्र महाबौद्धको गल्लीमा गत भदौ २८ गते तिलकप्रसाद गौतमले जुत्ता पसल थाल्दा पसलमा आएर शुभकामना दिनेको ठूलै भीड थियो ।
गरिबीबाट उन्मुक्ति पाउने सपना पूरा गर्न भाइ रुद्रप्रसादलाई साथमा लिएर थालेको पसल सोमबार साँझ बन्द गरेर हिंडेका उनी अब नफर्किने बाटोमा गएका छन् ।
महोत्तरी बर्दिबासमा रहेको आफ्नो जीर्ण घर मर्मत गर्ने र बाबुआमालाई काठमाण्डुमा ल्याएर राख्ने दाजुभार्इको सपना सोमबार साँझ बबरमहलमा भएको बस दुर्घटनाले उडाइदियो ।

साँझ पसल बन्द गरेर जुत्ता बेचेको पैसासहित तीनकुने डेरा फर्किएका उनीहरुको बाटैमा मृत्यु भयो । तिहार नजिकिँदै गर्दा छेउछाउका पसलमा भीड बढेको छ, तर तिलकको कालो सटर बन्द छ । ६ वर्षसम्म अर्कैको पसलमा काम गरेका तिलकले बिरामी बाबुको उपचार र घरखर्चका लागि ठूलै जोखिम उठाएका थिए । भए भरको जग्गा बेचेर र बैंकमा धितो राखेर पसल थाल्न बुबा सूर्यप्रसाद र आमा सावित्रा दुवैले सहमति दिएका थिए ।
आफ्ना दुवै छोरालाई बसले एकैसाथ किचेको सुनेपछि सूर्यप्रसाद र सावित्रा दर्जनौंपटक मुर्छित भइसके । ‘हामीलाई हेर्ने कोही रहेन, अब बाँच्नु कसरी’, छोराको अन्तिम संस्कार गर्न पशुपति आर्यघाट आइपुगेका सूर्यप्रसादल भने ।

आर्थिक रुपले विपन्न उनीहरुलाई काठमाण्डु ल्याउने कामसमेत छिमेकीले गरेका थिए । २७ वर्षीय तिलकले गत वर्ष बर्दिबासकी निशा पोखरेलसँग प्रेमविवाह गरेका थिए । दसैं मनाउँन घर गएकी निशा तिहारपछि मात्रै आउने गरी उतै बसेकी थिइन् । दुर्घट्नामा पतिको ज्यान गएको सुनेपछि बेहोस भएकी १९ वर्षीया निशा अझै राम्ररी होसमा आएकी छैनन् । चार महिनाकी गर्भवती निशाको स्वास्थ्य बिग्रँदै गएको छ ।
तिलकले वर्षौदेखिको मोटरसाइकल किन्ने रहर पनि गत वैशाखमा पूरा गरेका थिए । तर, त्यही मोटरसाइकल उनका लागि काल बनेर आइदियो । आफ्नै पसल थाल्ने र दिनभरि खटिने योजनामा उनलाई मोटरसाइकलको आवश्यकता पनि थियो ।
एक्लै पसल थाल्नुअघि तिलकले लालहरि पहाडीसँग मिलेर पसल चलाएका थिए । एसएलसीए उत्तीर्णगरेपछि काका देवेन्द्रको सहयोगमा काठमाण्डु आएका तिलकले कक्षा १२ पास गरेपछि भाइलाई पनि काठमाण्डु बोलाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us