यस्तो छ पैसा कमाएर नौ शिक्षक पाल्ने मन्दिर

काठमाण्डु टुडे २०७१ मंसिर ६ गते १३:१५ मा प्रकाशित

supa-deuraliतीन वर्षअघि कतार जाने वेला अर्घाखाँची ढाकावाङका रमेश खनालले सुपा देउराली मन्दिरमा भाकल गरे, ‘सोचेजस्तो काम पाए म पाठो चढाउँला ।’ तीन वर्षपछि उनी घर फर्के । दसैं–तिहार मनाएपछि उनी सुपा देउराली मन्दिर गएर आफूले गरेको भाकलअनुसार बाख्राको पाठो चढाए । ‘सोचेजस्तो राम्रो काम पाएँ, पैसा पनि कमाएँ त्यही भएर भाकलअनुसार पाठो चढाउन आएको हुँ,’ मन्दिर परिसरमा भेटिएका खनालले भने, ‘यो विश्वास मनको शान्ति हो ।’

रमेशजस्तै भाकल गरेका दर्जनौं भक्तजन मन्दिरमा आउँछन्, दैनिकजसो । मन्दिरमा गई आफूले चिताएको भाकल गर्दा पूरा हुने जनविश्वास छ । यही जनविश्वासका आधारमा भाकल चढाउनेहरू त्यहाँ पुग्दछन् । सन्धिखर्क–गोरुसिंगे सडक भएर चल्ने सबै यातायातका यात्रु मन्दिरमा पूजापाठ गरेर मात्र अगाडि बढ्छन् । ड्राइभरहरूले दुर्घटनाबाट बच्न मन्दिरमा गएर नरिवलदेखि पैसासम्म चढाउँछन् । भाकल नगरेका भक्तजनहरू पनि मन्दिर गएर पैसा चढाउँछन् र पुजारीबाट प्रसाद ग्रहण गर्छन् । मूल पुजारी गंगाधर खनालका अनुसार मन्दिरमा दैनिकजसो एक हजार पाँच सयदेखि दुई हजार भक्तजन आउँछन् ।

मन्दिरमा भाकल गरेपछि पुर्‍याउनुपर्छ भन्ने जनविश्वास छ । यही जनविश्वासले भाकल गर्नेहरू मन्दिरमा पूजापाठ गर्छन् । दैनिक २० देखि ३० वटा पाठापाठी र ३०–४० जोडी परेवा चढाइने गरेको पुजारीहरूले बताए । नरिवल, फूल र अन्य प्रसाद चढाउनेहरू पनि हुन्छन् । तर, माघ महिना, औंसी, पूर्णिमा, एकादशी, श्राद्ध र जन्माष्टमीमा यहाँ बलि पूजा गरिँदैन । ३० वर्षदेखि मन्दिरको पुजारी रहेका धनश्याम खनालका अनुसार पुस–माघको जाडो र असार–साउन समयमा भक्तजनहरू अलि कम आउँछन् । उनका अनुसार एकपटक भाकल गरेर गएका भक्तजन फेरि आउँदा आफूले चित्ताएको पुगेको बताउने गरेका छन् ।

अर्घाखाँचीको सीतापुर र खाँचीकोट गाविसको सिमानामा पर्छ यो मन्दिर । जिल्लाको सदरमुकाम सन्धिखर्क–गोरुसिंगे सडक खण्डमा पर्ने मन्दिर लुम्बिनी अञ्चलकै महत्त्वपूर्ण धार्मिक क्षेत्र बनेको छ । पहिले अर्घाखाँचीवासी मात्र जाने यो मन्दिरमा अहिले गुल्मी, कपिलवस्तु, रूपन्देही, पाल्पा, दाङ हुँदै काठमाडौंबाट मात्र होइन, गोरखपुर र लखनउबाट समेत भक्तजनहरू आउने गरेको पुजारी घनश्यामले बताए ।

