मच्छिन्द्रले उचाल्यो ए डिभिजन लिगको उपाधि

काठमाण्डु टुडे २०७६ फागुन ३ गते १८:४८ मा प्रकाशित

काठमाण्डु, ३ फागुन– सहिद स्मारक ए डिभिजन लिगको उपाधि मच्छिन्द्र युथ क्लबले जितको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार सम्पन्न खेलमा त्रिभुवन आर्मीलाई १–० ले हराउँदै मच्छिन्द्रले पहिलो पटक लिगको उपाधि कब्जा गरेको हो । मच्छिन्द्रको जितमा रञ्जित धिमालले गरेको प्रहार आर्मीका विकास तामाङले रोक्न खोज्दा आत्मघाती गोल हुन पुग्यो ।

त्यही एक मात्र गोल नै मच्छिन्द्रका लागि उपाधि उचाल्न निर्णायक भयो । धिमालले खेलको ३३ औं मिनेटमा गरेको प्रहार तामाङको खुट्टाबाट चिप्लिएर आत्मघाती गोलमा परिणत भएको हो । आर्मीको गोल गर्ने पटकपटकको प्रयास मच्छिन्द्रको रक्षा पंक्तिले असफल पारिदियो । मच्छिन्द्रलाई बराबरीमा मात्रै रोक्न सकेको भए पनि आर्मीले उपाधि चुम्ने थियो ।

यस्तै मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटवालले उत्कृष्ट प्रशिक्षकको उपाधि कब्जा गरे । मच्छिन्द्रकै विशाल राई लिगकै उत्कृष्ट मीडफिल्ड घोषित भए भने थ्री स्टारका अनन्त तामाङ उत्कृष्ट डिफेन्स भए । उत्कृष्ट गोलकीपरको उपाधिबाट भने मनाङ मस्र्याङ्दीका दीप कार्की सम्मानित भए ।

न्यूरोड टिम (एनआरटी) का दर्शन गुरुङ लेफ्टीनेन्ट मणिविक्रम शाह युवा खेलाडी पुरस्कारबाट पुरस्कृत भए । थ्री स्टार क्लबले ‘फेयर प्ले अवार्ड’ र त्रिभुवन आर्मी क्लबले उत्कृष्ट फरवार्डको उपाधि हात पा¥यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us