प्रधानमन्त्री ओलीद्वारा गृहजिल्लामा सडक र पुलको उद्घाटन

काठमाण्डु टुडे २०७६ फागुन ४ गते १४:३७ मा प्रकाशित

भद्रपुर,४फागुन– प्रधानमन्त्री केपी शर्मा ओलीले दमकको कृष्ण मन्दिरदेखि बेलडाँगीसम्मको कालोपत्रे सडक र दमकबाट मोरङको मधुमल्ला जोड्ने मावाखोलामा निर्मित पक्की पुलको उद्घाटन गरेका छन् ।

आज बिहान झापा आएका प्रधानमन्त्री ओलीले सङ्घीय सरकारद्वारा निर्माण गरिएको सो सडक र पुलको उद्घाटन गरेका हुन् । छ दशमलव २१ किमी लम्बाइको सडकको लागत रु चार करोड १६ लाख २२ हजार १५६ रहेको छ ।

सो सडकको निर्माण श्री रोताहा आरके जेभीले गरेको हो । त्यस्तै, दमकलाई मोरङको मधुमल्लासँग जोड्ने पुलको लम्बाई २५० मिटर रहेको छ । रु ३० करोड २२ लाख ९१ हजार ७५० लागत रहेको पुल शर्मा लामा स्वच्छन्द जेभीले निर्माण गरेको हो ।

प्रधानमन्त्री ओलीले आज नै दमक नगरपालिका–१ मा जनता आवासमार्फत निर्माण गरिएका घरको साँचो हस्तान्तरण गर्ने बताइएको छ भने अपराह्न बेलडाँगीमा आयोजित समारोहलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us