वैशाखे पूर्णिमामा पूजा गरिने स्थानमा ०४० सालमा जिल्लाका बाबुराम रायमाझीले सामान्य मन्दिर बनाएका थिए । त्यसपछि मन्दिर संरक्षणका लागि समिति बनेको पुजारीहरू बताउँछन् । त्यसवेलादेखि दैनिक पूजाआजा सुरु भएको हो । पछि मन्दिरको पुनर्निर्माण गरिएको थियो । यसमा अर्घाखाँचीनिवासी श्रीनरनारायण बाबाले महत्त्वपूर्ण सहयोग गरेका थिए । श्रीनरनारायण बाबाआश्रम सेवा संस्थाको सहयोगमा ०६४ मंसिर ८ मा मन्दिर पुनर्निर्माणको काम सुरु भएको थियो । २३ भदौ ०६५ मा प्राचीनशैलीमा मन्दिरको पुनर्निर्माण सकिएको थियो । मन्दिर पुनर्निर्माणमा एक करोड तीन लाख रुपैयाँ खर्च भएको थियो ।

supa deuralii

मन्दिर अहिले निकै सुन्दर देखिन्छ, जसले त्यहाँ पुग्ने अन्य जिल्लाका भक्तजनलाई पनि लोभ्याउने गरेको छ । चारैतिर अग्ला–अग्ला हरियाली पहाड, शान्त वातावरण, दैनिक सयौं गाडी गुड्ने सुविधासम्पन्न बाटोले सुपा देउराली मन्दिरको महत्त्वलाई निकै बढाइदिएको छ । रमणीय र मनमोहक धार्मिकस्थल बनेको सुपा देउराली मन्दिरको पुनर्निर्माणका लागि पहल गरेका अर्घाखाँची–१ का सभासद् एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीले भने, ‘यस्ता सम्पदाको संरक्षणमा सबैले ध्यान दिनु आवश्यक छ ।’ गृहजिल्ला जाँदा र काठमाडौं फर्कंदा आफू प्राय: मन्दिरमा पस्ने गरेको उनले सुनाए । ‘आफ्नो जिल्लाको सम्पदाको जगेर्ना गर्नु सबैको दायित्व हो,’ दसैंको समयमा मन्दिरपरिसरमा भेटिएका वेला उनले सुनाएका थिए ।

मन्दिरको कमाइ दैनिक दुई हजार पाँच सयदेखि १० हजारसम्म हुन्छ । मन्दिरलाई अझ व्यवस्थित र पर्यटकीय क्षेत्र बनाउन सके आम्दानी बढाउन सकिने पुजारी घनश्यामको विश्वास छ । यस मन्दिरको आम्दानीले दुईवटा विद्यालय शान्ति निमावि सीतापुर र आदर्श मावि खाँचीकोट सञ्चालनमा महत्त्वपूर्ण योगदान दिएको छ । मन्दिरको पालैपालो एक महिनाको कमाइ शान्ति निमावि सीतापुर र अर्को महिनाको कमाइ आदर्श मावि खाँचीकोटमा जान्छ । पुजारी धनश्यामले भने, ‘त्यही कमाइबाट शान्ति निमावि सीतापुरमा चार र आदर्श मावि खाँचीकोटमा पाँचजना शिक्षकलाई तलब खुवाइएको छ ।’ मन्दिरको कमाइको ७५ प्रतिशत रकम ती विद्यालायमा जान्छ । बाँकी २५ प्रतिशत रकमले मन्दिरमा पूजाआजा, व्यवस्थापकीय र समाजसेवामा खर्च हुन्छ । समाजसेवामा गरिबलाई आर्थिक सहयोग, छात्रवृत्ति तथा वृद्धवृद्धालाई सहयोग गर्ने गरिएको पुजारी धनश्याम जानकारी दिन्छन् । सीतापुर खाँचीकोटमा खानेपानीदेखि सडक विस्तारसम्मका लागि मन्दिरको आम्दानी लगाइएको छ । दानबाकसले रकम संकलनमा मद्दत पुर्‍याएको छ ।

