जन्मदिनमा ज्ञानेन्द्रको सन्देशः म राजा बनेर देश हाँक्ने रहर र लहड भएको मान्छे होइन

काठमाण्डु टुडे २०७६ असार २३ गते १८:३५ मा प्रकाशित

सिंगो नेपाल राष्ट्रका निर्माणकर्ता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको वंशवृक्ष, प्रजातन्त्रदाता श्री ५ त्रिभुवनको पौत्र र नेपाली राष्ट्रवादका पृष्ठपोषक राजा महेन्द्रको मध्यम पुत्र एवं विकास चिन्तक राजा वीरेन्द्रका भ्राताका रुपमा हाम्रो मातृभूमि नेपालमा म पैदा भएँ । सदा शान्त, सौम्य, सुन्दर यो गौरवशाली स्वाधीन नेपाल राष्ट्रमा जन्मन पाएको, यहाँकै माटोमा हुर्कन पाएको र यहीँको धर्तीको सेवामा जुट्न रम्न पाएकोमा म आफूलाई भाग्यशाली ठान्दछु ।

म नेपालको भक्त हुँ । देशभक्ति मेरो रक्त कण कणमा प्रवाहित छ । नेपालको प्रकृतिप्रति मेरो अगाध प्रेम छ । यही मनोहारी प्रकृतिको संरक्षण संवर्द्धन र सम्मोहनमा मेरो मन निमग्न रहेको पनि हो । मेरो त्यो आस्था, आफ्नो प्रकृतिसँगको त्यो नाता, मोह ममता आज पनि उत्तिकै छ । हो म राजकुलमा जन्मेँ । नेपालको राज परम्परा सदा नै लोकहितकारी रह्यो, त्यसमा मलाई गर्व छ । आफ्नो देश, आफ्नै देशको माया गर्ने र आफ्नो वंश परम्पराको सम्मान गर्ने एक भावुक प्रकृतिको मान्छे म । म डाँडाकाँडा घुमेँ । पाखा पर्वत पुगेर रमाएँ । तराईका वैभवशाली समथर फाँट एवं वस्ती–वस्तीमा पुगेर मैले हाम्रो प्राकृतिक तथा सामाजिक विविधता तथा विकास र पछौटेपनको सूक्ष्म अध्ययन पनि गरेँ । कैयन् नदीनाला खोला खाल्सी तरेँ । भावुकतावश यही नेपालको गीत गुन्गुनाएर रमाएँ ।

नेपालको इतिहास, यहाँको प्रकृति, सामाजिक संरचना र अवस्था व्यवस्थालाई आत्मसात् गरेर प्रकृति संस्कृति तथा परिस्थितिमा रमाएको मलाई नेपालको ठूलो महान् र विशिष्ट मान्छे बन्ने लालसा थिएन। मैले पछि थाहा पाएँ, अवोध बाल्यावस्थामै मेरो शीरमा नेपाल राष्ट्रको श्रीपेच पहिर्‍याइयो । त्यो इतिहासले अंकित गरेको विषय भएर पनि मलाई त्यस मानेमा गर्वको कुनै अनुभव रहेन । जान्ने बुझ्ने भएपछि मैले आफ्ना बुवाज्यू राजा महेन्द्रको शासनकालमा र दाज्यैज्यू राजा वीरेन्द्रको राज्यकालमा उहाँहरुलाई सघाउने तथा उहाँहरुका समीप भावपूर्वक रहेर नेपाली प्रकृति तथा यसको समुन्नतितर्फ नै आफूलाई समर्पित राखेँ ।

