गोकुल बाँसकोटा आउट भएपछि सञ्चारमन्त्रीमा महेश बस्नेतको इनिङ

काठमाण्डु टुडे २०७६ फागुन ९ गते १४:२६ मा प्रकाशित

काठमाण्डु, ९ फागुन– सेक्युरिटी प्रेस खरिद प्रकरणमा ५५ करोड कमिशन डिल गरेको अडियो सार्जजनिक भएपछि गोकुल बाँसकोटाले राजीनामा दिएसँगै खाली भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्न सत्तारुढ नेकपामा दौडधुप सुरु भएको छ ।

पूर्वएमालेबाट मन्त्री बन्न प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र महेश बस्नेत, विशाल भट्टराई र प्रेम आलेले दौडधुप सुरु गरेका छन् । बालुवाटार श्रोतका अनुसार प्रधानमन्त्री ओली भने तत्काल बाँसकोटाको ठाउँमा नयाँ मन्त्री नियुक्त गर्ने मुडमा छैनन् । चालु आर्थिक वर्षको तेश्रो चौमासिकको समाप्तिसँगै चैत पहिलो साता मन्त्रिपरिषद हेरफेर गर्ने तयारीमा ओली छन् ।

केही मन्त्री हटाउने र नयाँ अनुहारलाई भित्र्याउने क्रममा हाल खाली रहेका मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तयारी ओलीको छ । त्यसैले बाँसकोटाले राजीनामा दिएसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय हेर्ने जिम्मेवारी अर्थमन्त्री युवराज खतिवडाले पाएका छन् । उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि रिक्त सहरी विकासमन्त्रीको जिम्मेवारी बाँसकोटाले सम्हाल्दै आएकामा उक्त जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङलाई दिइएको छ ।

अबको मन्त्रिपरिषद विस्तारमा भक्तपुरका नेता महेश बस्नेत मन्त्री बन्ने र उनैलाई सञ्चारमन्त्री बनाउने मनस्थितिमा प्रधानमन्त्री रहेको नेकपाका एक नेताले जानकारी दिए । यसअघिको मन्त्रिपरिषद विस्तारमा पनि बस्नेत मन्त्री बन्ने निश्चितजस्तै थियो । तर, सपथग्रहणको तयारी भएपछि ‘प्राविधिक कारण’ ले भन्दै भौतिक पूर्वाधारमन्त्रीबाट बस्नेतको नाम हटाएर नेम्वाङको नाम इन्ट्री गराइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us