बलात्कार पछि जिउँदै जलाएर २७ वर्षीय युवतीको हत्या

काठमाण्डु टुडे २०७६ मंसिर १३ गते १३:४० मा प्रकाशित

एजेन्सी भारतको तेलंगनाको हैदराबादमा प्रियंका रेड्डी नामकी २७ वर्षीया एक युवतीको बलात्कारपछि जिउँदै जलाएर हत्या गरेको घटना सार्वजनिक भएको छ ।
तेलुगु मिडियाको रिपोर्ट अनुसार प्रियंका जागिरे थिइन् र आफ्नो स्कुटीलाई टोंडुपल्ली टोल प्लाजा नजिकै पार्क गरेर ट्याक्सी चढेर काममा जाने गर्थिन् । कामबाट फर्कँदा उनले आफ्नो स्कुटी पंक्चर पाइन् । त्यसपछि प्रियंकाले स्कुटीलाई टोल प्लाजामा राखेर ट्याक्सी नै चढेर घर फिर्ता हुने निर्णय गरिन् । टोल प्लाजामा दुई व्यक्तिले प्रियंकालाई पंक्चर बनाइदिने अफर दिए र स्कुटी लिएर गए । यसबारे प्रियंकाले आफ्नी बहिनी भाव्यालाई फोन गरेर जानकारी दिएकी थिइन् । उनले बहिनीलाई सडकमा एक्लै उभिन डर लागिरहेको र अचानक केही मानिसहरु देखिएको र ट्रकजस्तो वस्तु देखिएको पनि बताएकी थिइन् ।
त्यसपछि प्रियंकाले आफ्नी बहिनीलाई केही बेरपछि फोन गर्ने बताउँछिन् तर त्यसपछि उनको फोन स्विच अफ हुन्छ ।
त्यसपछि उनको परिवारका मानिसहरुले टोल प्लाजा नजिकै प्रियंकाको खोजी गर्छन् र स्थानीय पुलिस स्टेशनमा प्रियंका हराएको भन्दै रिपोर्ट दर्ता गराउँछन् ।
बिहिबार बिहान एक निर्माणाधीन पुलमुनी आधा जलेको शव भेटिएको सूचना प्राप्त हुन्छ ।
त्यसपछि प्रियंकाका आफन्तले सनाखत गरे । जुत्ता र स्कार्फबाहेक सय मिटरको दुरीमा प्रियंकाको भित्री वस्त्र पनि भेटिएको थियो जसको आधारमा घरका सदस्यले उनको पहिचान सुनिश्चित गरे ।
तेलुगु मिडियाको रिपोर्टमा बताइए अनुसार दुर्घटना स्थलभन्दा केही पर उनको भित्री वस्त्र पनि भेटिएपछि प्रियंकामाथि बलात्कार भएको आशंका गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us