प्याजको मूल्यमा गिरावाट आएसँगै, ठप्प भयाे लसुनकाे काराेवार

काठमाण्डु टुडे २०७६ फागुन २ गते ११:०३ मा प्रकाशित

काठमाण्डु ,२ फागुन— केही दिनदेखि लगातार घटेको प्याजको भाउसँगै लसुनको भाउ उकालो लागेपछि कारोबार नै ठप्प भएको छ ।

भारतीय बजारबाट प्याज आउन थालेसँगै उपत्यकाका बजारमा प्याजको भाउ घटेको हो । गत असोजदेखि महँगिएर मङ्सिरमा थोकमै १८० रुपियाँ पुगेको प्याजको मूल्य अहिले घटेर ७३ रुपियाँमा थोकमा कारोबार भइरहेको छ । त्यस अवधिमा प्याजको खुद्रा मूल्य प्रतिकेजी २५० रुपियाँसम्म पुगेको थियो । भारतले नेपालमा प्याज निर्यात गर्न प्रतिबन्ध लगाएसँगै महँगो भएको प्याज अहिले भारतमा उत्पादन बढेर विगतभन्दा सहज रूपमा आउन थालेपछि मूल्य सस्तिएको व्यापारी बताउँछन् ।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार बजारमा अहिले औसतमा दैनिक ६०-६५ टन प्याज भित्रिएको छ । उपत्यकाको बजारमा दैनिक १२० टन प्याज माग छ । सो समितिका उपनिर्देशक विनय श्रेष्ठले बजारमा प्याजको आयात बढेसँगै क्रमशः भाउ सस्तो भएको जानकारी दिए । उनले बजारमा नयाँ प्याज आउन थालेसँगै मूल्यमा कमी र क्रमशः अझै घट्ने बताए । उपत्यकाको बजारमा खपत हुने प्याजको परिमाणमध्ये झन्डै ९८ प्रतिशत भारतका नासिक, कानपुर, इन्दौर, लखनउ र सिमलालगायत स्थानबाट आयात हुन्छ । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५-७६ मा पाँच अर्ब ६२ करोड २५ लाख रुपियाँ बराबरको प्याज आयात भएको थियो ।
काठमाण्डु उपत्यकामा मात्रै दैनिक २७० टन खपत हुन्छ तर भारतबाट आउने प्याजको आयातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा प्याजको मूल्य अत्यधिक बढेको थियो । भारतबाट आयात गर्ने गरिएको छ, भारतको प्रतिबन्धका कारण छिमेकी राष्ट्र चीनबाट प्याजको आयात हुन थालेको थियो ।
लसुनको कारोबार ठप्प
चीनबाट हुने लसुनको आयात बन्द भएपछि नेपाली बजारमा लसुनको कारोबार ठप्प भएको छ । काठमाण्डु उपत्यकाको लसुनको माग चिनियाँले धान्दै आएकोमा नोबेल कोरोना भाइसर फैलिने डरले दुई देशका व्यापारिक नाका बन्द गरिएसँगै कालीमाटी तरकारी बजारमा यसको कारोबार ठप्प भएको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार माघ २२ गतेदेखि लसुनको कारोबार ठप्प भएको छ । तरकारी बजारका उपनिर्देशक विनय श्रेष्ठ व्यापारीहरूले लसुन नै भित्रिन छोडेको र कारोबार नभएपछि तरकारीको नियमित कारोबार सूचीबाट समेत हटाइएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us