प्रचण्डलाई हरि रोकाको सुझाव, ‘ओली चिया खान नआएकामा गुनासो नगर, हैसियत आर्जन गर’

काठमाण्डु टुडे २०७१ कार्तिक ११ गते ६:११ मा प्रकाशित

एकीकृत माओवादीले शान्ति प्रक्रियामा आएपछि हरेक वर्ष मुख्य चाड पर्वको अवसर पारेर चियापान कार्यक्रम गर्दै आएको छ ।
hari rokaयसपालि पनि माओवादीले चियापन गर्‍यो । तर अघिल्लोपटक भन्दा फरक तरिकाले, आफू नेतृत्वको २२ दलीय मोर्चाको ब्यानरमा । यसको अर्थ एमाओवादीले चियापानमार्फत आफ्नो मुद्धामा समान धारणा राख्ने अरुलाई पनि देखाएर राजनीतिक सन्देश दिनु थियो होला । चियापानमा प्रधानमन्त्रीसहित प्रमुख राजनीतिक दलका नेता र सबै क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो । तर संविधानसभाको दोश्रो ठूलो र सरकारको महत्वपूर्ण साझेदार एमाले अध्यक्ष केपी ओली चियापानमा गएनन् । ओली बिरामी भएर गएनन् वा सचेत ढंगले जानीजानी गएनन त्यो उनैलाई थाहो होला । त्यही दिन साँझ काँग्रेससँगको द्विपक्षीय बैठकमा सहभागी हुन गएबाट ओलीले चियापान बहिस्कार नै गरेका हुन् भन्ने तर्कलाई बलियो बनाएको छ ।
ओली चियापानमा आए वा आएनन् भन्ने कुराले राजनीतिमा त्यति धेरै अर्थ राख्दैन । यसपालि उनी आएनन् भने अर्कोपटक उनले आयोजना गरेको चियापानमा प्रचण्ड नगइदिए भइहाल्छ । राजनीति अत्यन्तै निष्ठुर खेले हो । त्यहाँ कसैले कसैलाई माया–ममता गर्ने भन्ने कुरै हुँदैन । कसैले कसैलाई स्वीकार गर्नु वा अस्वीकार गर्नु भन्ने कुरा कसको शक्ति कति छ भन्ने विषयले निर्धारण गर्ने हो  । दोश्रो संविधानसभा निर्वाचनमा साइज खुम्चिएपछि माओवादी कमजोर भएको छ । त्यसमा पनि विभिन्न गुट र उपगुटमा विभाजित भएको अवस्था छ । आन्तरिक पंक्ति छिन्नभिन्न अवस्थामा छ । निशारा, कुण्ठा र पलायनता बढेको छ । कतिपय एजेण्डामा माओवादी आफैं नीतिगत रुपमा प्रष्ट हुन सकिरहेको छैन । यस्तो अवस्थामा ओलीले तिरस्कार गर्नुलाई अनौठो मान्न मिल्दैन । यो राजनीतिको सामान्य सिद्धान्त नै हो ।
प्रचण्ड दु:खी हुनुको के अर्थ ?
सुनियो कि केपी ओली आफ्नो चियापानमा नआएकामा २२ दलीय मोर्चाका कमाण्डर प्रचण्डले दु:ख माने । मानवीय र भावनात्मक रुपमा आफूले निम्ता गरेको पाहुना नआउँदा जो कोहीलाई दु:ख लाग्नु स्वभाविकै होला । तर राजनीतिको आँखाबाट हेर्दा प्रचण्ड दु:खी हुनुको कुनै जरुरी छैन । ओलीले आफू चियापानमा नआएर प्रचण्डलाई वा एमाओवादीलाई अस्वीकार गरेको प्रष्ट सन्देश दिएका छन् । ओलीले एमाओवादीलाई अस्वीकार गर्दै आएका थिए र अब पनि गर्नेछन् । तर अचम्मको कुरा त के छ भने एमाओवादी वा त्यसका नेताहरुले यति कुरा पनि बुझेनन् वा बुझ्न चाहेनन् । १२ बुँदे सहमतिबाट सुरु भएको राजनीतिक कोर्षमा केपी ओलीको सहमति थिएन । बरु उनले सहमतिअघि र सहमति भएपछि पनि त्यसको विरोध गर्दै आए र सहमति कार्यान्वयनमा पटकपटक भाँजो हाले । सामान्य जनताले समेत बुझेका कुरामा प्रचण्डजस्तो नेताले ओली आएनन् भनेर रोदन गर्नुको कुनै तुक छैन । ओलीलाई लाग्यो कि माओवादी अब कुनै ‘रिमार्केबल फोर्स’ रहेन । त्यसैले उसको नेतृत्वमा रहेको मोर्चाले आयोजना गरेको चियापानमा नजाँदा कुनै फरक पर्दैन । त्यसैले एमाओवादीले ओली नआएकामा खिन्नता मान्ने होइन, आफ्नो निम्ता मान्न आउने शक्ति कसरी आर्जन गर्ने भन्नेतिर सोच्नुपर्ने हो । ओली एमाओवादीको चियापानमा नआएको कुराले सहमतीय राजनीतिमा असर पार्छ कि भन्ने एकथरिको चिन्ता छ । सहमतीय राजनीति भनेको व्यापार हो । सहमतीय राजनीति भनेको ‘पावर ब्यालेन्स’ मा भर पर्ने हो एउटा पक्ष पावर ब्यालेन्समा कमजोर भएपछि अर्काले थिच्छ, मिच्छ । यो संसारभर चलेकोचलन हो । राजनीतिमा संधैभरि एउटै शक्तिको औकात माथि वा तल रहंदैन । अवस्थाअनुसार यो कहिले तल र कहिले माथि भइरहन्छ । त्यसैले एमाओवादी नेताहरुले सहमतीका नाममा रोइकराई गर्नुको साटो आफ्नो औकात बढाउने कुरामा लाग्दा राम्रो होला ।

