काठमाण्डु कचौरामा राखेको दहीजस्तो छ, भूकम्प आउँदा छचल्किन्छ

काठमाण्डु टुडे २०७१ पुष ४ गते ११:४५ मा प्रकाशित

kathmandu valleyभूकम्प भनेको को हो ?
भूकम्प भनेको पृथ्वीको कम्पन हो । केन्द्रबिन्दुबाट भूकम्पका तरंगहरु चारैतिर फैलिन्छन् । यसरी केन्द्रबिन्दूबाट  फैलिएका भूकम्पका तरंगहरु फैलँदा जमिन वा जमिनमाथि बनेका संरचना हल्लने गर्दछन् । भूकम्पका तरंगहरुको प्रसारका क्रममा जमिन हल्लने प्रक्रिया नै भूकम्प हो । अर्को शब्दमा भूकम्प भनेको एक प्राकृतिक प्रक्रिया हो । मानिसले भूकम्प रोक्न सक्न त यसको भविष्यबाणी नै गर्न सकिन्छ । भूकम्पले केही सेकेण्ड वा मिनेटमै अकल्पनीय क्षति निम्त्याउन सक्छ । भूकम्प रोक्न वा भविष्यबाणी गर्न नसके पनि पूर्वतयारी वा सतर्कता अपनाएको अवस्थामा त्यसको असरबाट धेरै हदसम्म जोगिन सकिन्छ ।
भूकम्प किन जान्छ ?
पृथ्वीको माथिल्लो भाग धेरै टुक्रामा विभाजित हुन्छ । यसको मोटाइ करिब ८० देखि १०० किलो मिटर छ । यी टुक्राहरुलाई टेक्टोनिक प्लेट भनिन्छ । यी टेक्टोनिक प्लेटहरु मुनि रहेको एस्थेनोस्फेयरमा समुन्द्रमा ढुंगा तैरेजसरी तैरिइरहेका हुन्छन् । निश्चित दिशामा हिँड्ने क्रममा ती प्लेटहरु कहीँ एक अर्काबाट टाढा गइरहेका हुन्छन् भने कहीं नजिकिन्छन् । त्यसी क्रममा प्लेटहरु आपसमा ठोक्किने वा अर्कोको मुनि घुस्ने हुन्छ ।
यसरी प्लेटहरु ठोकिने, एक प्लेट अर्कोको मुनि घुस्ने वा प्लेटहरु घोटिने क्षेत्रमा दबाब सृजना हुनपुग्छ । केही समयसम्म यस्तो दबाब सञ्चित भएर रहन्छ तर जब दबाब त्यस क्षेत्रमा रहेका चट्टानको इलास्टिक लिमिटभन्दा बढी हुन पुग्छ तब पृथ्वीको माथिल्लो तहमा रहेका चट्टानहरुमा नयाँ अथवा पूराना चिराहरुमा विस्थापन हुन्छ । यसरी चिराहरुको सृजना वा पुराना चिराहरुमा हुने विस्थापनको क्रममा सयौँ वर्षदेखि संचित उर्जा भूकम्पका तरंगहरुको रुपमा प्रसारण भएर तथा केन्द्रबिन्दूको क्षेत्रमा तापशक्ति उत्पन्न भई नास हुन पुग्छ । टेक्टोनिक प्लेटहरुको बीचमा हुने घर्षणको कारणले संचित उर्जा एक्कासि बिसर्जन
हुँदा भूकम्पको उत्पत्ति हुन्छ । केन्द्रबिन्दुमा जति कम गहिराइमा भूकम्पको विस्फोटन हुन्छ त्यति बढी खतरा हुन्छ ।
नेपाल उच्च जोखिममा
नेपाल उच्च भूकम्पीय जोखिम भएको मुलुक हो । विश्वका एक सय ९८ मुलुकमध्ये भूकम्पीय विपतको जोखिमका दृष्टिले नेपाल ११ औं स्थानमा पर्छ ।  यो भारतीय र तिब्बतीयन प्लेटको बीचमा छ । दुई प्लेटको बाउन्ड्रीमा रहेको स्थान भूकम्पीय हिसाबले धेरै जोखमियुक्त हुन्छ ।
चीन, अमेरिका, जापानजस्ता देशमा धेरै भूकम्प जानुमा पनि यस्तै भौगोलिक बनावटले काम गरेको छ । प्टेलहरु आपसमा जुधेको वा ठोक्किएको बेलामा त्यसबाट उत्पन्न हुने कम्पन थेग्न नसक्ने भयो भने भूकम्प जान्छ ।
भूकम्प कहिल्यै एकनासको हुँदैन  । त्यो सानो वा ठूलो दुवै हुन्छ । सबै भूकम्प ठूला हुँदैनन् । ५ रेक्टर स्केलदेखि माथिको भूकम्पलाई ठूलो मानिन्छ । ६ रेक्टरको भूकम्प ५ रेक्टर स्केलको भन्दा ३२ गुणा शक्तिशाली हुन्छ । यस्तै ५ भन्दा ७ रेक्टर सकेलको भूकम्प हजारौं गुणाले ठूलो र शक्तिशाली हुन्छ । ५ रेक्टर स्केलको एक हजारवटा भूकम्प र सात रेक्टरको एउटा भूकम्पको शक्ति बराबर हुन्छ । ठूला भूकम्प जाने खतरा साना भूकम्प गएर टर्दैन । भूकम्पलाई एउटा नाप र अर्को असरमा मापन गरिन्छ । असरलाई तीव्रतामा नापिन्छ । अर्थात भूकम्प जाँदा नाप्ने भनेको एउटा शक्ति र अर्को क्षति हो । हामी बसेको ठाउँ कमजोर छ भने सानै भूकम्पले पनि ठूलो क्षति पुग्नसक्छ । हुन त भूकम्प जति ठूलो गयो त्यति धेरै हल्लाई र त्यति नै धेरै क्षति हुने हो । तर कमसल ठाउँमा थप धेरै क्षति हुन्छ । उदाहरणका लागि एउटा घरको भित्तो एक लात्ती हान्दा ढल्छ तर अर्को घरको भित्तो ढाल्न पाँच लात्ती हान्नुपर्छ । यहाँ लात्ती भनेको भूकम्पको शक्ति र भित्तो ढलेको भनेको असर हो ।

