शीर्ष नेताको गोकर्ण बैठकप्रति दोश्रो पुस्ताका नेताको कटाक्ष: ‘६ सय १ ले गर्ने काम नौ जनाले गरेर हुन्छ ?’

काठमाण्डु टुडे २०७१ कार्तिक ५ गते ६:१८ मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक– शीर्ष नेता तिहारअघि नै संविधानका विवादित विषयमा सहमति जुटाउने भन्दै गोकर्ण रिसोर्टमा आवासीय बैठक बसिरहेका बेला सत्तारुढ काँग्रेस–एमालेका दोश्रो पुस्ताका नेता भने आक्रोशित बनेका छन् ।
Gokarna-Bistaसंविधानसभाको क्षेत्राधिकारमा हस्तक्षेप हुने गरी प्रमुख नेता मात्र बसेर संविधानका अन्तरवस्तुमा सहमति जुटाउन खोजेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।

एमाले सचिव गोकर्ण विष्टले लोकतान्त्रिक पद्धतिविपरीत शीर्ष नेताले संविधानसभा र संवाद समितिको क्षेत्राधिकार कमजोर बनाएको आरोप लगाए । आफ्नो अधिकार कटौती गरेर भएको छलफलको स्वामित्व लिन सार्वभौम संविधानसभा बाध्य नहुने उनको भनाइ छ ।

‘संविधाननसभाको सम्पूर्ण अधिकार सीमित पात्रहरुले लिन खोज्दा र ती पात्रहरुबीच सहमति नहुँदा विगतमा संविधानसभा विघटन भयो’, विष्ट भन्छन्, ‘सार्वभौम संविधानसभालाई बाइपास गरेर हुने कुनै पनि अलोकतान्त्रिक गतिविधि उचित मान्न सकिन्न ।’

उनले सहमतिका लागि दलहरुबीच छलफल हुनु राम्रो भए पनि गोकर्ण बैठकले समाधान निकाल्नेमा आफू आशावादी नरहेको बताए । ‘बैठकबाट सकारात्मक परिणाम आयो भने सुखद ठान्नुपर्छ’, विष्टले भने, ‘तर त्यसले कुनै परिणाम ल्याउला र समाधानको बाटो निकाल्ला भन्नेमा आशावादी हुने छैन ।’

उनले सहमतिका नाममा समय बर्बाद पार्न छाडेर संविधानसभाभित्रै सहमति प्रयास गर्न नेताहरुलाई सुझाव दिए ।

prakash sharan mahatकाँग्रेस नेता प्रकाशरण महत पनि शीर्ष नेताको आवासीय बैठकबाट सकारात्मक परिणाम आउनेमा आशावादी छैनन् । उनले संविधानसभाले औपचारिकता दिन नहाचेको अवस्थामा बाहिर भएका छलफल र सहमतिको अर्थ नुहनेमा शीर्ष नेता सचेत नभएको टिप्पणी गरे ।

यद्यपि, सहमतिका लागि भएको प्रयासलाई भने नकारात्मक रुपमा लिन नहुने उनको भनाइ छ । ‘संविधानसभाबाहिर भएको सहमतिलाई संविधानसभाले औपचारिकता दिन चाहेन भन्ने के गर्ने ?’ महतले भने, ‘निर्णय गर्ने संविधानसभाले नै हो, तर सहमतिका लागि भएका प्रयासलाई गलत भन्न मिल्दैन ।’ उनले तीन दलका शीर्ष नेताबीचमा हुने सहमति कार्यान्यवन गराउने प्राधिकार नेताहरुमा नरहेको टिप्पणी गरे ।

उनले पार्टी लाइनविपरीत सहमति भए लागू हुन नसके त्यस्तो सहमति लागू हुन नसक्ने प्रष्ट्याए । उनले शीर्ष नेताले अन्तिम समयमा आएर छलफलमा जुटेको भन्दै पहिल्यै गम्भीर नभएकोमा आलोचना गरे । ‘आवासीय बैठकबाट सकारात्मक परिणाम आउनेमा म आशावादी छैन’, महत भन्छन्, ‘नेताहरुमा अहिले देखिएको गम्भीरता पहिल्यै देखिनुपथ्र्यो ।’ गोकर्ण बैठकमा सहमति नभए विवादित विषयमो छिनोफानो संविधानसभाको प्रक्रियाबाट हुनुपर्ने बताए ।

एकीकृत माओवादीका नेता भने सहमति प्रयासका लागि भएको आवासीय बैठक सही भन्छन् । प्रक्रियाको बाटोबाट भन्दा सहमतिबाटै संविधान जारी गर्नुपर्ने भएकाले आवासीय बैठक सही भएको जिकिर एमाओवादीको छ ।

lokendra bista magar‘सबैले अपनत्व महसुस गर्ने गरी सहमतिमै संविधान बनाउनुको विकल्प छैन’, एमाओवादी स्थायी कमिटी सदस्य लोकेन्द्र विष्टले भने, ‘सहमतिका लागि भइरहेका प्रयासलाई संविधानसभाको सिण्डिकेट वा अधिकार खोस्ने हर्कतका रुपमा व्याख्या गर्नु हुँदैन ।’

शीर्ष बैठकलाई संविधानसभालाई बन्दी बनाउन खोजिएको अर्थमा व्याख्या गर्नेलाई उनले ‘अन्तर्घाती’ र विध्वंशकारीको संज्ञा दिए । ‘संविधानसभालाई अनिर्णयको बन्दी बनाउन खोजियो भन्नु अन्तर्घाती र विध्वंशकारी सोचाई हो’, विष्टले भने, ‘राष्ट्र र जनतालाई पहिचानसहितको संघीयता, राजनीतिक स्थिरता र विकास चाहिएको छ, त्यसैले दलहरुबीच सहमति हुनुपर्छ ।’

उनले सुशील कोइराला, केपी ओली र प्रचण्डमा आफ्नो निर्णय लागू गराउने क्षमता छैन भन्ने तर्क गलत भएको टिप्पणी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us