
काठमाण्डु, ६ पुस– एकीकृत माओवादी स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ नेक्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा माओवादीमा जाने भएका छन् ।
स्रोतका अनुसार चन्दसँग पार्टी विभाजनअघि र पछि गरी पटकपटक भएको छलफलपछि शर्मा चन्दलाई साथ दिने निर्णयमा पुगेका हुन् ।
व्यवस्थापिका–संसदअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका शर्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का मुख्य सहयोगीमध्येका एक मानिन्छन् ।
शर्मा दुवै संविधानसभा निर्वाचनमा रुकुम क्षेत्र नम्बर– २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । श्रोतले काठमाण्डु टुडेलाई जनाएअनुसार शर्माले विप्लवको ‘एकीकृत क्रान्ति’ को कार्यदिशालाई खुला मोर्चामा बसेर सघाउने छन् ।
यसअघि १० वर्षे सशस्त्र जनयुद्धका क्रममा त्यस्तो मोर्चाको नेतृत्व स्वर्गीय भक्तबहादुर श्रेष्ठले गरेका थिए ।
शर्मा पछिल्लोपटक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता बाबुराम भट्टराईबीच भएको पद बाडफाँडसम्बन्धी सहमतिप्रति रुष्ट छन् ।
उनले निकटस्थहरुसँग ‘प्रचण्ड–बाबुरामले गरिनखाने’ भन्दै विप्लवले थालेको पहलबाट आशा जगाएको बताउने गरेका छन् ।
विराटनगर राष्ट्रिय सम्मेलनपछि पदाधिकारी चयनका लागि भएको निर्वाचनमा शर्माले सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका थिए । तर असन्तुष्ट बाबुराम भट्टराई पक्षधरलाई समेत समेटेर लैजानुपर्ने भन्दै पार्टी हेर्डक्वाटरले निर्देशन दिएपछि शर्मा पछि हटेका थिए । हाल उनी पार्टी स्थायी समिति सदस्य छन् ।
केही दिनअघि एक अनलाइनलाई दिएको अन्तर्वार्तामा उनले कुनै हालतमा उक्त सहमति कार्यान्यवन हुन नदिने चेतावनी दिएका थिए ।
शर्मा जनयुद्धका क्रममा चार डेपुटी कमाण्डरमध्ये एक हुन् । दलहरुबीच १२ बुँदे सहमति हुनुअघि उनले कालिकोटको पिलीमा तत्कालिन शाही नेपाली सेनाको अस्थायी क्याम्प कब्जा गर्नुका साथै पाल्पा, नवलपरासीसहित जिल्लामा पर्ने राजमार्ग नियन्त्रणमा लिएर मोर्चाबन्दी युद्धको नेतृत्व गरेका थिए ।
शर्मा माओवादी जनयुद्धका प्रमुख लडाकु कमाण्डरमध्येक एक हुन् । आवश्यक परे सभासदबाट समेत राजीनामा दिन तयार रहेको बचन उनले विप्लवलाई दिइसकेका छन् ।
विप्लवले कार्यकर्ता भेलाहरुमा शर्माले आफूहरुलाई साथ दिने पक्का भइसकेको भन्दै जनयुद्धका थुप्रै नेता कार्यकर्ता आफूहरुतिर आउने बताउने गरेका छन् ।