वि.सं. २०५८ को जेठमा आएर नेपालमा एक अकल्पनीय दुःखद अत्यन्त मर्माहत घटना घट्यो । जो सबैका निम्ति त्राशदीपूर्ण थियो, आश्चर्यकारी थियो । अचानक ममाथि ठूलो बज्रपात भयो । सोच्दै नसोचेको आफ्नै वंश नाशको पीडा मैले भोग्नु पर्‍यो । राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित मेरा दाजु–भाउजू, भाइ–भतिज, धेरैको वियोगको वेदना भोग्नु पर्‍यो । जेठ १९ गतेको त्यो अकल्पनीय त्रासदीपूर्ण पीडादायी घटना मेरा आँखामा प्रत्यक्ष रहेन । म राजधानी बाहिर थिएँ, घटना उप्रान्तको विभत्स दृष्य मात्र मैले देख्नु पर्‍यो, सहनु पर्‍यो । दरबारभित्रको त्यो कार्यक्रममा मेरी श्रीमती कोमल पनि सम्मिलित थिइन् । त्यो घटनामा मेरी श्रीमतीलाई भगवानले कसरी बचाए कुन्नि, उनीलाई पनि गोली लागेको थियो । ठूलै शल्यकृयापछि पनि अझै पनि उनको शरीरमा गोलीका टुक्राहरु बाँकी रहेको कुरा चिकित्सकहरु व्यक्त गर्दछन् । मलाई कताकता पीडाबोध भइरहन्छ ।

त्यतिखेर परिस्थिति, विधि र परम्पराको बाध्यताभित्र रहेर मलाई नेपाल राष्ट्रको राजा बन्नुपर्ने अवस्था आयो । मैले सार्वजनिक, औपचारिक, अनौपचारिक तथा आम साञ्चारिक क्षेत्रको त्यो पीडा एवं बाध्यता पटकपटक अभिव्यक्त पनि गरिसकेको छु । मैले धेरै ठाउँमा भनेँ,–प्रकृतिमा रमाएको र आफ्नै भावनामा बगेको एक राष्ट्रभक्त चरित्र मलाई राजा बनेर देश हाँक्ने कुनै रहर र लहड थिएन । तर नेपालको परम्परा, संवैधानिक व्यवस्था तथा तत्कालीन घटनाचक्रको अवस्थाभित्र रहेर मैले नेपालको राजगद्दी सम्हाल्नु पर्यो । नेपाली राजपरम्पराको लोककल्याणकारी आदर्शकै अवलम्बन गरेर अब मैले राष्ट्र, राष्ट्रवासी र राष्ट्रिय व्यवस्था अवस्थामा आफूलाई लगाउनु पर्‍यो, लगाएँ, लागेँ र प्रजातान्त्रिक आदर्शलाई अगाडि बढाउँदै आफूलाई संवैधानिक दायरा अनुरुप नै आफ्नो धर्म निर्वाह गरेँ ।

नेपालको राजदरबारभित्र भएको अकल्पनीय घटना पश्चात् आएको राजनीतिक घटनाक्रमको श्रृङ्खलामा फेरि पनि अनेकथरी गतिविधिहरु भए । तत्कालिन संवैधानिक व्यवस्थाभित्र अनेक व्यवधानहरु खडा गर्ने बखेडा विद्रोह आदि भए । संवैधानिक राजतन्त्र र बहुदलीय संसदीय शासन प्रणालीलाई चल्न नदिन अनेक अवरोधक परिस्थितिहरु पैदा भए । चल्दै आएको सुचारु परिपाटीले काम नचलेपछि अरु कुनै वैकल्पिक सोचले केही हुन्छ कि भनेर सोचियो । वार्ता सम्वाद, सहमति र सुचारु गतिविधिका अनेक उपायहरु पनि गरियो । वि.सं. २०६२/६३ र ६४/६५ सम्म आइपुग्दा देशको परिस्थितिले के–के कोल्टो फेर्‍यो। त्यतिखेर कतिलाई अतितको बोध हरायो, कतिलाई भविष्यको अनेक सपना तानाबानाले तान्यो।  के–के भयो के–के । राजनीतिमा देशी विदेशी र राज्य व्यवस्थाका दिग्गज पण्डितहरु नै दिग्भ्रमित भएपछि मैले राजपाठ परित्यागको एउटा सामयिक अठोट गरेँ । उदारतापूर्वक परिवर्तनकारी शक्तिहरुबाटै यो मातृभूमिको उत्तरोत्तर प्रगति होला कि भन्ने सोच राखेर नासोका रुपमा श्रीपेच सुम्पेर नारायणहिटी राजदरबारबाट निस्किएँ ।

