२.२ अर्ब वर्षअघिको ‘क्षुद्रग्रह’ले सिध्यायो पृथ्वीको ‘बरफ युग’

काठमाण्डु टुडे २०७६ माघ ८ गते १६:१२ मा प्रकाशित

एजेन्सी–दक्षिणी अस्ट्रेलियाको याराबुब्बा भन्ने स्थानमा २.२ अर्ब वर्षअघि एउटा एस्टरोइड अर्थात् क्षुद्रग्रह खसेको थियो। हालसम्म पृथ्वीमा भेटिएकामध्ये यही स्थानमा खसेको क्षुद्रग्रहलाई सबैभन्दा पुरानो मानिएको छ।

यसै क्षुद्रग्रहका कारण त्यसबेला तापमान वृद्धि भई बरफ युग समाप्त भएको थियो। कर्टिन विश्वविद्यालयको यो अनुसन्धान बुधबार ‘नेचर कम्युनिकेसन’ नामक जर्नलमा प्रकाशन भएको हो।
उक्त क्षेत्रमा पाइएका खनिज पदार्थको अध्ययनमार्फत् यस्तो निष्कर्ष निकालिएको हो। सन् १९७९ मा उक्त क्षेत्र अस्ट्रेलियाको पर्थ सहरभन्दा ६०० किलोमिटर उत्तरपूर्वमा पर्छ।

झन्डै ७० किलोमिटरमा फैलिएको क्षेत्रमा अर्बौं वर्षपछि क्षुद्रग्रहको असर नाङ्‌गो आँखाले देख्न सकिँदैन। यसका लागि वैज्ञानिकले त्यहाँको चुम्कीय क्षेत्रमार्फत् क्षुद्रग्रहको असर नापेका थिए।
अध्ययनकर्ता प्राध्यापक क्रिस कर्कल्यान्डका अनुसार उक्त क्षेत्र समथर देखिए पनि त्यहाँका चट्टानहरू विशेष किसिमका छन्। उक्त चट्टानका जिरकन र मोनाजाइट क्रिस्टलबाट क्षुद्रग्रह कहिले खसेको भन्ने मापन गरिएको थियो।

ती क्रिस्टलहरूमा केही मात्रामा युरेनियम भेटिएको थियो। युरेनियम कुहिएर लेडमा निश्चित समयपछि परिवर्तन हुन्छ। यसकै आधारमा उक्त क्षेत्रमा क्षुद्रग्रह खसेको मिति निर्धारण गरिएको थियो।
यसअघि दक्षिण अफ्रिकाको भ्रेडेफोर्ट डोममा सबैभन्दा पुरानो क्षुद्रग्रह खसेको मानिएको थियो। अस्ट्रेलियाको यस याराबुब्बा क्षेत्रमा दक्षिण अफ्रिकामा भन्दा २० करोड वर्षअघि क्षुद्रग्रह खसेको अध्ययनले देखाएको छ।

प्राध्यापक कर्कल्यान्डका अनुसार योभन्दा पुरानो क्षुद्रग्रह खसेको स्थान हुन सक्छ, तर सतहमा परिवर्तन भइसकेको हुनाले पृथ्वीको यति पुरानो इतिहास पत्ता लगाउन गाह्रो हुन्छ।

उक्त समयमा पृथ्वी बरफले घेरिएको थियो। कुनै समयमा पृथ्वीमा तापक्रम बढ्न थाल्यो र बरफका तह पग्लिन थाल्यो।

अध्ययनले देखाएअनुसार उक्त क्षुद्रग्रह खसेको समय र बरफ पग्लिन थालेको समय झन्डै–झन्डै उही ताका पर्छ। त्यसैले पनि यसबीच सम्बन्ध हुनसक्ने अध्ययनले देखाएको छ।
उक्त क्षुद्रग्रहले झन्डै एक किलोमिटरभन्दा बढी बाक्लो बरफमा ठोक्किएर त्यसलाई फुटाएको हुनसक्ने अध्ययनको दाबी छ। यसबाट ठूलो मात्रामा पानीको बाफ र ग्रिनहाउस ग्यास वायुमण्डलमा निस्केको हुनसक्छ।

यसले प्रोटिरोजोइक युगमा पृथ्वीलाई तातो बनाउन सहयोग गरेको, यससँगै अक्सिजन वायुमण्डलमा देखिन थालेको र जीवको भर्खर सामान्य रूपमा सुरु भएको हुनसक्ने अध्ययनले देखाएको छ।
यसलाई ठ्याक्कै प्रमाणित गर्नसक्ने चट्टानको अध्ययनबाहेक अन्य आधार छैन। अर्का थरीले ज्वालामुखी विस्फोटका कारण वायुमण्डलमा कार्बन डाइअक्साइड बढेर तापमान वृद्धि भएको हुनसक्ने बताएका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us