देउसी भैलोमाथि अंकुश, सात बजेपछि ‘भन भन भाई हो’ भन्न नपाइने ‘हिन्दु परम्परामा सरकारी षडयन्त्र’

काठमाण्डु टुडे २०७१ कार्तिक १ गते १०:३० मा प्रकाशित

काठमाण्डु, १ कात्तिक– सरकारले हिन्दूहरुको महान पर्व तिहारमा खेलिने देउसी भैलोमाथि अंकुश लगाएपछि आमजनता आक्रोशित भएका छन् ।
deusiतिहारको लक्ष्मीपुजादेखि भाइटीकासम्म खेलिने परम्परागत देउसी भैलोमाथि अंकुश लगाउँदै गृहमन्त्रालयले कडा उर्दी जारी गरेको छ । भैलो खेलेमा जनतालाई कानूनी कारबाही गर्ने धम्कीसमेत सरकारले दिएको छ ।
गृह मन्त्रालयले शान्ति सुरक्षाको हवाला दिएर तिहारमा साँझ सात बजेपछि देउसी भैलो खेल्न नपाइने उर्दी जारी गरेको हो । गृह प्रवक्ता यादव कोइरालाले जारी गरेको विज्ञप्तिमा भभिएको छ, ‘यस्ता कार्यक्रमहरु रातको समयमा सञ्चालन गर्दा अबाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरुले शान्ति सुरक्षामा प्रतिकुल असर पुर्‍याउन सक्ने हुँदा सुरक्षालाई दृष्टिगत गरी देउसी भैलोलगायतका सांंस्कृतिक कार्यक्रमहरु बेलुकी सात बजेसम्म मात्र गर्न गृहमन्त्रालय सम्बनिधत सबैमा हार्दिक अनुरोध गर्दछ ।’

chiththiपरम्परादेखि नेपाली घर आँगनमा तिहारका बेला साँझ परेपछि देउसी भैलो खेल्ने चलन छ । लक्ष्मी पूजाको दिन साँझ लक्ष्मीको पूजा गरेपछि ‘भैलेनी आइन आँगन, गुन्यू चोलो मागन, हे औंसी बार गाइतिहार भैलो’ भन्दै भैलो खेल्नेहरुको समूह घर–घर पुग्ने, नाचगान गर्ने, आशिष दिने र दक्षीण लिने चलन छ । झिलीमिली बत्तीको उज्यालोमा रातिमा देउसी भैलो खेल्नु नै यो पर्वको सौन्दर्य हो, जसलाई सरकारले मास्न खोजेको देखिन्छ ।

पण्डितको आपत्ति

सरकारले यसरी रातिमा दिप बालेर मनाइने ‘दिपावली पर्व’लाई दिनमै सीमित गरेर हिन्दू वैदिक धर्ममाथि प्रहार गरेकामा भागवत बाचक पण्डित दिनबन्दु पोखरेलको तीव्र आपत्ति छ । ‘मैले बारम्बार भन्ने गरेको छु हाम्रो वैदिक संस्कृतिमाथि सरकारी तवरबाटै बारम्बार प्रहार भइरहेको छ । मलाई के लाग्छ भने जुन चीजको जेका लागि महत्व हो, त्यो त्यसैका लागि हुनुपर्छ । तिहारमा साँझ परेपछि देउसी भैलो खेल्नु हाम्रो वैदिक परम्परा हो । यसलाई कुनै सरकार, समूह वा व्यक्ति विशेषले मास्न खोज्दैमा मासिंदैन’, पण्डित पोखरेलले काठमाण्डु टुडेसँग भने ।

पण्डित पोखरेलले चाड पर्वका विकृती र विसंगती न्यूनीकरण गर्न सरकारले नै कडा सुरक्षा प्रदान गर्नुपर्ने सल्लाह दिँदै भने, ‘सुरक्षाका नाममा देउसी भैलो नै खेल्न पाउदैनस् भनेर भन्नु हाम्रो मौलिक संस्कृति मास्ने षडयन्त्रबाहेक केही होइन । यसबारेमा म सरकारका मन्त्रीहरुसँग वार्ता गर्न तयार छु ।’

औंशीको रातको मर्म

हिन्दू परम्पराअनुसार औंसीको रातमा माता लक्ष्मी पृथ्वीमा आउने गर्छिन् । रातीमा जसको घरमा उज्यालो छ, उनी त्यही घरमा बास बस्छिन् भन्ने विश्वास गरिन्छ । यसरी रातिमा लक्ष्मीको आगमन हुने भएकाले तिहारमा झिलिमिली पार्ने र देउसी भैलो खेल्ने चलन चलेको हो । तिहार र रातको यो महत्वलाई सरकारले मेट्न खोजेको हिन्दू धर्ममा आस्था राख्नेहरुको कथन छ ।

