विद्यालयमा पसेर तीन शिक्षकको हत्या, एकको अपहरण

काठमाण्डु टुडे २०७६ पुष २९ गते १३:४९ मा प्रकाशित

एजेन्सी -पूर्वी केन्याको एक ग्रामीण क्षेत्रमा रहेको एक विद्यालयमा त्यहाँका आतङ्कवादीहरुले तीन जना शिक्षकको हत्या गरेका छन् ।

केन्यामा केही वर्षदेखि हत्या आतङ्क जारी राखेको समूह अल सबाबले उक्त विद्यालयमा प्रवेश गरी तीन जना शिक्षकको हत्या गरेको र अर्का एकजनालाई अपहरण गरी लगेको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
केन्यामा सो समूहले विगतदेखि नै आतङ्ककारी क्रियाकलाप जारी राख्दै आएका छन् । अल सबाबले यहाँका शिक्षक र विद्यार्थीलाई तारो बनाउने गरेको छ । ठूलो संख्यामा आएका हतियारधारीले आक्रमण गरी त्यहाँका केही विद्यालयमा पनि क्षति पु-याएका छन् । साथै ती आक्रमणकारीले पूर्वी केन्याको कमुथेमा रहेको प्रहरी चौकीमा पनि उनीहरुले आगजनी गरेका छन् । उनीहरुले स्थानीय अस्पतालबाट एकजना नर्सलाई पनि अपहरण गरी लगेका बताइएको छ । साथै स्थानीय स्वास्थ्य संस्थाका कर्मचारीलाई पनि उनीहरुले आक्रमण गरी घाइते बनाएका छन् ।

अल कायदासँग सम्बन्ध रहेको सो अल सबाब नामक आतङ्ककारी समूहले केन्याका विद्यालयबाट बालिकालाई पनि अपहरण गर्ने गरेका छन् ।
उनीहरुले बालिका शिक्षाको विरोध गर्ने गरेका छन् । त्यसैले बालिका शिक्षा दिने विद्यालयबाट छात्रछात्रा नै अपहरण गर्ने गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us