ओली पूरानै भँडुवा

KP Oliकसैले मानोस् वा नमानोस केपी ओली नेपाली राजनीतिका चतुर खेलाडी पक्कै हुन् । उनी निकै लामो समयदेखि जुन भूमिका निर्वाह गर्दै आए अहिले त्यो भूमिकाको उत्कर्षमा छन् । ओली पहिलो संविधानसभामा आफू बाहिर रहँदा कुनै हालतमा संविधान नबनोस् भन्ने पक्षमा थिए । अहिले उनी आफू संविधानसभामा छन् । एमालेको अध्यक्ष र संसदीय दलको प्रमुख छन् । तर अहिले उनी आफू उपस्थित रहेको संविधानसभाबाट बन्ने संविधानमा माओवादीको उपस्थिति नदेखियोस् वा उसको भूमिका कमजोर होओस् भन्ने चाहन्छन् । उनले आजबाट होइन, राष्ट्रिय राजनीतिमा माओवादीका एजेण्डा अगाडि नआउन भन्नका लागि निकै पहिलेदेखि खेल सुरु गरेका थिए । राजनीतिको सामान्य कखरा बुझ्नेका लागि यो पटक्कै नौलो कुरा होइन । संघीय गणतन्त्र एमालेको एजेण्डा थिएन । केपी ओलीको त झ्न छँदै थिएन । सुरुका दिनहरुमा गणतन्त्रकै विरोधमा रहेका ओली मुलुकमा जुन खालको राजनीतिक परिवर्तन आयो त्यो अफ्ना लागि ‘सुट’ हुन्छ भन्ने ठान्दैनन् । त्यसप्रति उनले आत्मीयता दर्शाउन सक्दैनन र ती एजेण्डाहरुको स्वामित्व लिन सक्छु भन्ने पनि ठान्दैनन् । त्यसकारण उनी साँचो अर्थमा संघीय गणतन्त्र नेपालको सिद्धान्तिक जगमा संघीयता निर्माण होस् भन्ने पटक्कै ठान्दैनन् ।
काँग्रेसले ओलीलाई चिनेन
मुलुकमा अहिले पहिलो ठूलो दल काँग्रेसको नेतृत्वमा सरकार छ । काँग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री छन् । कोइराला सरकारमा दोश्रो दलको हैसियतसहित एमाले छ । सरकारको नेतृत्व गरेको पार्टीले आफ्नो सत्ता साझेदारको मक्सद के छ भन्ने थाहा पाउन जरुरी हुन्छ । तर काँग्रेसले एमाले वा अझ ओलीको रणनीति बुझ्न नसकेको अवस्था छ । यदि काँग्रेस संघीय गणतन्त्र पक्षधर हो भने उसले ओलीको त्यसप्रतिको अरुची बुझ्नु पर्ने हो । सरकार सञ्चालनका लागि आफूले बनाएको गठबन्धनको सैद्धान्तिक  आधारमा उभिंदा आफ्नो सहयात्री एमाले कुन ठाउँमा छ त्यो काँग्रेसले बुझ्नुपर्छ । एमाओवादीले पनि प्रमुख प्रतिपक्षको हैसियतमा संविधान निर्माण र राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका के हो  र  आफूले खोजेको सैद्धान्तिक र कार्यक्रमिक आधार के हो त्यसको प्रष्ट व्याख्या गर्न सक्नुपर्छ । त्यसो नगर्दा थप अलमल हुने र एकले अर्कालाई भुलाउने वा झुकाउने खेल राजनीतिमा जारी रहन्छ । त्यो खेल पराकाष्ठमा नपुगुञ्जेल जारी रहन्छ । यस्तोमा हार्नेले धेरै कुरा गुमाउने अवस्था आउन सक्छ ।