वि.सं. २०६५ साल जेठ २९ गते नारायणहिटी राजदरबारमा भएको पत्रकार सम्मेलनमार्फत् देशवासीलाई सम्बोधन गर्दा मैले भनेको थिएँ, – राष्ट्राध्यक्षको हैसियतमा काम गर्दा मैले कुनै कसैको अधिकार हनन् हुने काम गरिनँ । अहिले पनि म आफ्नो अन्तर्हृदय पोख्दछु कि मैले आफ्नो सात वर्षे त्यो राज्यकालमा जे गरेँ, त्यो तत्कालीन संवैधानिक जटिलता र अवरुद्धताको कार्य कारणमै भएर गरेको हो । अन्यथा मेरा यावत् कार्यकलाप देशहित विरुद्ध थिएनन् । अनि त्यतिखेर मैले भनेको थिएँ, ‘म जुनसुकै हैसियत र अवस्था रहेपनि नेपाल राष्ट्रको स्वतन्त्रता, अखण्डतामा समर्पित रहने प्रण गर्दछु, किनकि मलाई स्वतन्त्र राष्ट्र नेपालको माया छ ।’ अहिले पनि १२ वर्ष अघिको आफ्नो त्यो कथनको स्मरण गर्दै मेरो अन्तर्मन भन्छ,– हाम्रो यो प्यारो देश नेपाल हामी सबै मिलेर बचाउने हो, बनाउने हो । हामी सबै मिलेर हाम्रो देश सिगार्ने हो अनि हामी सबै जुटेर हाम्रो देशका सबै जनतालाई सुखी र समृद्ध बनाउने हो ।

अहिले हाम्रो मुलुक नयाँ परिवर्तनमा छ । राजनीतिक परिवर्तनको इच्छा र समसामयीक सन्दर्भलाई बुझेर मैले लोकसम्मत आधारलाई अख्तियार गरेँ । तत्पश्चात पनि एक स्वतन्त्र नागरिकका हैसियतले मैले राष्ट्रभक्ति तथा जनहितकारी कार्यविधिलाई नै आफ्नो राष्ट्रिय धर्म ठान्दै आएको छु । गहन जिम्मेवारी र शासकीय अभिभाराबाट पृथक रहेर पनि मैले यताका १०–१२ वर्षमा निकै पटक देश दर्शन गरेको छु । धेरैधेरै जनताका हृदय स्पन्दन छामेको छु र राष्ट्रको अवस्थाको बोध गर्दै आएको छु । सायद धेरैको चाहना भावना वा त्यस्तै केही महत्वबोधका कारणले होला मैले पटकपटक भनेका बोलेका कुराहरुलाई संग्रहित गरेर यो संग्रह प्रकाशन गरिएको जस्तो लाग्छ । जे होस्, यो आम जनसमक्ष छ । जे जसरी जसले यसलाई अर्थ्याउन् । मेरो अभ्यन्तरको, मेरो अन्तर्मनको आफ्नो स्पन्दन आफ्नो धड्कन त त्यत्ति हो,– यो राष्ट्रले उँचो गति लेओस्, यसको स्वाधिनता स्वाभिमान नगुमोस् र नेपाली जनता सुखी शान्त रहुन् ।

(साेमबार विमाेचित पूर्वराजा ज्ञानेन्द्र शाहकाे २०५८ देखि २०७६ सम्म व्यक्त गरेका भाषणाहरुकाे स‌गालाे  ‘सन्देश संग्रह’ मा प्रकाशित लेखकाे अ‌श)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us