धरानमा कसरी भत्कियो कम्युनिष्ट किल्ला ?

काठमाण्डु टुडे २०७६ मंसिर २२ गते ८:३९ मा प्रकाशित

काठमाण्डु, २२ मंसिर– वर्षौंदेखिको एमाले किल्ला । माओवादीसँग एकीकरणपछि बनेको ठूलो दल । दुईतिहाइको सत्ताधारी ।

तर पनि धरानमा किन हार्योद नेकपा ? जिल्ला तहका नेकपा नेताहरू त्यसकै समीक्षा गरिरहेका छन् । धरान उपमहानगरको मेयरमा पहिलो जितपछि कांग्रेस भने खुसियाली मनाउँदै छ । बहुमत वडाध्यक्षसहित एमालेकै उम्मेदवार निर्वाचित भई कम्युनिस्ट विरासतलाई कायमै राखेका थिए । उपनिर्वाचनमा २६ हजार ७ सय ९ मत प्राप्त गरी मेयरमा कांग्रेसका तिलक राई मेयर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत ल्याए ।

नेकपाले हार्नुमा स्थानीय जनप्रतिनिधिमा दुईतिहाइ बहुमतको दम्भ, त्यसका कारण जनभावनाअनुसार काम गर्न नसक्नु र पार्टी एकीकरणमा ढिलाइ मुख्य कारक हुन् । पार्टीमा शीर्ष तहबाटै गुटबन्दी, कांग्रेसलाई अन्य दलको साथलगायत कारण चुनाव हारेको नेकपाकै नेताले औंल्याएका छन् ।पार्टी नेतृत्वको अहम र जनप्रतिनिधि सेवामुखीभन्दा पनि आफ्नै सेवासुविधामा मस्त भएका कारण नेकपाले पराजय बेहोर्नुपरेको धरान–१७ का नेकपा कार्यकर्ता शिव तामाङको बुझाइ छ । तिलक २०७४ को निर्वाचनमा तत्कालीन एमालेका तारा सुब्बासँग ४ हजार ७ सय ६९ मतान्तरले पराजित भएका थिए । तत्कालीन माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले त्यसबेला ११ हजार १ सय ८० मत पाएका थिए ।

तत्कालीन एमाले र माओवादीको मत कांग्रेस उम्मेदवारले पाएभन्दा १५ हजार बढी हुन आउँछ । तर, नेकपाका प्रकाशलाई उल्टै २ हजार ७ सय ९५ मतान्तरले पराजित गरी १८ हजार मत उल्ट्याउन कांग्रेसका तिलक सफल भए । नवनिर्वाचित मेयर राईले नेकपाकै मत प्राप्त गरी आफूले विजयी हासिल गरेको बताएका छन् । आफूले जिते पनि धरानको ‘लालकिल्ला’ भने नभत्किएको उनको भनाइ छ ।

मेयर तारा सुब्बाको निधनपश्चात उपमेयर मञ्जु भण्डारीले १६ महिना कार्यवाहकको जिम्मेवारी सम्हालिन् । कार्यबाहक मेयर भण्डारीले उक्त अवधिमा जसभन्दा बढी अपजस पाउने काम गर्नु नेकपालाई भारी बनेको विश्लेषक बताउँछन् । उपमेयर भण्डारीसहित धरान–१५ का वडाध्यक्ष नरेश इवारम, ११ का बाबुलाल गिरी, १६ का दिलकुमार गिरी, १७ का मनोज भट्टराई, ८ का रुद्र लिम्बू, ३ का आसकुमार श्रेष्ठ पनि यसमा कारक देखिएका छन् ।

विगतमा दोब्बर मतसहित निर्वाचित जनप्रतिनिधि व्यक्तिगत स्वार्थमा लागेपछि यसपटक नेकपाको तुलनामा बढी मत कांग्रेसले प्राप्त गरेको छ । २० वडामध्ये ४, ५, ६, २० मा राम्रै मत ल्याए पनि १५ र १७ झिनो मतले मात्रै नेकपा अगाडि आयो । ३ हजार मतले अग्रता लिनुपर्ने वडा नम्बर २, ८, ११, १३, १५, १६, १७ मा नेकपाले कम पाएपछि पराजय बेहोर्नुपर्योय । अन्नपूर्ण पोस्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us