सुत्केरी अवस्थामा जागिरबाट निकालिएकी पत्रकारको दर्दनाक कथा

काठमाण्डु टुडे २०७१ मंसिर ६ गते १३:२२ मा प्रकाशित

anju 3मैले २०६० सालमा रेडियो वीरगञ्जबाट पत्रकारिताको सुरुआत गरेको हुँ । लगभग ६ वर्ष रेडियोमा काम गरें । रेडियोमा समाचार बाचिकासहित लेख्ने पनि काम गर्थें । रेडियोमा काम गर्ने क्रममै सञ्चारिकामा फिचरहरु लेख्थें ।

६–७ वटाजति फिचर प्रकाशित पनि भएका छन् । रेडियोमा काम गर्दागर्दा वीरगञ्जमा तराई टिभी सुरु भयो । भिटीमा काम गर्नु मेरो लागि रहरकै कुरा थियो । ग्ल्यामर पेशा भएकाले टिभीमा काम गर्न थालें । त्यहाँ पनि समाचार बाचिका भएर काम गरें ।

तराई टिभी तीन वर्षअघि काठमाण्डु सरेपछि काठमाण्डु नै गएँ । वीरगञ्ज र काठमाण्डुमा गरेर तराई टिभीमा तीन वर्षजति काम गरें ।

तराईमा काम गर्ने क्रममा एक दिन एउटा अपरिचित नम्बरबाट मोबाइलमा फोन आयो । फोन माउण्टेन भिटीका स्टेशन म्यानेजरको रहेछ । उनले तराईबाट आफ्नो टिभीमा काम गर्न आउन भने । म माउण्टेन गएँ । यो दुई वर्षअघिको कुरा हो । भर्खरै बिहे भएको थियो ।

काम गर्दै जाँदा बच्चा पेटमा आयो । तै पनि काम छाडिन । गएको वैशाख ८ मा छोरा जन्मियो । म चैतको १७ गतेसम्म अफिस गएँ । त्यसको तीन दिन अघिसम्म समाचार पढें । समाचार संयोजक माधव तिवारीले तपाईंलाई गाह्रो भयो, अब समाचार नपढ्नुस् भने । उनले आफ्नो कुरा बुझेकामा खुसी लाग्यो । उनले बच्चा भएपछि पढ्ने कुरा छँदैछ । अहिले नपढ्नुस् भनेका थिए ।

आफ्नै पक्षमा कुरा गरेजस्तो लागेर हुन्छ भनें र समाचार पढ्न छाडें । तै पनि अफिस आउन जान छाडेको थिइनँ । समाचार पढ्न छाडेको एक हप्तापछि सुत्केरी बिदाका लागि चैतको १५ गते निवेदन दिएँ । प्रशासन प्रमुख गोपाल बस्नेतको नाममा । मैले डेढ महिनाका लागि बिदा मागेको थिएँ । जेठ पहिलो हप्ताबाट आउँछु भनेकी थिएँ । बिदा स्वीकृत भयो । घर आएँ । बच्चा जन्मियो । बिदा अवधि सकियो तर बच्चा सानै भएको र आफू पनि पूर्ण स्वस्थ नभइसकेकाले बिदा थप्नका लागि आग्रह गर्ने सोच बनाएँ ।

जेठ पहिलो सातादेखि आउँछु भनेकी थिएँ । जान गाह्रो भयो । सुत्केरी भएको एक महिना पनि भएको थिएन । अफिस गएर समाचार पढ्ने आँट आएन । गाह्रो भयो । समाचार उप–प्रमुख महेन्द्र भट्टराई फोन गरेर आउन गाह्रोभयो । थप दुई महिना बिदा थप्नुपर्‍यो भन्ने आग्रह गरें । उनले मेरो कुरालाई सकारात्मक रुपमै लिए । उनकै सल्लाहमा प्रशासन प्रमुख गोपाल बस्नेतलाई टेलिफोन गरें । उनलाई पनि फोन गरें ।

समाचार प्रमुखसँग सल्लाह गरेर बस्दा फरक नहुने बताए । उनले समाचारको कुरा हो । उतै मिलाउनुस्, समाचार प्रमुखले भनेपछि भइहाल्छ नि भनेका थिए । यही कुरा महेन्द्र भट्टराईले पनि सुनाएँ ।
दोश्रो पटक थपिएको बिदाको अवधि सकिन लागेको थियो । असार अन्तिम हप्ता तीन महिनाको बच्चा लिएर काठमाण्डु आएँ । भोलिपल्टै कार्यालय गएँ । साउन पहिलो हप्तादेखि काममा आउँछु भनेर जानकारी गराएँ ।

