
काठमाण्डु, २४ कात्तिक– एउटा कोठा छ । भित्तामा काँग्रेस संस्थापक स्वर्गीय बिपी कोइरालाको तस्वीर भुण्डिएको छ । वस्तीर सँगैको सानो र्याकमा कदरपत्र, मायाको चिनो र नेपालको झण्डा छ ।
त्यसैको मुनि तीनवटा व्यक्ति छन् । दुई जना आाखा जुधाएर कुरा गरिरहेका छन् । एक जना चुपचाप उनीहरुको कुरा सुनिरहेको जस्तो देखिन्छ । तीन जनामध्ये एक जना नाम चलेका चर्चित नेपाली युवा नेता हुन् ।
तस्वीर हेरेरै सबैले चिन्न सक्छन् कि उनी काँग्रेस युवा नेता तथा सभासद गगन थापा हुन् । अरु दुई जना सायदै कसैले देखेका मानिस हुन् । किन भने उनीहरु विदेशी हुन् । थापासँग आमने –सामने बसेर कुरा गरिरहेका व्यक्ति उत्तर छिमेकी चीनले सर्वाधिक खोजिरहेका तिब्बती शरणार्थीका नाइके हुन् । उनको नाम पासाङ पासाङ चुङ्दक लामा हो ।
उनी तिब्बतीयन युथ काँग्रेसका नेपालका अध्यक्ष छन् । नेपालमा हुने चीनविरोधी गतिविधिको नेतृत्व यिनैले गर्छन । आकासे निलो रङको ज्याकेट लगाएका, लामो कपाल भएका युवाचाहिं रेडियो फ्रि एसियाका प्रतिनिधि थुप्तेन लामा हुन् । उक्त रेडियोले तिब्बती शरणार्थीहरुको पक्षपोषण गर्दै आएको छ ।
तिब्बतले पक्रनु भनेपछि भेटेका थिए गगनले
स्रोतका अनुसार थापाले काठमाण्डु क्षेत्र नम्बर–४ स्थित चाहबिलमा रहेको आफ्नै सम्पर्क कार्यालयमा गत कात्तिक ११ गते लामालाई भेटेका हुन् ।
त्यतिबेला चीनको स्वशासित क्षेत्र तिब्बतका अध्यक्ष लियो साङ जियाङ सुन नेपालको चार दिने भ्रमणमा सिलसिलामा नेपालमै थिए ।
नेपाल बसाइका क्रममा जियाङ सुनले राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतम, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतका नेतालाई भेटेका थिए ।
ती भेटमा उनले नेपालको एक चीन नीतिप्रति थप प्रतिबद्धता खोज्दै नेपालमा बसेर चीनविरोधी गतिविधि गरिरहेका तिब्बती शरणार्थीलाई पक्रेर बुझाउ आग्रह गरेका थिए । जवाफमा नेताहरुले नेपाल एक तीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने जनाएका थिए । गगनले भने तिब्बती शरणाार्थीको घर फिर्तीको मागमा आफ्नो पूर्ण समर्थन रहेको प्रतिबद्धता जनाएका छन् ।
बाहिर एक चीन, भित्रभित्र चीनविरोधी गतिविधि
बाहिर एक चीन चीन नेपालको छिमेकी मुलुक हो । नेपालले पटकपटक एक चीन नीतिको वकालत गर्दै आएको छ । मुलुकमा अहिले काँग्रेस नेतृत्वमा एमाले र केही साना दलको संयुक्त सरकार छ । प्रधानमन्त्री छन् संविधानसभाको पहिलो ठूलो दल नेपाली काँग्रेसका सभापति शुसील कोइराला ।
व्यक्तिगत रुपमा कोइरालाले र संस्थागत रुपमा उनी नेतृत्वको सरकारले पटकपटक एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहोर्याएको छ । काँग्रेस पनि आफूलाई एक चीन नीतिकै पक्षमा छु भन्छ ।
तर काँग्रेसकै प्रभावशाली केन्द्रीय सदस्य र युवा सभासद थापा भने शरणार्थी नेतासँग गोप्य भेटघाट गरेर उनीहरुलाई सघाउने बाचा गरिरहेका छन् । काठमाडौंस्थित चिनियाा दूतावासले शणरार्थीलाई सभासद्ले भेटेकोमा आफ्नो असन्तुष्टि जनाएको छ । दूतावासस्रोतका अनुसार यस्तो भेटघाटले चीन र नेपालवीचको कुटनीतिक सम्बन्धमा असर पार्न सक्छ ।
शरणार्थी उकासेकोमा चिनियाँ दूतावास रुष्ट
गत संविधानसभामा केही सभासद्हरुले भारतमै पुगेर दलाई लामालाई भेटेको थिए । उक्त भेटघाटपछि पनि चीनले असन्तुष्टि व्यक्त गरेको थियो । थापाले शरणार्थी नेता भेटेको विषयमा पनि चीनले गम्भीर असहमति जनाएको बुझिएको छ ।