चीनको ऋण जालमा नफसः बाबुराम

काठमाण्डु टुडे २०७६ असोज २३ गते १३:३० मा प्रकाशित

काठमाण्डु, २३ असोज– समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रेल ल्याउँदा चीनको ऋण जालमा नफस्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री केपी ओलीले बिहीबार बोलाएको पूर्वप्रधानमन्त्री, परराष्ट्रमन्त्री र विज्ञहरुसँगको छलफलमा भट्टराईले चीनसँग रेल नभई सडक निर्माणका लागि सहयोग लिन आग्रह गरे । छलफल चिनियाँ राष्ट्रपतिको आसन्न भ्रमणमा केन्द्रित थियो ।

भट्टराईले आफूले रेलमार्गका लागि अनुदान र ऋणको सन्तुलन मिलाउन सुझाव दिएको बैठकपछि ट्विटमार्फत जानकारी दिएका छन् । यस्तै आफूले चीन, भारत र अमेरिकासँग समानान्तर सम्बन्ध राख्न, बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) र इन्डो प्यासिफिक रणनीति दुबैबाट लाभ लिन, नेपाललाई भारत र चीनबीचको आर्थिक सेतुको विकास गर्न सुझाव दिएको बताए ।

भट्टराईले सीको नेपाल भ्रमणका क्रममा कर्णाली, गण्डकी र कोशी करिडोरलाई प्राथमिकता दिन, ऋण र अनुदान भन्दा औद्योगिक लगानी, व्यापार र पर्यटनमा जोड दिन तथा चीनसँग मात्र तत्काल सुपुर्दगी सन्धि नगर्न पनि सरकारलाई सुझाव दिएका छन् ।

लिपुलेकको त्रिदेशीय व्यापार मार्गमा भारत र चीनले मात्र सम्झौता गरेको भन्दै त्यसलाई सच्याएर नेपाल पनि जोडिनुपर्ने, सन् १९६० को नेपाल– चीन मैत्री सन्धि अद्यावधिक गर्ने प्रस्ताव चीनले राखेको भए दुवै पक्षको हितमा संशोधन गर्न भट्टराईले सुझाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us