बाहिर साधु देखिएर भित्रभित्रै के–के गर्दा रहेछन् ‘बाबाजी’हरु ?

काठमाण्डु टुडे २०७१ मंसिर ६ गते १५:२८ मा प्रकाशित

एजेन्सी– भारत एकातिर पूर्वीय दर्शन र सभ्यताको केन्द्र भनेर चिनिन्छ, अर्कोतिर धर्म वा दर्शनको खोल ओढेर किसिमकिसिमका चर्तिकला गर्ने हिन्दू बाबाजीहरुको चर्चाबाट पनि चिनिन्छ ।

बेलाबेला भ्रष्टाचार, बलात्कार वा हत्याका संलग्न भएका कारण चर्चामा आउने त्यस्ता बाबाजी भारतमा दर्जनौं छन् । तिनीहरुको सूची दश–बीसमा मात्रै पनि टुंगिन्न । अहिलेका चर्चित पाँच विवादास्पद बाबाजी चाहिं यी हुन् । पढ्नुस यिनको चर्तिकला:
५. निर्मल बाबा

nirmal baba
सन् १९५२ मा पञ्जाबको पटियाला नजिक जन्मेको निर्मलजीत सिंह निरुला अर्थात् निर्मल बाबा आफूलाई निर्वाण प्राप्त बाबा भन्छन् । उनका अनुसार उनले सन् १९८० मा झारखण्डको जंगलमा मोक्ष प्राप्त गरेका थिए । त्यसै समयदेखि उनले आफ्नो सिख परम्पराको दारीकपाल खौरेर नाम राखेका थिए निर्मल बाबा ।
यी आध्यात्मिक बाबासँग अहिले दुई सय पैंतिस करोड अकुत सम्पत्ति रहेको रहस्य खुलेको छ । उनको चर्को दबाब परेपछि उनले आफ्नो निर्मल दरबारको आम्दानी दुई सय पैंतिस करोड भारु रहेको स्वीकारेका छन् । अहिले उनीविरुद्ध भ्रष्टाचार र अनैतिक आर्जनका थुप्रै मुद्दाहरु छन् ।
४. नारायण साई

narayan sai
यी बहुचर्चित बाबाजी आशाराम बापुका ४१ वर्षीय छोरा हुन् । यिनलाई सन् २००२ देखि २००५ सम्म एक महिला लजमा महिलाहरुमाथि बलात्कार र यौन शोषण गरेको अभियोग लागेको छ । देशभरिका आठ महिला भक्तहरुसँग शारीरिक सम्बन्ध राखेको आरोप पनि उनीमाथि छ ।
गुजरात प्रहरीले नारायण साइको सम्पत्ति र लगानी पाँच हजार करोड रहेको अनुमान गरेको छ ।
३. नित्यानन्द स्वामी

nitya nanda
स्वामी परमहंस नित्यानन्द एउटा यौनजन्य भिडियोमा देखिएपछि चर्को विवाद र बहसमा फँसेका बाबाजी हुन् । एउटा समाचार च्यानलले नित्यानन्द र दक्षिण भारतीय अभिनेत्री रन्जिताबीचको भिडियो सार्वजनिक गरेको थियो ।
यी बाबाजीको नित्यानन्द ध्यानपिदम नामको दरबार बैंगलोर–मिजोर राजमार्गसँगै छ । उनको आश्रम तामिलनाडु, बनारस र पुरीमा छ भने ध्यान केन्द्रहरु दर्जनौ देशहरुमा छन् ।
२. आशाराम बापु

asharam bapu
यी बहुचर्चित आशाराम बापु हुन् । उनको आश्रम अहमदाबादको सबामति भन्ने ठाउँमा छ । ध्यान, योग र प्रार्थना गर्ने हजारौं भक्तजनहरु यहाँ आइपुग्छन् । उनको गुरुकुल आश्रममा अध्ययन गर्ने दुई जना छात्रहरुको रहस्यमय मृत्यु सनसनीपूर्ण समाचार बनेको थियो ।
ती विद्यार्थीहरु सन् २००८ को जुलाई ४ मा हराएका थिए र जुलाई पाँच मृत फेला परेका थिए । उनीमाथि थुप्रै महिलाहरुमाथि यौन दुव्र्यवहार र शोषण गरेको विषय पनि अघिल्ला वर्षमा भारतभरि सर्वाधिक चर्चाको विषय बनेको थियो । बलात्कारकै आरोपमा उनी पक्राउ समेत परेका थिए । उनीसँग सात सय करोड भारतीय रुपैंया बराबरको सम्पत्ति भएको बताइन्छ ।
१. सन्त रामपाल

rampal
विवाद र चर्चाको पछिल्लो शृंखलामा आएका छन् सन्त रामपाल । उनीमाथि परेका मुद्दा अनुसार उनलाई प्रहरीले अदालतमा हाजिर गर्ने प्रयास गरिरहेको छ भने उनका समर्थकहरुले उनका हिसारको आश्रममा प्रहरीलाई पस्नै दिएका छैनन् ।
६३ वर्षीय यी बाबाजी पहिले सरकारी इन्जिनियर थिए । दयानन्द सरस्वतीमाथि यिनले सन् २००६ मा दिएको बयानका कारण भएको झडपमा एकजनाको मृत्यु र दर्जनौ घाइते भएका थिए । त्यसपछि यिनी केही समय जेल पनि बसेका थिए । अहिले फेरि यिनी भारतभरि चर्चाको पहिलो नम्बरमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us