सुदूरपश्चिमपछि प्रदेश–२ मा महामारीको खतरा

काठमाण्डु टुडे २०७६ चैत २३ गते ९:०७ मा प्रकाशित

सर्लाही, २३ चैत– नेपाल र भारत दुवै देशमा लकडाउन चलिरहेको अवस्थामा खेतबारी र खोला खोल्सा हुँदै नेपाल प्रवेश गर्नेहरू बढेका छन् ।

मुख्य नाकाहरूमा दुवै देशका सुरक्षाकर्मी खटिएर ओहोरदोहोर ठप्प पारे पनि चोर बाटो हुँदै भारतबाट नेपाल आउनेहरू बढेका हुन् । भारतका विभिन्न स्थानमा मजदुरी गर्न गएका मजदुरहरू सर्लाही र महोत्तरीको सीमामा पर्ने हर्दी खोला हुँदै नेपाल प्रवेश गरिरहेका स्थानीय बासिन्दाले बताएका छन् । यस्तै केही मानिस सीमा क्षेत्रको उखु र गहुँ खेतबाट जिल्ला प्रवेश गरिरहेका पाइएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढिरहेको अवस्थामा भारतका विभिन्न स्थानबाट लुकिछिपी गाउँ आइरहेकाले गर्दा जोखिम बढेको पर्सा गाउँपालिका–२, सङ्ग्रामपुरका युवा सतेन्द्र यादवले जानकारी दिए । उनका अनुसार त्यसरी लुकिछिपी आएकाहरू क्वारेन्टाइनमा नबसेर खुलेयाम हिँडडुल गरिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us