एक्जियटाले भन्योः एनसेलले कर तिर्दैन !

काठमाण्डु टुडे २०७५ माघ २७ गते १४:०६ मा प्रकाशित

काठमाण्डु, २७ माघ – एनसेललाई होल्ड गर्ने कम्पनी एक्जियटाले एनसेल खरिद विक्रिमा भएको लाभकर तिर्ने दायित्व आफ्नो नभएको बताएको छ ।

सर्वोच्च अदालतले एनसेल र एक्जियटाबाट कर उठाउनू भनेर रिट जारी गरेपछि एक्जियटाले यस्तो विज्ञप्ति निकालेको हो । एक्जियटाले लाभकर तिर्ने दायित्व बेच्ने टेलिया कम्पनीकै भएको बताएको छ ।

एक्जियटाले ठूला करदाता कार्यालयले किनबेचका लागि ‘क्लिरियन्स’ दिइसकेको अवस्थामा लाभकरको विषय टुंगिएको र आफूहरुको तिर्नुपर्ने दायित्व नभएको प्रष्टाएको हो ।

साथै एक्जियटाले देश बाहिरको कारोबारमा लाभ करको विषय आकर्षित नहुने र भइहाले पनि बेच्नले दायित्व बहन गर्नुपर्ने बताएको छ ।

अर्थ समितिले भन्योः एनसेललाई छिटो बक्यौता तिराउ

अर्थ समितिले दूरसञ्चार कम्पनी एनसेलसँगको बोक्यौता रकम उठाउने प्रक्रिया तत्काल थाल्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । आइतबार बसेको अर्थ समितिको बैठकले एनसेलसँगको सो बक्यौता तत्काल उठाउन निर्देशन दिएको हो ।

अर्थ मन्त्रालयको अनुसार एनसेलसँग आवद्ध कम्पनीको बक्यौता ७२ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । अर्थ समितिमा मन्त्रालयले पेस गरेको सूचना अनुसार पुँजीगत लाभकर र गैरकर, आय कर, भ्याटबापत एनसेलले सरकारलाई ७२ अर्ब ५८ करोड तिर्न बाँकी देखिएको हो ।

त्यस्तै अन्य दूरसञ्चार कम्पनीहरुको बक्यौता रकम भने जम्मा ४ करोड रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ ।

अर्थ समितिको उक्त बैठकले एनसेलको बक्यौता रकम उठाउने प्रक्रिया तत्काल थाल्न अर्थ मन्त्रालयलगायतका सम्बन्धित निकायलाई निर्देशन जारी गरेको छ । एक महिनाभित्र उक्त रकम उठान गरिसक्ने निर्देशन दिएको हो ।

बैठकमा अर्थमन्त्री युवराज खतिवडाले एनसेलको पूँजीगत लाभकर कति उठाउने भन्ने विषयमा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ हेर्न पर्ने जानकारी गराएका थिए ।

‘दायित्व कसलाई तोकेको हो त्यसलाई आधार मानेर अघि बढ्नु पर्छ’ मन्त्री खतिवडाले भने, ‘पूर्णपाठ नहेरी अहिले नै पुँजीगत लाभकर उठाउने प्रक्रिया थालनी गर्न सकिँदैन ।’ उनले एनसेलको खरिद बिक्रीमा कति लाभकर लाग्छ भन्ने आँकडा पनि अदालतले गरेको फैसलाको पूर्णपाठ आएपछि मात्र बताउन सक्ने समितिमा बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us