बग्दादको अमेरिकी राजदूतावास नजिक क्षेप्यास्त्र प्रहार

काठमाण्डु टुडे २०७६ फागुन ४ गते १४:०८ मा प्रकाशित

एजेन्सी–इराकको राजधानी बग्दादमा अमेरिकी राजदूतावास नजिक आइतबार क्षेप्यास्त्र प्रहार भएको छ । स्थानीय संचार माध्यमले उक्त क्षेप्यास्त्रबाट कुनै क्षति भए नभएको जानकारी प्राप्त भइनसकेको बताएका छन् ।

उच्च सुरक्षा व्यवस्था सहितको धेरैजसो कुटनीतिक नियोगका कार्यालयहरु रहेको “ग्रिन जोन”मा क्षेप्यास्त्र प्रहार लगत्तै चेतावनीयुक्त साइरन बजाइएको थियो । स्थानीयको भनाई उद्धृत गर्दै संचार माध्यमहरुले क्षेप्यास्त्र प्रहारका कारण धुँवाको मुस्लो आकाशमा देखिएको उल्लेख गरेका छन् ।

बिहीबार पनि के सैनिक अखडालाई लक्षित गरी काट्युसा क्षेप्यास्त्र प्रहार भएको थियो । किर्कुक प्रान्तमा रहेको यस सैनिक अखडामा अमेरिकी सेना रहेका छन् । तर यसबाट कुनै क्षति नभएको बताइएको छ । गत डिसेम्बर २०१९ मा के१ सैनिक अखडामा भएको अर्को क्षेप्यास्त्र आक्रमणमा अमेरिकी सैनिकका लागि काम गर्ने एक व्यक्तिको मृत्यु हुनुका साथै अर्का एक जना घाइते भएका थिए ।

इराकका विभिन्न स्थानमा रहेका अमेरिकी सैनिक अखडा र ग्रिन जोनमा विद्रोही पक्षले बेलाबखत मोर्टार र क्षेप्यास्त्र प्रहार गर्ने गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us