घाटामा काँग्रेस
केपी ओलीले पछिल्लो समय संविधान निर्माणमा भन्दा सत्ता परिवर्तनको खेलमा भित्रभित्रै आफूलाई केन्द्रित गरेको महसुस गर्न थालिएको छ । गोकर्णको बैठकमा अरु नेतालाई दिनभर घाम तपाएर साँझ परेपछि पुग्नु र तीन दलको बैठकमै नजानुले उनले संविधान लेख्ने कुरालाई त्यति महत्व दिएका छैनन् कि भन्ने आशंका सर्वत्र गरिएको छ । ओली सहमति  गर्न चाहँदैनन् वा बैठकमै जाँदैनने भन्ने सबैभन्दा पहिलो यो कुरा सरकारको नेतृत्व गरिरहेको काँग्रेसले बुझ्नुपर्ने हो । सरसर्ती हेर्दा ओली ८ माघमा सुशील कोइरालाको नेतृत्वमा  संविधान जारी नहो्स भन्नेमा छन् । उनले संविधान निर्माण आफ्नो नेतृत्वमा होस् र त्यसको जस आफैंले लिन पाए हुन्थ्यो भन्ने ठानेका हुन सक्छन् । त्यस्तो अवस्थामा संविधानसभाको प्रमुख दल र सरकारको नेतृत्वसमेत गरिरहेकाले काँग्रेसले त्यसको भरपाई गर्नुपर्ने हुन्छ । प्रधामन्त्रीको दल काँग्रेसले माघ ८ मा संविधान जारी नहुँदा आफूलाई पर्न जाने राजनीतिक घाटाबारे गम्भीर भएर सोच्न जरुरी छ ।

सिंहदरबारमा फोटो झुण्ड्याउने ओली सपना
ओली हातारमा छन् । यो कुरा अरु कसैले भनेको होइन, पार्टीको बैठकमा र सार्वजनिक फोरमहरुमा समेत उनकै मुखबाट सुनिएको हो । उनले भन्दै आएका छन् कि ‘मसँग थोरै समय छ, थोरै समयमा धेरै काम गर्नुछ ।’ उनकै कुराबाट पनि बुझ्न सकिन्छ कि रोगले थलिएका ओलीको जिन्दगीको यात्रा धेरै लामो छैन । उनलाई पनि एकपटक सिंहदरबारमा फोटो झुण्ड्याउने रहर छ । यो कुनै अस्वभाविक रहर पनि होइन । किन भने प्रधानमन्त्री हुन कुनै निश्चित शैक्षिक योग्यता चाहिंदैन र कुनै नीति, कार्यक्रम र सिद्धान्तमा टेक्नुपर्ने पनि छैन । उत्यसैले ओलीले प्रधानमन्त्री हुन खोज्यो भनेर हल्ला गर्नुको पनि तुक छैन । उनको हैसियतले भ्याए सुशील कोइरालाको हातबाट माघ ८ मा संविधान जारी हुन नदिएर उनी एकपटक देशको प्रधानमन्त्री हुनेछन् । त्यसका लागि उनले रणनीतिक चालहरु धेरै अघिदेखि नै सुरु गरिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us