महेन्द्र खुसी भए । उनले न्यूज सेड्युअल बनाउँछु भने । संयोग के पर्‍यो भने म फेरि अफिस नजाँदै महेन्द्रले जागिर छाडेछन् । उनले जागिर छाडेपछि प्रशासन प्रमुखले बिनाजानकारी स्वीकृत बिदाभन्दा बढी समय घर बसेको आरोप लगाए । मैले उनको प्रतिवाद गरें । पहिला भएका कुराहरु स्मरण गराएँ ।

उनले तपाईंको ठाउँमा अरु नै राखिसेको हुनाले अहिले राख्न नसकिने बताए । नयाँ कर्मचारी चाहिएका बेला सम्झने भन्दै बिदा हुन भने । मलाई आवश्यक पर्दा बोलाउँला भनेका प्रशासन प्रमुखले अरु साथीहरुसँग भए/नभएको कुरा गरेछन् । उनले बिदा स्वीकृत नगरी गैरजिम्मेवार तरिकाले बिदामा बसेको भनेछन् ।

साथीहरुको बीचमा आफ्ना बारेमा गलत प्रचार भएपछि दु:ख लाग्यो । तीन महिनाको बच्चा काखमा बोकेर काममा फर्कंदा प्रोत्साहन पाउँछु होला भन्ने मेरो अनुमान थियो । तर दुई वर्षसम्म योगदान गरेको कर्मचारीलाई सुत्केरी बिदा नसकिँदै अमानवीय ढंगले जागिरबाट निकालियो ।
यो सबै देखेर दिक्क लाग्यो । असारदेखि भदौको अन्तिम हप्तासम्म काठमाण्डु बसें । घरतिर गइयो भने बच्चाको राम्रो स्याहार हुन्छ भनेर असोज नलाग्दै घर (हेटौंडा) आएँ । अहिले पनि यहीं छु ।

म एकजना पीडित श्रमजिवी पत्रकार हुँ । उर्जाशील जीवनको १२ वर्ष पत्रकारितामा बिताएँ यति लामो लगानी भएका कारण मलाई पत्रकारिता क्षेत्रको माया लाग्छ । तर कहिले काहीं बेकारमा यस्तो पेशामा बुद्धि बिग्रिएर किन लागिएछ anju 2भन्ने महसुस हुन्छ । बेलैमा अरु पेशामा लाग्न पाएको भए अहिलेभन्दा राम्रो प्रगति हुन्थ्यो होलाजस्तो लाग्न थालेको छ । हामीजस्तो १०/१२ वर्ष काम गरिसकेको मान्छे त्यो पेशाबाट हात धुन बाध्य हुनु राम्रो होइन ।

सुरुमा काम गर्दा जुन हौसला, रहर र उत्साह थियो । त्यो सबै मरेर गयो । कामको सिलसिलामा यस्तो सम्म भएको छ कि पोहोर सालको दसैंमा पेटमा बच्चा थियो । दसैंमा पनि बिदा दिएनन् । परिवारका सबै दसैं मान्न हेटौंडा आए । म एक्लै काठमाण्डुमा बस्दा कम्ति गाह्रो भएन । नवमीका दिन राति सात बजे घर आइपुगें । फेरि टीकाको भोलिपल्टै काठमाण्डु गएर कार्यालयको काम गरें ।
म पत्रकार महासंघ पर्साको शाखा सदस्य हुँ । पत्रकारलाई परेको समस्या पत्रकार महासंघले हेर्नुपर्छ । आफूमाथि परेको पीडाका बारेमा महासंघ केन्द्रमा उजुरी दिएको छु । विश्वास  छ न्याय पाउँछु होला ।

मलाई मेरो जागिर पुनस्र्थापना होओस् र फेरि काम गरौं भन्ने लालसा छैन । तर मैले जै पीडा र अमानवीय व्यवहार भोग्नुपर्‍यो पत्रकारितामा सक्रिय अरु महिलाहरुले यस्तो दुर्दशा व्यहोर्नु नपरोस् भन्ने मेरो मान्यता हो । ममाथि अन्याय गर्नेहरुलाई सजाय भयो भने अरुले पनि बाँकी दिनहरुमा यस्ता हर्कत गर्ने थिएनन् कि ?

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us