अब फेसबुकलाई सूचना दिए पैसा पाइने !

काठमाण्डु टुडे २०७६ जेठ २९ गते ११:१५ मा प्रकाशित

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले आफूलाई केही विशेष जानकारी दिने प्रयोगकर्तालाई पैसा दिने नयाँ एप ल्याउने भएको छ ।

स्टडी नाम दिइएको उक्त एप एन्ड्रोइडमा उपलब्ध हुनेछ । स्टडी एपले प्रयोगकर्ता कुन कुन एप्लिकेसन, कुन देशबाट कति समयसम्म प्रयोग गरिरहेका छन् भन्ने जानकारी लिने छ ।

फेसबुकले स्टडीमार्फत् प्रयोगकर्ताका सन्देश, पासवर्ड र खोलेका वेवसाइटहरूजस्ता वैयत्तिक र गोप्य विवरण भने संकलन नगरिने जनाएको छ ।

यसअघि फेसबुक रिसर्च नामको एपबाट फेसबुकले यस्ता डाटाहरू संकलन गर्न लागेको थियो । तर उक्त एपले टिनएजर्सलाई लक्षित गरेको र गोपनियतामाथि हस्तक्षेप गरेको भन्दै विरोध गरेपछि बन्द गरिएको थियो ।

फेसबुकले फेरि त्यस्तै खालको एप सार्वजनिक गर्न लागेको हो । तर स्टडी एपमा सहभागी हुने प्रयोगकर्ता १८ वर्ष कटेको हुनुपर्छ । फेसबुक एकाउन्टमा भएको जन्ममितिका आधारमा उमेर तय हुनेछ ।

फेसबुकले यसरी तयार भएको विवरण विज्ञापन पठाउन वा अन्य प्रयोजनका लागि प्रयोग नहुने बताएको छ ।

फेसबुकबाट पैसा पाउन प्रयोगकर्ताको पेपल खाता हुनुपर्नेछ । कति विवरण दिएवापत् कति पैसा पाइन्छ भन्नेबारे खुलाइएको छैन । यो एप सुरूमा अमेरिका र भारतमा लञ्च गरिनेछ ।

सबै फेसबुक प्रयोगकर्ताले स्टडी एप प्रयोग गर्न पाउने छैनन् । लक्षित प्रयोगकर्ताको समूहको वालमा फेसबुकले स्टडी एपको विज्ञापन देखाउनेछ । त्यसैमा क्लिक गरेर साइन इन गर्न सकिने समाचार संस्था एपीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us