सरकारी उर्दी अवज्ञा गर्दै क्रान्तिकारीले रातभर देउसी खेल्ने

काठमाण्डु टुडे २०७१ कार्तिक ५ गते ६:५४ मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक– एकीकृत माओवादी सम्वद्ध अखिल क्रान्तिकारीले तिहारका बेला देउसी–भैलो खेल्न सरकारले तोकेको समयसीमा तोड्ने भएको छ ।
himal sharmaक्रान्तिकारीले सरकारी बन्देज तोड्दै काठमाण्डु उपत्यकासहित देशभर रातभरि देउसी–भैलो खेल्न लागेको अध्यक्ष हिमाल शर्माले काठमाण्डु टुडेलाई बताए ।

उनले देउसी–भैलो संस्कृतिको मौलिकता समाप्त पार्ने गरी सरकारले उर्दी जारी गरेकाले आफूहरुले आन्दोलकै रुपमा रातभर देउसी खेल्न लागेको जनाए । जनताको जिउधनको सुरक्षा गर्ने दायित्वबाट पन्छिएर राज्यले समाजलाई दोष लगाएको भन्दै शर्माले आक्रोश पोखे ।

कानुनविपरीत गतिविधि गर्नेमाथि कारबाही गर्नुको साटो सरकारले देउसी खेल्नै प्रतिबन्ध लगाएर नेपाली समाजको भावनामाथि कुठाराघात गरेको टिप्पणी उनको छ । ‘देउसी–भैलौ नेपालीहरुको मौलिक संस्कृति हो’, शर्माले भने, ‘सरकारले त्यसमाथि कुठाराघात गरेकाले आन्दोलनकै रुपमा रातभर देउसी–भैलो खेल्छौं ।’

उनले झिलिमीली चाडका रुपमा लिइने तिहारमा बत्ती बाल्न रोक लगाउने र देउसी खेल्न नदिने अलोकतान्त्रिक निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरे ।

शर्माले आफूहरुले पैसाका लागि नभई राष्ट्रिय सहमतिको सन्देश प्रवाह गर्न देउसी भैलो खेल्न लागेको बताए । ‘निषेधको राजनीति अन्त्य र सहमतीय संस्कृति विकासका लागि सन्देश दिन देउसी खेल्न लागेका हौं’ उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us