बामदेवले कमल थापालाई हनुमान भनेपछि संसदमा हंगामा

काठमाण्डु टुडे २०७१ कार्तिक १४ गते ६:४८ मा प्रकाशित

काठमाण्डु, १४ कात्तिक – राप्रपा नेपालले हिन्दू राष्ट्र कायम हुनुपर्ने माग राख्दै बसेका अनसनकारीमाथि गरेको प्रहरी हस्तक्षेपको विरुद्ध व्यवस्थापिका संसद बैठक अबरुद्ध पारेको छ ।

kamal-thapaशुक्रबारको संसद बैठक शुरु भएलगत्तै विशेष समय लिएर बोल्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राज्य माग्नेहरुलाई जबरजस्ती हटाएर सरकारले ९४ प्रतिशत हिन्दुहरुको भावनामा चोट पुर्यारएको धारणा राखे ।

त्यसको जवाफमा गृहमन्त्रीले राप्रपा नेपालका कार्यकर्ता भाला, खुकुरी, खुडा लिएर सडकमा हनुमानको रुपमा उपस्थित भएकाले अनसनकारीलाई हटाउन बाध्य भएको बताएका थिए । त्यसलगत्तै राप्रपा नेपालका सभासदले अध्यक्ष थापालाई हनुमान भनेको विषयमा आपत्ति जनाउँदै संसद अवरुद्ध पारेका हुन् ।

सभामुखले संसदको गरिमा राख्दै शब्द तौलेर बोल्न आग्रह गर्दै राप्रपा नेपालले अवरोध पुर्यामएपछि संसद बैठक आधा घण्टाको लागि स्थगित गरिएको हो ।

थापाले शुक्रबार विहान प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर पनि हिन्दुराष्ट्र कायम हुनुपर्ने माग गर्दै धर्नामा बसेकामाथि प्रहरीले हस्तक्षेप गरेकोमा आपत्ति जनाएका थिए । प्रधानमन्त्री कोइरालासँगको छलफलपछि सन्चारकर्मीसँग कुरा गर्दै थापाले शुक्रबारको संसद बैठक चल्न नदिने जानकारी दिएका थिए ।

वैदिक सनातन हिन्दुराष्ट्र नेपालले गत बैशाख महिनादेखि हिन्दु राष्ट्रको माग राख्दै शान्तिवाटीकामा रिले अनसन गर्दै आएको थियो । लामो समयदेखि अनसन बस्दा शान्तिवाटीका अस्तव्यस्त भएकोले अनसनकारीलाई हटाइएको महानगरपालिकाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us