महराको फैसला भोलि!

काठमाण्डु टुडे २०७६ फागुन ४ गते १५:३१ मा प्रकाशित

काठमाण्डु,४फागुन–जबर्जस्ती करणी उद्योगसम्बन्धी पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा अदालतले भोलि (सोमबार) मात्र फैसला हुने भएको छ।

काठमाण्डु जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासमा महराको मुद्दाको सुनुवाइ सकिएको हो।फैसला भोलि मात्र आउने सहप्रवक्ता विकाससिंह खत्रीले जानकारी दिए।

महराविरुद्ध करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय माग गर्दै अभियोगपत्र दायर गरिएको थियो।
आइतबार अदालतमा महराको तर्फबाट आठ वकिलले बहस गरेका थिए। अधिवक्ता भीमार्जुन आचार्य, शेरबहादुर केसी, रमन श्रेष्ठ, लव मैलानी, मुरारी सापकोटा लगायतले महराको तर्फबाट बहस गरेका हुन्।

गत असोज १२ गतेर संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले महराले आफूमाथि जबर्जस्ती करणी प्रयास गरेको बताएकी थिइन्। असोज १४ मा महराले सभामुख पदबाट राजीनामा दिएका थिए।

उजुरी दर्ता भएपछि असोज १९ मा उनी पक्राउ परे। तत्कालीन जिल्ला न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्ष थुनामा पठाएको थियो।
जिल्ला अदालतको पुर्पक्ष थुनामा पठाउने आदेशविरुद्ध महराले उच्च अदालत पाटनमा पुनरावेदन दिएपनि उसले जिल्लाकै आदेश सदर गरेको थियो।

अदालतमा बयान दिँदा भने आरोप लगाउने शाहीले महराले आफूमाथि करणी प्रयास नगरेको दाबी गरेकी थिइन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us