को–को परे विप्लवको ‘ब्ल्याक’ लिष्टमा ?

काठमाण्डु टुडे २०७१ मंसिर १ गते १२:१८ मा प्रकाशित

netra bikram chandकाठमाण्डु, १ मंसिर– कपिलवस्तु भेलाबाट सशस्त्र युद्ध थाल्ने उदघोष गरेका नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले ‘पपुलिष्ट’ संघर्षका कार्यक्रम ल्याउने भएका छन् ।

जनतालाई आफूतिर आकर्षित गर्ने रणनीतिअनुरुप विप्लवले आफ्नो पहिलो चरणको संघर्षको कार्यक्रममा समाजमा व्याप्त भ्रष्टाचार, बेथिति, अराजकता र गुण्डागर्दी नियन्त्रण अभियानलाई प्राथमिकता दिने भएका छन् ।

कपिलवस्तुको गिवगढी जंगलमा गत कात्तिक र २६ र २७ गते भएको विप्लव पक्षधरको छुट्टै राष्ट्रिय भेलाले सशस्त्र युद्धमा जाने रणनीति तय गर्दै पहिलो चरणमा प्रचारात्मक संघर्षका कार्यक्रम तय गरेको थियो ।

भेलाका एक सहभागीका अनुसार मंसिर दोश्रो साताबाटै ती कार्यक्रम कार्यान्यवन हुनेछन् ।
विप्लवको निशानामा को–को
शिवगढी भेलाका सहभागीका अनुसार विप्लवले सर्वसाधारणलाई दु:ख दिने सबैलाई एक एक गरी कारबाही गर्ने उदघोष भेलामा गरेका थिए ।

उनका अनुसार दूधमा पानी र दालमा ढुंगा मिसाउने व्यापारीदेखि, किसान र उपभोक्ताको बीचमा बसेर ठगी गर्ने बिचौलिया कारबाहीको सूचीमा छन् ।

यस्तै विभिन्न समयमा लाभको पदमा बसेका प्रधानमन्त्री, मन्त्री, उच्चपदस्थ कर्मचारी र सुरक्षा निकायका अधिकारीहरुलाई समाजिक बहिस्कार गर्नेदेखि कालोमोसो दल्ने र गलत तवरले जम्मा गरेको सम्पत्ति फिर्ता गराउनेसम्मको तयारी सो समूहको छ ।

काठमाण्डुका घरभेटीसमेत विप्लवको निशानामा पर्ने भएका छन् । जथाभावी भाडा लिने, भाडामा बस्नेमाथि अभद्र व्यवहार गर्ने, पानी नदिने, घरमा पाहुना आउँदा रिस गर्ने घरभेटीलाई कारबाही गर्ने योजना बनेको छ । काठमाण्डु उपत्यकासहित मुलुकका विभिन्न सहरमा जुतावात र बेश्यावृत्ति अखडा सञ्चालन गर्नेलाई पनि विप्लवले नछाड्ने भएका छन् ।

एमाओवादीकै नेता पनि निशानामा
विप्लवले आफ्नै माउ पार्टी एमाओवादीका केही नेतालाई समेत सामाजिक कारबाही गर्ने भएका छन् । पहिलो चरणमा काठमाण्डुमा घर बनाएका नेताहरुमाथि निशाना लगाउने योजना उनको छ ।

पोलिट्ब्युरादेखि पदाधिकारीसम्म करिब तीन दर्जन नेताले काठमाण्डुमा घर बनाएको सूची विप्लवसँग रहेको श्रोतले बतायो । यद्यपि ती नेताको नाम भने गोप्य राखिएको छ ।

लडाकु शिवरमा भएको अनियमितता छानबिन गरी दोषीमाथि कारबाही गर्ने योजनासमेत बनेको भेलाका सहभागी बताउँछन् । एमाओवादी पैसामा मिडिया चलाएको आरोप खेप्दै आएका केही ‘मिडिया मालिक’ समेत विप्लवको कारबाही सूचीमा छन् ।

यस्तै नक्कली भ्याट बिल प्रकरणमा मुछिएका विनोद चौधरीलगायत पनि विल्पवको कारबाही सूचीमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us