चीनले दियो नेपाललाई कोरोना जाँच्न २ हजार किट उपहार

काठमाण्डु टुडे २०७६ चैत १३ गते १०:०० मा प्रकाशित

काठमाण्डु, १३ चैत– चीनको एक कम्पनीले नोभेल कोरोना भाइरस (कोभिड–१९ ) परीक्षणका लागि आवश्यक किट नेपाललाई उपलब्ध गराएको छ ।

उक्त कम्पनीले बेइजिङस्थित नेपाली दूतावासमार्फत नेपालालई बुधबार २ हजार किट उपलब्ध गराएको हो । नेपालमा किटको हाहाकार भएका बेला किट दिने कम्पनीको नाम बेइजिङ मल्टिपल ट्रेड एण्ड कमर्स ब्युरो हो । एपीडी न्यूजमा प्रकाशित समाचारका अनुसार व्युरोको काठमाण्डुस्थित इन्टरनेसनले इन्भेस्टमेन्ट एण्ड कोअपरेसन कन्सल्टिङ सर्भिस कम्पनी प्राइभेट लिमिटेडले उक्त कुरा बताएको हो ।

किट अभावमा कोरोना परीक्षणमा समस्या भएको पाइएपछि किट सहयोग उपलब्ध गराइएको कम्पनीका अध्यक्ष हरिप्रसाद ढुंगानाले बताए । उपहारमा प्राप्त उक्त किटको मूल्य ३० हजार अमेरिकी डलार बराबर हो । किटको अभावमा राष्ट्रिय प्रयोगशालाले सम्भावित संक्रमितको परीक्षण गर्न सकेको छैन ।

हालसम्म ६८७ जनाको मात्र प्रयोगशालामा परीक्षण भएको छ । २ हजार किट चीनले नेपाललाई उपहार स्वरुप दिएपछि अब कम्तिमा २० हजार जनाको परीक्षण गर्न सम्भव हुने भएको छ । ती किट ल्हासा हुँदै केही दिनभित्रै काठमाण्डु आइपुग्ने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us