मोबाइलले ल्यायो यस्तो डरलाग्दो समस्या

काठमाण्डु टुडे २०७६ पुष १० गते ९:४६ मा प्रकाशित

कालीकोट,१०पुस– कालीकोट जिल्लामा बालविवाहको दर बढ्नुमा मोबाइल प्रमुख कारण भएको पाइएको छ ।

मोबाइल फोनकै कारणले एक अर्कासँग चिनजान हुने र त्यसैको कारणले भागी विवाह गर्ने गरेको स्थानीयले बताएका छन् ।

तिलागुफा नगरपालिका-७ का सर्जिन भण्डाराले मोबाइल प्रयोगकर्ता किशोरीहरूले मात्र सानै उमेरमा विवाह गरेको दाबि गरे । उनले जसको हातमा मोबाइल छैन ऊ किशोरी विवाहप्रति चासो नराख्ने गरेको भन्दै सबै अभिभावकले आ-आफ्नो छोरीको हातमा भएका मोबाइल खोसेमा केही हदसम्म बालविवाह रोकिने बताए ।

मोबाइलसँगै विद्यालय पढ्ने बालबालिकाको उमेर घटाउने प्रवृत्तिका कारणले कालीकोटमा सोचेअनुसारको बालविवाह न्यूनीकरणका प्रतिफल नआएको स्थानीय नागरिकको भनाइ छ । विद्यालयमा भर्ना गर्दा जन्मदर्ता सच्चाइने गरिएकाले हाल आएर तथ्याङ्कमा बालविवाह देखिएको भण्डाराले बताए ।

हामीले बालविवाह बढिरहेको भनिरहेका छौँ तर बढेको होइन घटिरहेको छ । मात्र प्रमाणपत्रले बालविवाह हो भनेर भनेकाले अबदेखि स्थानीय सरकारले जन्मदर्तामा विशेष ध्यान दिनुपर्ने भण्डाराको भनाइ छ ।

बच्चा जन्मिँदा स्वास्थ्य चौकीमा रेकर्ड हने भएकाले स्थानीय पञ्जिकाधिकारीले पनि स्वास्थ्य संस्थामा लगाएको खोप कार्डका आधारमा मात्र जन्मदर्ताका प्रतिलिपि दिनुपर्ने आमनागरिकले आग्रह गरेका छन् ।
स्थानीय सावित्रा भण्डारीले बालविवाहको न्यूनीकरणको अभियान स्थानीय सरकारबाटै सञ्चालन गरिनुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us