काठमाण्डु कचौराको दहीजस्तो
भूकम्पीय हिसाबले नेपाल जोखिममा छ । तर नेपालको पनि सबैभन्दा उच्च जोखिमयुक्त काठमाण्डु उपात्यका छ । भूकम्पको असर सामान्यतया एक सय किलोमिटर आसपासमा बढी हुन्छ । पूर्व–पश्चिम जता भूकम्प गए पनि काठमाण्डुमा धेरै असर पुग्छ । क्षति हुन काठमाण्डुमै वा नजिकै भूकम्प जानुपर्छ भन्ने छैन । एकसय किमीको दूरीमा जता भूकम्प गए पनि तरंगहरु काठमाण्डु छिर्छन् । काठमाण्डु पहिला ताल थियो । तालको पुरिएर पछि समथर भू–भाग बनेको हो । सरल भाषामा भन्नुपर्दा यो कचौरामा दही राखेजस्तो हो । जसरी कचौरा हल्लाउँदा दही थलथल पर्छ, त्यसरी नै भूकम्प आउँदा दही थलथल हल्लेको जस्तो हल्लिन्छ ।

सतर्कता अपनाए बच्न सकिन्छ
भूकम्प नियमित प्राकृतिका प्रक्रिया हो । तर त्यसको असरबाट भने बच्न सकिन्छ । हाम्रा गतिविधि र हामी बस्ने भौतिक संरचना भूकम्पमैत्री हुनुपर्छ । घर बनाउँदा निर्माण सामग्रीको गुणस्तरीयतामा ध्यान दिनुपर्छ । रड, सिमेन्ट, बालुवा, गिटी र ढुंगा मात्र थुपारेर हुँदैन । त्यसको गुणस्तर राम्रो हुनैपर्छ । अर्को कुरा घर बनाउँदा दक्ष प्राविधिकमार्फत नक्साङ्कन गरेर बनाउन राम्रो हुन्छ । मानिस मर्नका लागि भूकम्प आउदै पर्दैन । कहिले काहीं ठेस लागेर वा ढलौटको अम्खराले लागेरै पनि मानिसको ज्यान जान सक्छ । भूकम्प आउँदा भाग्नु झन खतरा हो । किन भने भूकम्पले भौतिक संरचना भत्काउँछ र मानिस त्यसको खण्डहरुमा पुरिन्छ ।
भूकम्प आयो भने घरको ढोकाको चेपमुनि, बेटलमुनि वा खाटमुनि टाउको निहुर्‍याएर गुडुल्किएर बस्नुपर्छ । सुरक्षाका लागि टाउकामा केही सामान राख्नुपर्छ । आजभोलि भूकम्प आएपछिको अवस्थाका लागि एउटा झोलामा केही दिनका लागि खानेकुरा, औषधि र पानी हरहालत तयारी अवस्थामा राखेर बस्ने चलन पनि आएको छ । नेपालीहरुमा संकट व्यस्थापनमा ध्यान र ज्ञान राम्रो छ । तर संकट रोक्ने पूर्वतयारी छैन ।  हाम्रो जस्तो देशमा एकदिन अवश्य ठूलो भूकम्प आउँछ, यो कुरा पक्का हो । भूकम्प नआउने बनाउन सकिँदैन त्यसो भनेर डराएर हँुदैन । यो एउटा नियमित प्राकृतिक प्रक्रिया हो । रोक्न सकिँदैन ।

