लकडाउन केही खुकुलो पार्ने सरकारको निर्णय

काठमाण्डु टुडे २०७६ चैत १४ गते २१:५९ मा प्रकाशित

काठमाण्डु, १४ चैत– सरकारले कोरोना संक्रमण (कोभिड–१९ ) संक्रमण रोकथामका लागि घोषणा गरेको लकडाउन केही खुकुलो बनाउने भएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले दैनिक उपभोग्यवस्तुको उत्पादन, ढुवानी, वितरण र किनमेल जस्ता कार्य निर्वाध रुपमा सञ्चालन हुन दिने निर्णय गरेको हो । तर, ठूला उद्योग भने नखोलिएको अर्थ र सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

‘दैनिकी चलाउन आवश्यक वस्तुको उत्पादन, ढुवानी, वितरण र त्यसका ग्राहकहरुको आवागमनलाई नरोक्ने निर्णय भएको छ’, बैठकपछि सञ्चारकर्मीसँग खतिवडाले भने । खतिवडाले संक्रमण फैलने सम्भावनालाई ख्याल गर्दै बजारमा सामान किन्दा निश्चित दूरी कायम गर्न नागरिकलाई आग्रह गरे ।

सरकारले गत ११ चैतदेखि १८ गतेसम्मका लागि लकडाउन घोषणा गरेको थियो । बैठकले विभिन्न स्थानमा अलपत्र परेका पर्यटकलाई सडकमार्ग बाटै काठमाण्डु आउन अनुमति दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us