‘सरकारले हिन्दू संस्कारलाई मेटाउने काम गरेको छ । तिहार र रातको रमझमलाई मास्ने धृष्टता गरेको छ’, कपिलवस्तु, मोतीपुरका शिक्षक रामजी पाण्डे भन्छन्, ‘सरकारले तिहारको महत्वको अवमूल्यन गरेको छ ।’ हिन्दू धर्ममा तिहार र रातको विशेष सम्बन्ध छ । तिहारको मौलिक शौन्दर्य नै रातको रमझम हो । तर सरकारले आफूले शान्ति सुरक्षा दिन नसकेपछि तिहार चाडको शौन्दर्य र परम्परागत रमझममै हस्तक्षेप गरेको गायक युवराज चौलागाई बताउँछन् । भन्छन्, ‘तिहारमा रात परेपछि झिलीमीली उज्यालोमा देउसी भैलो खेल्नु नै यो पर्वको विशेषता हो । साँझ परेपछि देउसी भैलो खेल्न नपाएपछि बोर भइहाल्यो नि ।’

हिन्दू धर्मावलम्बीले यसलाई हिन्दू संस्कारमाथिको धावा नै बताएका छन् । अनि सर्वसाधारणलाई पनि देउसी भैलो खेल्न नदिने सरकारी उर्दी मन परेको छैन । ‘साँझ परेपछि मात्र लक्ष्मीको पूजा हुन्छ, भैलो खेलिन्छ’, काठमाण्डु सामाखुशीका जुत्ता व्यवसायी हरिनारायण महर्जन भन्छन्, ‘देउसी भैलो रातिमा खेल्न पाउन्नस् भन्नु तैले तिहार मान्न पाउन्नस् भने बराबर हो ।’

बलीकै अपमान
कतिपय पण्डितहरु सरकारी निर्णयले बली राजाको अपमान गरेको बताउँछन् । पौराणिक किम्बदन्तीका अनुसार बली नाम गरेका दानी राजा पृथ्वीमा राज्य गर्थे । उनी दान नगरी केही खाँदैनथे । उनको दान पुण्यका कारण स्वर्गमा देउताको शासन नै हल्लीन थाल्यो । देउताहरु विष्णुको शरणमा गए । उनीहरुले दानवीर बलीलाई तह लगाउन बिन्ती भाउ गरे । भगवान विष्णु बामन (बाउन्ने) को रुप लिएर बलीलाई ठीक पार्न पृथ्वी पुगे । उनले छल गरेर तिन पाउ जमीन दानमा मागे । सानो कदको बामन रुपी विष्णुलाई थोरै जमीन भए पनि पुग्ने भएकाले बली दान दिन राजी भए । तर बामनको रुप बढन थाल्यो । यति विराट भए कि एउटा पाउले पूरै पृथ्वी र अर्को पाउले अकाश ढाकियो । अब अर्को पाउ कहाँ टेकाउने ? बलीले आफ्नै शिर थापे । बामनको पाउ पर्नासाथ बली भासिएर पाताल पुगे । त्यसपछि विष्णुसित उनले प्रार्थना गरे, ‘मलाई वर्षमा एक पटक पृथ्वी घुम्ने अवसर दिइयोस् ।’ विष्णुले उनको आग्रह स्वीकार गरेर वर्षको एक पल्ट तिहारमा बलीलाई पृथ्वीमा आउने अनुमती दिए ।

बली तिहारको रातमा पृथ्वीमा घुम्न आउने भएकाले बलीका शुभचिन्तक र समर्थक अनी प्रियजनहरुले यम पञ्चकको रातमा झिलीमिली बत्ती बालेको, देउसी भैलो खेल्ने गरेको किंबदन्ती छ । खासमा रातीमा देउसी भैलो खेल्नेहरु आफुहरुलाई बली राजाकै दुत मान्छन् । त्यसैले भन्ने गर्छन्, ‘हामी त्यसै आएका हैनौ, बली राजाले पठाको ।’ बली गित नै अप्रभंस हुदै ‘भैली गित’ हुन गएको कतिपयको भनाई छ । सरकारले राती राती बलीका दूतहरुमाथि प्रतिबन्ध लगाएर बलीकै अपमान गरेको धापासी–८ का सेवा निवृत्त सरकारी कर्मचारी प्रभाकर उपाध्यायले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us