रिसर्चमा ध्यान छैन
हाम्रो देशमा रिसर्च कम र हल्ला धेरै हुने गरेको छ । भुक्म्पको विषयमा पनि अनुसन्धान पटक्कै हुने गरेको पाइँदैन । एकाथरि मानिसहरु अनुसन्धान नै नगरी अनुमानका भरमा काठमाण्डु यति र उति क्षति हुन्छ भन्ने भविष्यबाणी गर्ने गर्छन् । त्यस्ता कुरामा विश्वास गर्नु हुँदैन । त्यसले मानिसलाई अनावश्यक रुपमा आतंकित पार्ने काम गर्छ । सरकारको पनि रिसर्चमा ध्यान छैन । विकसित मुलुकहरुले भूकम्प आउने बाटो पत्ता लगाएर क्षति कम गर्न कोसिस गरिरहेका छन् । हामी पनि अनुसन्धानमार्फत त्यो गर्न सक्छौं । तर हाम्रो सरकार वा अन्य क्षेत्रले रिसर्चमा ध्यानै दिएको छैन ।
हाम्रोजस्तो गरिब देशमा भूकम्प प्रतिरोधी घर बनाउने नाममा धेरै खर्च हुने गरेको छ । तर अनुसन्धानमा कसैले एक रुपैयाँ खर्च गर्दैन ।

भूकम्प वर्षका हिसाबले आउँदैन
एकथरि मानिसहरु नेपालमा ६० देखि ७० वर्षको बीचमा ठूलो भूकम्प आउने विश्वास गर्छन् र प्रचार पनि त्यही गर्छन् । यो कुनै वैज्ञानिक तर्क र तथ्यबिनाको आधारहीन कुरा हो । भूकम्प कुनै वर्षका हिसाबले होइन । भूकम्प पृथ्वीको भित्री तहमा रहेका विभिन्न टुक्राहरुबीच हुने टक्करबाट आउने कम्पन हो । यो यत्तिनै वर्षमा हुने भन्ने हुँदैन ।

कहिले कहिले गयो नेपालमा ठूला भूकम्प ?
१९९० को माघ २ मा ८ दशमलब ४ रिक्टरस्केल क्षमताको भूकम्प गएको थियो । उक्त भूकम्पमा ३ हजार ८ सय ५० पुरुष र ४ हजार ६ सय ६९ महिला गरी ८ हजार ५ सय १९ जनाको ज्यान गएको थियो । घर, विद्यालय, देवालय र पाटी पौवा तथा सार्वजनिक भवन गरी झन्डै दुई लाख सात हजार सात सय ४० संरचना भत्किएको थियो ।
२०४५ को भदौ ५ मा ६ दशमलब ६ रेक्टरस्केल क्षमताको भूकम्प गएको थियो । बिहान ४ बजे उदयपुर जिल्लामा केन्द्रबिन्दु भएर गएको ६ दशमलब ६ रेक्टरस्केल क्षमताको भूकम्पले निकै ठूलो क्षति पुगेको थियो । त्यतिबेला ७ सय २१ जनाको मृत्यु भएको थियो भने ६५ हजारभन्दा बढी संरचना ध्वस्त भएका थिए । २०२३ र २०३७ सालमा सुदूरपश्चिमका दार्चुला, बैतडी र बझाङ जिल्लामा गएको भूकम्पमा करिब एक सय २० जनाको ज्यान गएको थियो ।

गृह मन्त्रालय र जापान सहयोग नियोग (जाइका) ले सन् २००२ मा गरेको संयुक्त अध्ययन प्रतिवेदनले नेपालमा १९९० सालको माघ महिनामा गएको ८ दशमलब ४ रेक्टरस्केल क्षमता बराबरको भूकम्प गएमा राजधानीमा मात्र ४० हजार जनाको ज्यान जान सक्ने र ९५ हजार घाइते हुनुका साथै ६० प्रतिशतभन्दा बढी संरचनता ध्वस्त हुने देखाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us