देउसी खेल्न रोक्नेलाई बामदेवले थर्काए, रातभर देउसी खेल्न पाइने

काठमाण्डु टुडे २०७१ कार्तिक ६ गते ५:०४ मा प्रकाशित

काठमाण्डु, ६ कात्तिक– आफूसँग सल्लाह नै नगरी तिहारमा देउसी भैलो खेल्न प्रतिबन्ध लगाएको भन्दै गृहमन्त्री बामदेव गौतम कर्मचारीसँग आगो भएका छन् ।

bamdev
बुधबार चीन भ्रमणबाट फर्किएलगत्तै गौतमले गृहसचिव सूर्यप्रसाद सिलवालको सातो खाएको स्रोतले काठमाण्डु टुडेलाई बतायो । स्रोतका अनुसार ‘बढी जान्ने भएर’ निर्णय गरेको भन्दै उनले सचिव सिलवाललाई थर्काएका हुन् ।

‘मैले चाडपर्वका बेला हुन सक्ने आपराधिक क्रियाकलाप रोक्न शान्ति सुरक्षामा कडाइ गर्नुस् भनेको हुँ, गौतमको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘देउसी भैलो खेल्न प्रतिबन्ध लगाउनु भनेर कहिले भनेको छु ।’ कर्मचारीको मनोमानी निर्णयको मार राजनीतिक नेतृत्वमा पर्ने गरेको भन्दै उनले आगामी दिनमा त्यस्ता हर्कत नगर्न समेत चेतावनी दिएका छन् ।

सचिव सिलवालले काँग्रेस निकट भनेर चिनिएका कायममुकायम सचिव एवम् मध्यमाञ्चल क्षेत्रीय प्रशासक शंकर कोइरालाको इशारामा बामदेवलाई बदनाम गर्न त्यस्तो निर्णय गराएको दाबी उनीनिकटका हरुको छ ।
गृहले शान्ति सुरक्षामा खलल पर्ने भन्दै पहिला साँझ सात बजे र पछि राति ९ बजेभन्दा पछाडि देउसी भैलो नखेल्न र उर्दी जारी गरेको थियो । देउसी भैलोको मौलिक संस्कृतिमाथि प्रहार भएको भन्दै उक्त उर्दीको सवत्र्र विरोध जारी छ । गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले देउसी भैलोमा प्रतिबन्ध लगाउने निर्णयबारे गृहमन्त्री बेखबर रहेको बताए ।

‘गृहमन्त्री चीन भ्रमणमा रहेका बेला कर्मचारीले गरेको निर्णय हो’, सुवेदीले भने, ‘सल्लाह गरेर भएको निर्णय होइन, उहाँलाई यसबारेमा केही थाहा छैन, यस्तो निर्णयबाट उहाँ आफैं दु:खी हुनुहुन्छ ।’ यद्यपि औपचारिक रुपमा निर्णय भइसकेकाले निर्णय सच्याउन मन्त्रीले दबाब भने नदिएको उनको दाबी छ । नौ बजेसम्मको समयसीमा तोकिएको भए पनि रातभर सर्वसाधारणले देउसी खेल्न पाउने सुवेदीले बताए ।

सर्वसाधारणको जनजीवनमा असर नपुग्ने र शान्ति सुरक्षामा प्रतिकुल असर नपर्ने गरी रातभर देउसी भैलो खेल्नेमाथि कुनै कारबाही नहुने उनले प्रष्ट्याए । ‘घोषित रुपमा राति नौ बजेसम्मको समयसीमा तोकिएको छ’, सुवेदीले भने, ‘सुरक्षामा चुनौती नहुने गरी शालीनतापूर्वक रातभर देउसी भैलो खेल्न दिन निर्देशन जारी भइसकेको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us