supa

झन्डै ४५ सय फिटको उचाइमा रहेको सुपादेवी स्थानीय क्षेत्रमा आस्थाको प्रतीक मानिन्छिन् । सुपा खोलाको पश्चिमतर्फ नरपानी र फलामे दुई अग्ला महाभारत पर्वतको भञ्ज्याङमा छ यो मन्दिर । सयौँ फिटमाथिबाट मन्दिरको पूर्वमा खस्ने सुपा खोलाको आकर्षक प्राकृतिक छाँगाले यो मन्दिर भएर जाने यात्रुको मन लोभ्याउँछ । दुईवटा फूल चढाएर देउरालीप्रतिको सद्भाव दर्शाउने सनातन परम्परा छ । मन्दिरमा खस्ने धाराको पानी अचाएर घन्ट बजाउँदै मन्दिर परिक्रमा गर्दा शरीरमा उच्छवास सञ्चार हुने सुपा देउराली देवीको अपार दैवीशक्ति रहेको मानिन्छ । पक्की बाटोको छेउमा झुन्डिएर रहेजस्तो बनावटले त्यहाँ पहिलोपटक पुग्ने भक्तजन आश्चर्य प्रकट गर्छन् ।

यो मन्दिरका कारण अर्घाखाँचीमा आन्तरिक पर्यटन बिस्तारै बढ्दै गएको छ । यातायातको सुविधा नहुँदा केही दशकअगाडिसम्म गाउँ–गाउँबाट मन्दिर जान समस्या हुने गरेको भए पनि अहिले त्यस्तो छैन । जिल्लाको जुनुसुकै गाविसबाट केही घन्टामै मन्दिर पुग्न सकिन्छ । केही वर्षअगाडि नै जिल्लाका सबै गाविसमा मोटरबाटो पुगेको छ । कपिलवस्तुको गोरुसिंगेबाट सन्धिखर्क जाने बाटोमा पर्ने सुपा देउराली आसपासका जिल्लाका आन्तरिक पर्यटकका लागि सबैभन्दा बढी रोजाइमा पर्ने गरेको छ । मन्दिरमा अहिले १६ जना पुजारी छन् । उनीहरू हरेक दिन दुईजनाका दरले पालैपालो मन्दिर जान्छन् । एकजना मुख्य मन्दिरमा र अर्को एकजना शिवालयमा पूजा गर्छन् र भक्तजनलाई टीका लगाएर आशीर्वाद दिन्छन् । पुजारीलाई दैनिक एक सय पचास रुपैयाँ भत्ता दिने गरिएको पुजारी घनश्यामले बताए ।

पुजारीबाहेक मन्दिरमा दैनिक व्यवस्थापन समितिका दुईजना, सहयोगी पाँचजना र एकजना चौकीदार पनि आउँछन् । प्रितमबहादुर थापा अध्यक्ष रहेको मन्दिर व्यवस्थापन समितिले मन्दिरनजिकै धर्मशाला बनाउने निर्णय गरेको छ । तर, रकम जुट्न भने सकेको छैन । धर्मशाला निर्माण भए टाढा–टाढाबाट त्यहाँ आउने भक्तजनका लागि बस्ने व्यवस्था हुने र त्यसले मन्दिरमा आउने भक्तजनको संख्या अझै बढाउने पुजारीहरूको विश्वास छ । उनीहरूले धर्मशाला निर्माणका लागि देश–विदेशमा रहेका धार्मिक एवं समाजसेवी दाताहरूसँग आग्रह गरे । ‘नयाँ पत्रिकामार्फत पनि हामी सहयोगको आग्रह गर्छौं,’ पुजारी घनश्यामले भने ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us